
चितवन, जेठ २१ । मेडिकल सिटीको रुपमा विकास भैरहेको चितवनमा रगतको अभाव हुन नदिन रेडक्रस चितवनले रगत संकलन गर्न थालेको छ ।
तनहुँ, लमजुङ, नवलपरासी, गोरखा, मकवानपुर, बारा, रौतहट, सर्लाही लगायतका जिल्लामा गएर रगत संकलन गर्ने गरिएको रेडक्रस चितवनका शाखा सभापति ज्ञानशाली न्यौपानले जानकारी दिए ।
जहाँजहाँबाट चितवनमा उपचारका लागि बिरामीहरु ल्याउने गरिन्छ मुख्यगरी तिनै जिल्ला जिल्लामा हुने रक्तदान कार्यक्रममा सहभागी हुन जान्छौं शाखा सभापति न्यौपानले बताए, ‘यही कारण अहिले जिल्लामा ठूलो संख्यामा रगतको अभाव छैन ।’
अघिल्ला वर्षहरुमा गर्मीको यो समयमा रगतको अभाव हुने गरेको थियो । तर, यसपटक जेनतेन धानिएको रेडक्रस चितवनले जनाएको छ ।
रक्तदान हुने कार्यक्रमको संख्या बढेपनि रत्तदाताको संख्या पहिला पहिलाको जस्तो उल्लेख हुन नसकेको शाखा सभापति न्यौपानले जनाए । ‘अझैं गाउँघरतिर त बिजोग नै छ, शहरबजारतिर त अल्लि अल्लि युवाहरु छन्’ शाखा सभापति न्यौपानेले भने, ‘युवाजति खाडीमा छन्, गाउँघरमा वृद्धवृद्धा र महिलाहरु मात्रैं छन् । रगत दिने समुह छैन ।’
पछिल्लो समयमा रगतमा भएको तत्वहरुलाई छुट्टाएर जे तत्व आवश्यक परेको हो सो मात्रैं उपलब्ध गराउने प्रविधीसमेत ल्याइएकोले मल्टिपल यूजेजका लागि एक पोका रगतको पनि धेरैं अर्थ हुने गरेको सभापति न्यौपानले बताए ।
जिल्लामा पछिल्लो समयमा ताजा रगतको माग बढ्दै गएकोले रक्तदाताहरुको सूचिसमेत तयार गर्न थालिएको छ ।
चितवनमा दैनिक औसत ४० युनिट रगतको आवश्यकता पर्दछ । जिल्लामा दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पतला र भरतपुर अस्पताल जस्ता ठूला सरकारी अस्पताल र झण्डै दुई दर्जन नीजि अस्पताल रहेका छन् ।
निजी अस्पताल र मेडिकल कलेजहरुले रगत मात्रैं माग गर्ने तर रक्तदानका लागि खासै जनचेतना अभिवृद्धिका लागि काम गर्न नसकेको आरोप पनि लाग्दैं आएको छ ।
पूर्वपश्चिम राजमार्गको बारा, पर्सा रौतहट, सर्लाहीदेखि बुटवल कपिलबस्तुसम्मको लामो खण्डमा हुने दुर्घटनाका घाइतेहरुको भरतपुरमा नै उपचार हुँदै आएको छ ।
साथै, पृथ्वी राजमार्ग, नारायणगढ मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइते, क्यान्सरको बिरामीहरु एवम् सुत्केरी महिलाहरुका लागि बढि मात्रामा रगतको आवश्यकता पर्दछ ।
हरेक वर्ष जिल्लामा रगतको माग बढ्दै गएको रेडक्रस शाखा सभापति न्यौपानले बताए । ‘रगतको आपुर्ती गराउने दायित्व त रेडक्रसको हो तर हामीले मात्रैं गर्न सक्दैनौं सवैको सकारात्मक सहयोग र साथ विना सम्भव छैन’ सभापति न्यौपानले भने, ‘रक्तदान गर्ने कार्यक्रममा अभिप्रेरीत गर्ने दायित्व संघसंस्था र नागरिक समाजको हो ।’
जिल्लामा ३३ वटा उपशाखा, ५ वटा सहयोग समिति, २३० जुनियर सर्कल छन् । यसैगरी ३२ युवा रेडक्रस सर्कल, ४९ जना यशस्कर सदस्य, २१७ जना विशिष्ट सदस्य, १० हजार ७ सय ८१ आजीबन सदस्य, १४२ साधारण सदस्य, २२९ जुनियर सदस्य र ४० जना कर्मचारी यसका छन् ।
रक्तदान गरेको ६ घण्टासम्मको रगतलाई ताजा रगत भन्ने गरिन्छ । त्यसलाई २४ घण्टासम्म समय बढाउन सक्ने प्रविधीसमेत ल्याइएको छ । चितवनमा ०२७ साल साउन ६ गते रेडक्रस स्थापना गरिएको हो ।

