
धादिङ जेष्ठ २६ । धादिङबेसीमा गणित विषयका शिक्षकहरुको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सरकारद्वारा हालै परिमार्जित पाठ्यक्रम, विशिष्टीकरण तालिका र प्रश्नपत्रबारे गणित शिक्षा परिषद धादिङको आयोजनामा अन्तिरक्रिया शनिबार सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय एकाइ धादिङका प्रमुख शिव रेग्मीले गणित शिक्षालाई माध्यामिक तहमा जुन रुपमा लिइन्छ त्यहि रुपमा तल्लो तहमा महत्व दिनुपर्ने बताएका थिए ।
यस्तै अन्तरक्रियामा सहजीकरण गर्दै पाठ्यपुस्तक लेखक दयाराम सिंखडाले गणित शिक्षा र जीवन व्यवहारमा लागुहुने शिक्षा भएकाले गणित विषयलाई राज्यले हटाउँदै जाने हैन, थप प्रभावकारी बनाउँदै लानुपर्नेमा जोड दिएका थिए ।
जिल्लाभरबाट १ सय २० जना भन्दा बढी गणित शिक्षकहरु सहभागि अन्तरक्रिया कार्यक्रममा गणित शिक्षा परिषद धादिङका सल्लाहकारहरु ध्रुव अधिकारी, नवराज अधिकारी, हरिबहादुर सिलवाल लगायतको आतिथ्यता रहेको थियो ।
गणित शिक्षा परिषद धादिङका अध्यक्ष बद्री प्रसाद कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सचिव उत्तम भट्टले गरेका थिए ।
