मौवाखोला, धादिङ जेठ २७ । स्थानीय प्रशासनले पृथ्वी राजमार्ग वरपरको बजारमा म्याद नाघेका खाद्य पदार्थ बरामद गरेको छ ।
जिल्लास्तरीय अनुगमन समितिले नौबीसे र धार्केमा एक सातापछिको उत्पादन मिति राखेर पठाइएका केकलगायत बेकरी बरामद गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले काठमाडौंको चन्द्रागिरी–५ थानकोटमा सञ्चालित विजय बेकरीले जुन १२ तारिखको उत्पादन मिति राखेर विभिन्न होटल तथा घुम्ती पसलमा केक नियमित निर्यात गर्ने गरेको पाइएको बताए । ‘हामीले आवश्यक कानुनी कारबाहीका लागि पत्र लेखेका छौं,’ होटल तथा बजार अनुगमनको नेतृत्व गरेका ढकालले भने ।
यहाँका व्यापारीले सार्वजनिक सवारीसाधनका सयौं यात्रुसँग कोक, रेडबुल, कुरकुरे, आलु चिप्स र विभिन्न चकलेटलगायत जंकफुड खरिद गर्दा मूल्यभन्दा दोब्बर रकम लिएर ठगी गर्ने गरेको गुनासो छ । अनुगमन समितिले राजमार्गका विभिन्न थोक विक्रेताले जिल्लाकै दक्षिण भेगमा रहेका ग्रामीण बजार तथा चेपाङ बस्तीमा पनि म्याद नाघेका सामान पठाउने गरेको फेला पारेको छ । स्थानीय प्रशासनले म्याद नाघेका त्यस्ता खाद्य वस्तु नियन्त्रणमा लिएको जनाएको छ ।
धादिङ र चितवनको सिमाना मौवाखोलाको अशोक किराना पसलबाट ढकाल नेतृत्वको अनुगमन समितिले विभिन्न उद्योगबाट उत्पादित एक क्विन्टल म्याद नाघेका बिस्कुट लगायत अन्य जंकफुड बरामद गरेको छ । उक्त किरानाका पसलधनीले ती सामग्री मलेखुस्थित सीताराम कँडेलको भाग्यलक्ष्मी सप्लायर्सबाट नियमित रूपमा खरिद गर्ने गरेको बताएका थिए ।
