साउदी ,जेठ २६ । रोजगारीका लागि साउदी अरब पुगेका झापाका प्रशान्त लिम्बुलाई साउदीको विशेष अदालतले १ लाख १२ हजार रियल अर्थात नेपाली करीब ३१ लाख रुपैयाँ ब्लडमनिको फैसला सुनाएको छ।
झापा बुद्धशान्ति गाउँपालिका ४ का लिम्बू काठमाडौको महाराजगन्जस्थित रोभ इनटरनेसनल प्रालीबाट जेनेरल ड्राइभर कामका लागि एक वर्षअघि साउदी अरबको रियाद पुगेका हुन ।
रियाद करम अल खलिज कम्पनीमा काम गर्न गएका लिम्बूलाई कम्पनीले बिना लाइसेन्स जबर्जस्ती गाडी चलाउन लगाएको थियो ।
लिम्बूले चलाएको गाडी दुर्घटनामा परि स्थानीय नागरिकको मृत्यु भएपछि उनलाई अदालतले उक्त फैसला सुनाएको हो।
कम्पनीले गाडी चलाउदै गर्नु लाइसेन्स र इन्स्योरेन्सपछि बनाउला केहि भएमा हामी जिम्मेवारी हुन्छौ भनेपछि आफूले गाडी चलाएको लिम्बूले बताए ।
एक दिन पछाडीबाट आएको गाडीले आफ्नो गुडिरहेको गाडीमा ठक्कर दिएर भएको दुर्घटनामा एक जना साउदी नागरिकको मृत्यु भएपछि आफूलाई पक्राउ गरि हिरासतमा राखेर केहि दिनअघि मात्रै स्थानीय अदालतले ब्लडमनिको फैसला सुनाएको लिम्बूले बताए ।
साधारण परिवारको मान्छे ऋण गरेर केहि कमाउन सकिएला भनी साउदी आएको कम्पनीको लापरबाहीले म आफै फसे ८ महिनासम्म हिरासतमा बस्नुपर्यो अब ब्लडमनिको फैसला सुनाएको छ।
यत्रो रकम कहाँ बाट ल्याउनु । म निर्दोष छु मलाई बचाउनुस् भन्दै लिम्बूले आफ्नो जीवन रक्षाको लागि अपील गरेका छन्।
दुर्घटनापछि पक्राउ परेका लिम्बूलाई कम्पनी र मेनपावरले वास्ता नगरेको उनले बताए ।
अदालतको फैसलापछि उनलाई दुई छाक खाना खान समेत समस्या रहेको भन्दै लिम्बुको उद्दारका लागि पहल गरिदिन परिवारले सबैसँग अनुरोध गरेको छ।
घटनाबारे दूतावासलाई जानकारी गराएको भएपनि अहिलेसम्म दूतावासका प्रतिनिधि अदालत र कम्पनीमा नपुगेको लिम्बुको भनाइ छ ।
