
काठमाडौं, जेठ १७ । अर्थमन्त्री युवराज खतिवडाले कर छल्नेलाई वित्तीय अपराधअन्तर्गत कारबाही गर्ने चेतावनी दिएका छ।
अर्थमन्त्री खतिवडाले मंगलबार संघीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०७५–०७६ को बजेटमा राजस्व असुलीको महत्वाकांक्षी लक्ष्य राखिएको छ । आठ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गर्ने बजेटको लक्ष्य छ।
आगामी आर्थिक वर्षमा राजस्व संकलनको महत्वाकांक्षी लक्ष्य राखेका उनले कर छली नियन्त्रणका लागि कर प्रशासनलाई चुस्त बनाई नियमनमा कडाइ गर्ने पनि बताए।
‘राज्यका आधारभूत मार्गदर्शनभन्दा बाहिर कोही पनि जान पाउँदैन । राज्यले व्यवसाय गर्ने अवसर सबैलाई दिन्छ । व्यवसायीले पनि राज्यप्रतिको दायित्व पालना गर्नुपर्छ,’ बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कर छली नियन्त्रण गर्न आवश्यक परे व्यक्तिको बैंक खातासमेत अध्ययन गरिनेछ ।
अर्थमन्त्री खतिवडाले आगामी आवमा आठ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य पनि पूरा हुने बताए । उनले बजेटमा प्रक्षेपित वृद्धिदर हासिल हुने आधारसमेत प्रस्तुत गरे । आगामी आवमा कृषिमा साढे चार प्रतिशत, औद्योगिक उत्पादनमा १२ प्रतिशत र सेवा क्षेत्रमा साढे आठ प्रतिशत वृद्धि हुने उनको दाबी छ । ‘यसरी हेर्दा आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुने मेरो अपेक्षा छ,’ उनले भने, ‘मुलुक लोडसेडिङमुक्त भएपछि औद्योगिक उत्पादन बढ्दै गएको छ । आगामी वर्ष थप बढ्ने आधारमा यो लक्ष्य निर्धारण गरिएको हो ।’आगामी आवमा राष्ट्रिय गौरवका चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र मेलम्ची खानेपानी आयोजनासमेत सञ्चालनमा आउने उनले बताए ।
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले मुद्रास्फितिको लक्ष्यलाई प्रभाव पार्ने भए पनि त्यो साढे ६ प्रतिशतभन्दा बढी नहुने उनको दाबी छ । उनले बजेट कार्यान्वयनमा चुनौती रहेको पनि स्वीकारे । ‘यो अर्थमन्त्रीको मात्र चुनौती होइन, मन्त्रालय, मन्त्रिपरिषद्, सरकारी निकाय, निजी क्षेत्रका निर्माण व्यवसायी, अदालत, सञ्चारमाध्यमलगायत सम्बन्धित सबैको हो,’ उनले भने, ‘त्यसैले यसलाई हामीले साझा चुनौतीका रुपमा लिनुपर्छ।
भत्ता, स्वास्थ्य बिमा र आवास बनाइदिने जस्ता स्किम ल्याएका छौं ।’ आवास र स्वास्थ्य बिमा जोड्ने हो भने भत्ता बढाएको जस्तै देखिने उनको दाबी छ । वृद्ध भत्तालाई स्वास्थ्यसँग जोडेर अघि सारिएको बुझिदिन उनले आग्रह गरे । ‘एक लाख रुपैयाँको निःशुल्क जीवन बिमा गर्ने भनेको ६–७ हजार त पर्छ नै । त्यसरी हेर्ने हो भने मासिक पाँच सय रुपैयाँ त यसै पनि बढेको छ,’ खतिवडाले भने, ‘अब छोराछोरीले बिरामी हुँदा अस्पताल नलगीकन पैसा छैन भनेर बस्दैनन् । अस्पतालसम्म पु¥याउँछन् र त्यहाँ निःशुल्क उपचार हुन्छ ।’
रोजगारीसहित जनताको स्वास्थ्य, शिक्षा र वित्तीय पहुँचलाई बजेटले ध्यान दिएको दाबी गर्दै उनले आर्थिक–सामाजिक रुपान्तरणमा बजेटको विशेष जोड रहेको बताए । पाँच वर्षमा कृषि उत्पादन दोब्बर पार्ने र निर्माण सामग्रीमा आत्मनिर्भर बन्दै जाने उल्लेख गर्दै अर्थमन्त्रीले अन्तर्राष्ट्रिय सीमानाकाका सडक विस्तार, सुरुङ मार्ग निर्माण र रेल्वे विकासमा बजेटले जोड दिएको बताए । ‘निर्यात प्रवद्र्धन गर्ने उद्योगलाई रातो कार्पेट बिछ्याएर स्वागत गरिन्छ’, उनले भने, ‘निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीका लागि उपयुक्त वातावरण बनाउँछौं । त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्नेछौं ।’ ठूला आयोजना प्रतिस्पर्धात्मक तवरले अघि बढाउने पनि उनले बताए ।
