विश्वकप फुटबलको चौँथो दिन, आज ३ वटा खेलहरु हुँदै

Avatar photo
Dhadingpost
असार ३, २०७५

मस्को, असार ३ । विश्वकप फुटबलको चौँथो दिन आज ३ वटा खेलहरु हुँदैछन् । पहिलो खेलमा कोस्टारिका र सर्बिया, दोस्रोमा जर्मनी र मेक्सिको तथा अन्तिम खेलमा ब्राजिल र स्वीटजरल्याण्ड भिड्दैछन् ।

यी टोलीहरुमध्ये ब्राजिल एक्लो टोली हो जसले सबै विश्वकप खेलेको छ । पछिल्लो ८० वर्षमा विश्वकपको कुनै पनि शुरुवाती खेलमा पराजित भएको छैन ।

उता, साबिक विजेता जर्मनीले विश्वकप १९ पटक खेलेको छ । यो प्रतियोगिता उसको लागि लगातार सत्रौँ प्रतियोगिता हुनेछ ।

यस्तो छ आजको तालिकाः
१. कोस्टारिकबिरुद्ध सर्बिया (समूह ई) – समारा एरिना – साँझ ५ः४५ बजे
२. जर्मनीबिरुद्ध मेक्सिको (समूह एफ) – लुझनिकी स्टेडियम – राती ८ः४५ बजे
३. ब्राजिलबिरुद्ध स्वीटजरल्याण्ड (समूह ई) – रोस्तोव एरिना – राती ११ः४५ बजे

– ब्राजिल ४८ वर्षदेखि समूह चरणको खेलमा अपराजित

ब्राजिलले पछिल्ला शुरुवाती १८ मध्ये १८ खेल जितेको छ । अन्तिम पटक सन् १९३४ मा ब्राजिल विश्वकपको पहिलो खेलमा स्पेनसँग ३–१ गोलअन्तरले पराजित भएको थियो । नयाँ प्रशिक्षक टिटेको नेतृत्वमा ब्राजिलले पछिल्ला २१ खेलमध्ये एकमा मात्र हारको सामना गरेको छ ।

ब्राजिल र स्वीटजरल्याण्ड यसअघि विश्वकपमा मात्र एक पटक भिडेका छन् । सन् १९५० मा भएको खेल २–२ को बराबरीमा सकिएको थियो ।

ब्राजिलले हालसम्म सर्वाधिक पाँचपटक विश्वकपको उपाधि जितेको छ । त्यस्तै, पछिल्लो १२ वर्ष समूह चरणको खेलहरुमा ऊ अपराजित रहेको छ ।

विश्वकपमा स्वीटजरल्याण्डले ३३ खेलमा ११ मात्र जीत हासिल गरेको छ भने ६ खेल बराबरीमा सकिएको छ ।

उता, स्वीटजरल्याण्ड अहिलेसम्म सन् २००६ को समूह चरणमा मात्र शीर्ष स्थानमा रहन सफल भएको छ । विश्वकपमा स्वीटजरल्याण्डको यो ११ औँ उपस्थिति हो ।