कम्युनिष्ट पार्टीमा जवस र मोर्चाहरूको महत्व

Avatar photo
Dhadingpost
जेष्ठ २८, २०७५

मोहन कार्की (जीवन्त)

वर्तमान देशको राजनैतिक परिस्थिति प्रतिगमन र अग्रगमन बीचको द्धन्दमा छ । प्रतिगमनकारी तत्वहरू देशलाई यथास्थितिवादी गोलचक्करमा फसाउन चाहन्छन् र अराजकता फैलाउन चाहन्छन्, क्रान्तिकारीहरू त्यसको विरुद्ध खडा छन् ।

क्रान्तिकारीहरूले पहलकदमी नलिने हो भने दुश्चक्रमा फस्ने खतरा भएकोले सचेत प्रयत्न हुनु अनिवार्य बनेको छ । अहिलेको प्रमुख चुनौति भनेको यथास्थितिवादको विरुद्ध लड्दै अराजकतालाई रोक्नु नै हो । यसै सन्दन्दर्भमा नेपाली क्रान्तिमा जवसहरू र मोर्चाहरूको महत्व र भूमिका बारे यहाँ संक्षिप्तमा चर्चा गर्ने प्रयास गरिएको छ ।

चिनियाँ समाजको वर्गविश्लेषण गर्ने र आन्दोलनलाई व्यवस्थित र सशक्त बनाउने क्रममा माओले क्रान्तिको तीन जादूगरी हतियार पार्टी, सेना र मोर्चा बारे स्पष्ट व्याख्या गर्दै शक्ति विन्यासका साथ एकिकृत क्रान्तिको सृष्टि गर्नु भएको थियो सन् १९४२ पश्चात् । यो हाम्रो देशको विशिष्ट परिवेशमा उपयुक्त छ । पार्टी र सेनालाई महत्वपूर्ण साधन त मानिन्छ तर मोर्चालाई बेवास्ता गर्दा क्रान्तिको रक्षा र विकास गर्न सकिदैंन । देशभक्त, गणतन्त्रवादी, जनवादी शक्तिलाई एकिकृत गरिएन भने क्रान्ति वा परिवर्तन सम्भव हुंदैन । त्यसैले क्रान्तिलाई अगाडि बढाउने क्रममा मोर्चाको महत्वपूर्ण भूमिका हुन्छ ।

जनवर्गीय संगठनहरूको आफ्रनो समूहको जनवादी मागहरू हुुन्छन् । जुन अल्पकालिन प्रकारका हुन्छन । त्यो अली अांशिक प्रकारको माग र नारामा बढी केन्द्रित हुन्छ । मोर्चा भन्नाले समग्र क्षेत्र –उत्पीडित, जाति र लिङ्गको समग्र योजना र सत्ता संग सम्बन्धित हुन्छ । मोर्चाको महत्व अलि बढी क्रान्तिले आकार ग्रहण गरे पछि हुन्छ । जनवर्गीय संगठनको गठन देखिनै आफ्नो व्यावसायिक मांगमा आधारित हुन्छ ।

जवसका आफ्ना वर्गीय एवं जनवादी मागहरू हुन्छन् भने मोर्चाहरू अलि बढी उत्पीडनमा परेका कारण समग्र क्षेत्रमा भएको जातीय, क्षेत्रीय र लिङ्गीय समस्याबाट उन्मुक्ति चाहन्छन् । जवसहरूका विषयगत मांगहरू हुन्छन् भने मोर्चाहरूका मागहरू सत्ता संग सम्बन्धित राजनैतिक अधिकार संग सम्बन्धित हुन्छन् । त्यसैले वर्गसंघर्षको विशेष योजना मोर्चाको समग्र योजनामा आबद्ध गराएर अगाडि बढ्नु जरुरी छ ।
पार्टी श्रमजीवी वर्गको अग्रदस्ता हो । यसले समाजलाई आमूल परिवर्तन गर्ने आफ्नो राजनैतिक कार्यदिशा स्पष्ट गरे पछि त्यसलाई व्यवहारमा लैजान सेना, मोर्चा र सत्तालाई व्यवस्थित गरेर अगाडि बढाउन विशेष पहलकदमी लिन सकेन भने कुनै पनि क्रान्तिको कार्यभार पुरा गर्न सक्दैन ।

अझ हाम्रो देशको विशिष्ट परिवेशमा माक्र्सवाद–लेनिनवाद–माओवादको विकसित कार्यदिशाको रूपमा ‘एकिकृत जनक्रान्ति’ को कार्यदिशा संश्लेषण गरिएको अवस्थामा आम उत्पीडित मजदूर, किसान, दलित, महिला, विद्यार्थी, बुद्धिजीवी, शिक्षक, प्राध्यापक लगायत मानसिक र भौतिक श्रम गर्ने श्रमजीवी तप्कालाई एकिकृत गरी गाऊँ देखि सहर सम्म एक साथ परिचालन गर्न जरुरी हुन्छ । स्वयंसिद्ध कुरा यो हो कि जवस मोर्चाको भूमिका हाम्रो कार्यदिशा अनुरूप विशिष्ट छ ।

