धादिङको मलेखु र बैरेनी दुई सातादेखि अन्धकार

Avatar photo
Dhadingpost
असार ५, २०७५

धादिङ, असार ५ । नेपाल विद्युत् प्राधिकरणको लापर्बाहीका कारण धादिङ गल्छी गाउँपालिका गजुरी गाउँपालिका मलेखुबजार क्षेत्र दुई सातादेखि अन्धकारमय भएको छ ।

गाउँवासीले लाइन जोेडी दिन मौखिक तथा लिखित अनुरोध गरे पनि प्राधिकरणले बेवास्ता गरेको स्थानीय नमराज काराखेती बताउँछन् । विद्युत् प्राधिकरणले गाउँवासीलाई नटेरेपछि उनीहरुले गल्छी गाउँपालिका, धादिङ क्षेत्र नं १ का सांसद भूमिप्रसाद त्रिपाठी, जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत् प्राधिकरण धादिङ शाखामार्फत पनि ध्यानाकर्षण गराएका थिए तर पनि हालसम्म खासै उपलब्धि हुन नसकेको काराखेतीले बताए ।

पृथ्वीराजमार्गको महेशदोभानबाट माझीखेत, माझीलोसे, रैकर, बराडाँडालगायत गाउँतर्फ गएका विद्युत् लाइनमा समस्या आएपछि गत जेठ २२ गते देखि सो क्षेत्र अन्धकारमय भएको हो ।

राजमार्गबाट २० मिनेटको दूरीमा रहेको बस्ती दुई सातादेखि विद्युत्तविहीन हुँदा पनि कुनै पनि निकायले सहयोग नगरेको स्थानीय केशव अधिकारीले बताए ।

गाउँका ३० घर परिवार दुई सातादेखि बिजुली उपभोग गर्नबाट वञ्चित हुनु परेपछि काटिएको लाइन जोडी दिन आग्रह गर्दै गाउँवासी दर्जनौं पटक विद्युत् प्राधिकरण गजुरी शाखामा पुगिसकेका छन् ।

यसैगरी गजुरी गाउँपालिका–२ मलेखु बजार आसपासको क्षेत्रमा पनि दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा बजारवासी मर्कामा परेका छन् । माछा बजारका रुपमा रहेको मलेखुमा विद्युत् नहुँदा माछा बिग्रने गरेको र पटकपटक विद्युत् लाइन नियमित गर्न बजारवासीले माग गर्दा बेवास्ता गरेको मलेखुका सामाजिक कार्यकर्ता तीर्थ सिलवालले बताए ।

मलेखु बजार र आसपासका गाउँमा समेत विद्युत सेवा नपुगेको बेला बालुवा प्रशोधन मेशिनमा सञ्चालनका लागि बिजुली जोडिएपछि बजारमा समस्या आएको र ठूलो ट्रान्समिटर राख्न माग गर्दा स्थान उपलब्ध नभएको आरोप लगाउँदै विद्युत् प्राधिकरण गजुरी शाखाले काम नगरेको मलेखु बजारका रामहरि थापाले बताए ।

मलेखुको समस्या सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण गजुरी शाखाका प्रमुख तोरणकुमार पोखरेलसँग बुझ्दा समस्याको छिटो समाधानका लागि आफूले पहल गरिने प्रतिवद्धता व्यक्त गरे ।