काठमाडौं, असार ३ । अफगानिस्तानका सुरक्षाकर्मी र तालिवान लडाकुहरुले मिलेर ईद मनाएका छन् । उनीहरुले शुभकामना दिए र सँगै तस्वीर पनि खिचाए ।
ईदलाई मध्यनजर गर्दै अफगानिस्तान सरकार र तालिवान लडाकुहरुले युद्धविरामको घोषणा गरेका छन् । राष्ट्रपति असरफ गनीले युद्धविराम थप लम्बाइएको बताएका छन् । उनले तालिवानलाई पनि युद्धविरामलाई लम्बाउन आग्रह गरेका छन् ।
ईदको अवसरमा सरकारले केही तालिवान लडाकुहरुलाई पनि जेलमुक्त गरेको छ ।
उनीहरुले एकअर्कालाई अंगालो हाले, शुभकामना दिए र सँगै तस्वीर पनि खिचाए । एकअर्काविरुद्ध युद्ध छेडेकाहरुले आत्मियता साटासाट गरेको पूर्वी अफगानिस्तानको यो दृष्य निकै दुर्लभ मानिएको छ ।
अफगानिस्तानको सबैभन्दा ठूलो आतंकवादी संगठन तालिवानका लडाकुहरुले रकेट लन्चरसहितका हतियार बोकेका थिए । अफगानिस्तान र तालिवानको झण्डा लिएका उनीहरु कार र मोटरसाइकल चढेर प्रहरी चौकी हुँदै गए । केही दिनअघिसम्म यस्तो होला भनेर कल्पना पनि गर्न सकिँदैनथ्यो ।
