काठमाडौँ, असार ७ । दैलेखको ठाटिकाँध गाउँपालिका –२ की हरिकला थापाले तीन हप्तासम्म प्राथमिक स्वास्थ्य केन्द्रमा गएर आफ्नो गर्भ जाँच गराइन् ।
तर चौथो हप्ता जाँच गर्न नआएपछि स्वास्थ्यकर्मीहरू हरिकलालाई खोज्दै घरमै पुगे ।
तर, उनी घरमा भेटिइनन् । कहाँ छिन् भनेर खोज्दै जाँदा उनी घरबाट हिँडेर तीन घण्टा लाग्ने जंगलमा रहेको गोठमा सुत्केरी भएर बसेको स्वास्थ्यकर्मीले भेटे । सानो गोठमा धूवाँ तथा फोहोरमा सुत्केरी महिला बच्चा च्यापेर बसेकी थिइन् ।
‘गर्भवती खोज्दा गोठमै सुत्केरी भेटाइम्,’ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी मञ्जु शाहीले भनिन् ‘हामीले बच्चा र आमाको स्वास्थ्य चेकजाँच गोठमै गरेर फर्किम् ।’ एक हप्तादेखि हरिकला गोठमै छिन्।

