
काठमाडौं, १५ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ठूलो संख्यामा भारतीय सुरक्षा अधिकारीहरु आएको भन्दै आलोचना भयो ।
सत्तारुढ दलकै कतिपय नेताहरुले संसदमा यो विषय उठाए । नेपाली सुरक्षकर्मीहरुको क्षमताको अवमूल्यन भएको भन्दै आलोचना भयो ।
बैशाख २८ गते नेपाल आएका मोदी २९ गते बिहानै मुक्तिनाथ भ्रमणमा निस्किएका थिए । त्यसका लागि भारतीय सेनाको २ वटा हेलिकप्टर नेपाल ल्याइएको थियो । सोही हेलिकप्टरमा मोदी मुक्तिनाथ पुगे । तर, फर्कने क्रममा भने समस्या भयो । भारतीय सेनाको हेलिकप्टरमा समस्या देखिएपछि केही समय ठूलै तनावको अवस्था सृजना भयो । नेपाली अधिकारी मात्र नभई भारतीय अधिकारीहरुलाई नै त्यस्तो समस्या भएको थियो । स्रोतका अनुसार त्यसपछि मोदी नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं फर्किएका थिए । जुन हेलिकप्टर नेपाली सेनाका पाइलटले उडाएका थिए ।
बिग्रिएको भारतीय सेनाको हेलिकप्टर ४ दिनसम्म मुताङमा राखिएको थियो । पछि मर्मत टिम ल्याएर भारत लगिएको स्रोत बताउँछ ।
सुरक्षाजस्तो विषयमा सरकाले मोदीलाई थारै मात्र सुरक्षकर्मी लिएर आउ भन्ने अवस्था थिएन । तर, उनको भ्रमणको क्रममा नेपाली सेनाले नै इज्जत जोगाइदिएको रहस्य खुलेको छ ।
