वासिंटन, असार ५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तरिक्ष सेना बनाउने घोषणा गर्नुभएको छ । रोजगारी र अर्थव्यवस्थामा पनि सुधार आउने उहाँको विश्वास छ ।
राष्ट्रिय स्पेस काउन्सिलसँगको बैठक अघि बोल्दै राष्ट्रपति ट्रम्पले देशको सुरक्षा र अन्तरिक्षमा अमेरिकाको उपस्थिति थप प्रभावकारी र मजबुत बनाउन अन्तरिक्ष सेना जरुरी रहेकोमा जोड दिनुभयो ।
अन्तरिक्ष सेना अलग्गै हुने र यसले देशको सुरक्षामात्र नबढाइ रोजगारी र अर्थव्यवस्थामा पनि सुधार आउने उहाँको विश्वास छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकाले फेरि चन्द्रमा पुग्ने र मानिसलाई मंगल ग्रहमा पठाउने तयारी गर्ने योजना पनि सुनाउनु भयो ।
अमेरिकी सेनाको नयाँ शाखाका लागि अमेरिकी कांग्रेसले कानुन पारित गरेपछि मात्र अमेरिकी राष्ट्रपतिको घोषणाले वैधानिकता पाउने छ ।
अन्तरिक्षका सम्बन्धमा रुस र चीन जस्ता देशलाई अमेरिकाभन्दा अगाडि बढिरहन दिन नसक्ने भन्दै टङम्पले अमेरिकी सेनाको छैटौं शाखाअन्तर्गत अन्तरिक्ष सेना बनाउने बताउनु भएको हो ।