क्रान्तिकारी पार्टीको पटक–पटकको पुनर्गठनको कारण जवस र मोर्चाहरूमा पनि पुनर्गठन हुँदै आएका छन् । सापेक्षित रूपमा हाम्रा ती अवयवहरू सशक्त बन्दै गएका छन् । उत्पीडित जाति, क्षेत्रमा मोर्चाका कामहरू व्यवस्थित हुँदैछन् । क्रान्तिकारी पार्टीको लागि अपेक्षाकृत मोर्चा चाहिं बनिसकेका छैनन् । तर आधार भने बनेको छ यसैमा टेकेर विकास गर्नु जरुरी छ ।

का्रन्तिलाई अगाडि लैजाने मुख्य साधन नै जवस–मोर्चाहरू हुन । तल्लो इकाई सम्म यि संगठनको जालो बनेको हुनु पर्छ । क्रान्तीलाई टिकाउने साधन पनि यिनै हुन् । यदाकदा जवस मोर्चाहरूको भूमिका नपुगेको कुरा पनि सुनिन्छन् यस सन्दर्भमा हामीले कामका सबै शाखाहरूलाई व्यवस्थित पचिालन गर्नुपर्छ । संगठनको प्रारूप निर्माण भएपछि त्यही बिन्दुबाट कामकार्वाही अगाडि बढाउनु पर्छ । ती शाखामा खटाईएका नेताहरूमा जिम्मेवारी बोधका साथ काम गर्ने संस्कृति अनिवार्य छ । अहिले पनि हामीमा जिम्मेवारी बोध नगर्ने समस्या छ । संगठन विकास नहुनुलाई अर्काको थाप्लोमा हाली दिने समस्या छ । यसको निराकरण गर्न जरुरी छ ।

कहिले कांही पार्टी र जवस मोर्चा बीच तालमेल नभएको कुरा पनि उठ्ने गर्छ, यो बुझाइको समस्या हो । विभागवादी सोच हो । पार्टी समग्र हो भन्ने बुझाइको कमीले गर्दा तालमेल हुन नसकिरहेको अवस्थामा छ । पार्टी वैचारिक कमाण्डर हो भन्ने जवस–मोर्चाका नेताहरू लाई बुझाउन सक्नु पर्दछ । जवस–मोर्चाहरूमा पार्टीको योजनालाई बुझ्ने र सृजनशील ढंगले लागु गर्ने समस्या छ । पार्टीले जवस–मोर्चाहरूको स्वत्वको आधारमा काम गर्ने वातावरण दिनु पर्दछ । जबसम्म जवस–मोर्चालाई व्यवस्थित गर्न सकिंदैन क्रान्तिको कार्यभार पुरा हुंदैन । पार्टीले योजना निर्माणमा जवस–मोर्चाका समस्याहरूलाई केन्द्रित गरेर योजना बनाउन जरुरी छ ।

सबै जवस र मोर्चा एउटै भूमिकामा छन् की भन्ने सवाल उठाईएको छ त्यो होईन । जवसको चरित्र र माग फरक छ भने मोर्चाका पनि आफ्नै छन् । जवसहरूमा पनि भूमिका र समग्रतामा नै फरक छन् जस्तो मजदूर, विद्यार्थी, युवाहरूका आ–आफ्नो वर्गीय आधारमा जुझारूपन छन् भने अन्य किसान, महिला, दलितहरूको आफ्नै वर्गीय, लिङ्गीय र जातीय आधारमा भिन्न चरित्र र कार्यशैली फरक छ । उत्पीडित क्षेत्रीय, जातीय मोर्चाहरूका आ–आफ्नै समस्याहरू छन् त्यसलाई अंश–अंशमा विश्लेषण गर्दै समग्र आन्दोलन बनाउन जरुरी छ ।

हाम्रो राजनैतिक कार्यदिशा अनुरूप सबै उत्पीडितहरू – किसान, मजदूर, दलित, महिला, विद्यार्थी, बुद्धिजीवी एवं पेशागत समुदायलाई एकिकृत ढंगले मरिचालन गर्दै गाऊंँ र सहरलाई एकै साङ्गलोमा उन्नु जरुरी छ । यसैले पार्टी सबै तह र तप्कालाई नेतृत्व गर्नमा पोख्त हुन जरुरी छ ।

पार्टीले जवस–मोर्चालाई व्यवस्थित गर्न उनीहरू बीच वैचारिक राजनैतिक र सांगठनिक महत्वको साथ बढाउन जरुरी छ । पार्टी सर्वहारा वर्गको अग्रदस्ता भएकोले उसले वैचारिक नेतृत्व प्रदान गर्नु मुख्य अभिभारा हो ।

नेपाली क्रान्ति र वर्गसंघर्ष प्रति केही अवसरवादीहरूले पानी खन्याउने काम गरेका कारण केही आशंका त छ फेरी पनि समाजमा वर्ग रहुन्जेल क्रान्ति अनिवार्य नै छ । हाम्रो आत्मगत अवस्था केही कमजोर भएपनि अवस्था प्रतिकूल छैन । हामीले संघर्षबाट पैदा गरेका वर्गचेतलाई पुनर्ताजगी गरी पुनः क्रान्तिमा होम्न सक्ने अवस्था भएकोले उज्ज्वल छ । मात्र हामीमा दृढ इच्छा शक्तिको खाँचो छ ।
(लेखक जीवन्त विप्लव नेतृत्वको नेकपाको पोलिटब्यूरो सदस्य हुन्)