धादिङका उच्च माविका शिक्षकहरुको ध्यानाकर्षण पत्र

Avatar photo
Dhadingpost
असार ३, २०७५

धादिङ असार ३ । माध्यमिक विद्यालय शिक्षक एशोसिएसन, नेपाल धादिङले जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ धादिङका प्रमुख शिव प्रसाद रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

धादिङका विभिन्न उच्च माध्यामिक विद्यालयमा कार्यरत १ सय २ जनाको माध्यमिक विद्यालय शिक्षक एशोसिएसन, नेपाल धादिङले विभिन्न ९ वटा मागहरु समावेस गरि एकाइ प्रमुख रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, शिक्षा ऐन नवौँ संशोधनले कक्षा १—१० सम्म अध्यापनरत शिक्षकहरुको स्थायित्वका बारेमा प्रस्टसँग बोलेको तर सोहि संरचना अन्र्तगतका कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुको सेवार्शत, सुविधा एवं स्थायित्वका विषयमा कुनै कुरा उल्लेख नहुनुले यस तहमा अध्यापनरत शिक्षकहरु अपमानित भएका छन् ।  राज्यका तर्फबाट पक्षपातपूर्ण व्यवहार भएको महसुस गरेका छन् । यसले शिक्षकहरुमा उर्जा थप्ने र हौसला बढाउने कार्य गर्न सकेको छैन ।

ध्यानाकर्षण पत्रमा समावेश विभिन्न मागहरु जस्ताको तस्तै:

१. उच्च माध्यमिक विद्यालयमा दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकहरुको लागि माध्यमिक द्वितीय श्रेणीमा विशेष आन्तरिक परीक्षाका माध्यमबाट सामान्य प्रक्रिया पूरा गरी स्थायी गरिनुपर्ने व्यवस्था गर्नुपर्ने ।

२. विगतमा उ.मा.शि. परिषद तथा शिक्षा विभाग मार्फत उ.मा.वि. तहको दरबन्दी तथा अनुदानमा रहेका र विद्यालयका तर्फबाट पूर्णकालिन शिक्षकको रुपमा रहेका एवम् यस अघि माध्यमिक तहको अस्थायी अनुमति पत्र लिई सकेकालाई स्थायी अनुमतिपत्र लिईरहनु नपर्ने व्यवस्था गर्ने ।

३. हाल कार्यरत ४००० (चार हजार) अनुदान तथा कोटामा रहेका शिक्षकहरुलाई तत्काल दरबन्दीमा मिलान गरी स्थायी प्रक्रियामा लगिनुपर्ने ।

४. उच्च माध्यमिक विद्यालय तहमा अध्यापन गराउने शिक्षकहरुको न्युनतम साप्ताहिक कक्षा भार १८ र अधिकतम २४ घन्टी भन्दा माथि हुनु नहुने ।

५. उच्च माध्यमिक शिक्षकहरुको राष्ट्रिय बरियताक्रम तोक्नुपर्ने ।

६. उच्च माध्यमिक विद्यालय अनुदान तथा दरबन्दीमा रहेका शिक्षकहरुको पनि जिल्ला तथा जिल्लान्तर सरुवाको व्यवस्था गरिनुपर्ने ।

७. उच्च माध्यमिक तहमा अध्यापन गराउने शिक्षकहरुको लागि संचयकोष, बिमा, बिरामी विदा, औषधोपचार खर्च लगायतका सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गर्नुपर्ने ।

८. साविक उ.मा.वि. तहको दरबन्दी तथा अनुदान कोटा बाहेकका कार्यरत शिक्षकहरुको व्यवस्थापनका लागि थप आवश्यक दरबन्दी स्विकृत गराउनुपर्ने ।

९. साविक उ.मा.वि. तहको दरबन्दी तथा अनुदान कोटा (हाल माध्यमिक द्वितीय) का शिक्षकहरुलाई पनि समय समयमा तालिमको व्यवस्था गर्नुपर्ने ।