५ वर्षमा १० गुणाले बढ्यो मिर्गौला प्रत्यारोपण

Avatar photo
Dhadingpost
जेष्ठ १५, २०७५

काठमाडौं, जेठ १५ । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौलाको उपचारका लागि पुग्ने बिरामीको संख्या बर्सेनि दोब्बरले बढ्दै गएको छ ।

केन्द्रकी मिर्गौला रोग विशेषज्ञ डा. कल्पनाकुमारी श्रेष्ठले बिरामीको चापले उपचारका लागि आउने सबैलाई सेवा दिन कठिनाइ भएको बताउनुभयो । केन्द्रबाट २०६९÷७० मा २ हजार ३ सय १९ जनाले सेवा लिएका थिए भने २०७४ सालको वैशाखदेखि माघसम्मको अवधिमा २५ हजार १ सय दुई जनाले सेवा लिइसकेका छन् ।

केन्द्रले वैशाखदेखि माघसम्मको अवधिमा १ सय ४२ वटा मिर्गौला प्रत्यारोपण गरिसकेको छ । यो वर्ष अहिलेसम्मकै धेरै मिर्गौला प्रत्यारोपण गर्न सफलता पाइएको श्रेष्ठले बताउनुभयो ।

२०६८ फागुन ७ गतेबाट सञ्चालनमा आएको केन्द्रले २०६९ माघ ६ गते पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेको थियो । केन्द्रले २०६९ यता मात्रै ४ सय ७ वटा मिर्गौला प्रत्यारोपण गरिसकेको छ । यस्तै २ वटा कलेजो पनि प्रत्यारोपण गरेको छ ।

बढ्दैछन् मिर्गौला रोगी

केन्द्रले निःशुल्क रूपमा हेमोडायलासिस सुविधा उपलब्ध गराउँदै आइरहेको छ । सीएसपीडी (एम्बुलेटरी पेरिटोनिएल डायलासिस) सुविधा पनि तीन पटकसम्मका लागि केन्द्रले निःशुल्क उपलब्ध गराउँदै आएको छ । पैसा तिरेर गर्ने भए यी दुवै प्रकारका डायलासिसको लागि ३० हजार जति रुपैँया खर्च लाग्छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले वर्षेनी नेपालमा झण्डै ३ हजारभन्दा बढी मृगौला रोगबाट पीडित हुने गरेको देखाएको छ । केन्द्रमा मिर्गौला प्रयारोपणका लागि आउने बिरामीको सँख्या बढ्दै गर्दा डायलासिसका लागि आउने बिरामीको संख्या पनि ठूलो छ । केन्द्रमा अहिले दैनिक ६० देखि ८० जनाको डायलासिस हुने गरेको डा.श्रेष्ठले बताउनुभयो । केन्द्रले वैशाखदेखि माघसम्म ४१ हजार २ सय २८ जना मिर्गौला रोगीको डायलासिस गरेकोे छ ।

जसमध्ये, ३ हजार ७ सय ९ जनाको सःशुल्क र बाँकी ३८ हजार १ सय ४९ जनाको निःशुल्क डायलासिस गरिएको उहाँले बताउनुभयो ।

मिर्गौला रोगीलाई सरकारले मासिक ५ हजार भत्ता दिने यस अघि नै घोषणा गरिसकेको छ । मिर्गौला रोगीले यो सुविधा पाउन थालेपछि भने उपचारमा थप सहज हुने डा.श्रेष्ठ बताउनुहुन्छ ।

निःशुल्क गरिन्छ मिर्गौला प्रत्यारोपण

मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई सरकारले थप १ लाख रूपैयाँ बराबरको औषधि पनि निःशुल्क उपलब्ध गराउँछ । यसबाहेक मिर्गौला दान गर्ने व्यक्तिको जाँच र मिर्गौला निकाल्न लाग्ने ८० हजारदेखि १ लाख रुपैयाँ खर्च मध्ये ५० हजार सरकारले व्यहोर्छ ।

मानव अंग प्रत्यारोपण केन्द्रले डायलासिस मात्रै होइन मिर्गौला प्रत्यारोपण पनि निःशुल्क गर्छ । केन्द्रले २०७३ बैशाख २ गतेबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सुरु गरेको हो । त्यसवापत भने केन्द्रलाई सरकारले आवश्यक खर्च उपलब्ध गराउँछ ।

एउटा मिर्गौला प्रत्यारोपणमा सरकारले चार लाख रूपैयाँ अुनदान दिन्छ । प्रत्यारोपण गर्दा चार लाख भन्दा धेरै रकम लाग्यो भने मात्रै थप रकम बिरामीले ब्यहोर्नुपर्छ । अन्यथा बिरामीले उपचारका लागि खर्च गर्नु पर्दैन । सामान्यतया मिर्गौला प्रत्यारोपणमा साढे तीन लाखदेखि साढे चार लाख रूपैयाँसम्म खर्च लाग्ने गरेको डा. श्रेष्ठ बताउनुहुन्छ ।

केन्द्रमा शैय्या अभाव

केन्द्रको तथ्याङ्क अनुसार दैनिक झण्डै ७० जना बिरामी अस्पताल पुग्छन् । बिरामीको चाप दिनहुँ बढ्ने क्रममा छ । २०६९ मा २ हजार ३ सय १९ जना बिरामी केन्द्रमा उपचारका लागि पुगेका थिए भने २०७३ मा २२ हजार ४ सय ७३ जना बिरामी पुगेका तथ्यांकमा उल्लेख छ ।

केन्द्रको शैय्या क्षमता एक सय मात्र छ । डाइलासिस र प्रत्यारोपणका लागि दैनिक रुपमा सयभन्दा बढी बिरामी पुग्दा
शैया अभाव छ ।

डा.श्रेष्ठका अनुसार अब केन्द्रले बिरामीको चाप धान्ने अवस्थामा छैन । शैय्या अभावका कारण दैनिक ५ देखि १० जनासम्म बिरामी फर्काउनुपरेको छ ।

‘बिरामी धेरै छन् तर अस्पताल एउटै छ’ उहाँ भन्नुहुन्छ, अन्य अस्पतालबाट पनि प्रत्यारोपण सेवा प्रदान गर्ने हो भने केन्द्रमा बिरामीको चाप कम हुन्छ र, धेरै बिरामीले सेवा लिन पाउँछन् ।’

उपचारका लागि धेरै बिरामी लिनुपर्दा पनि केन्द्रले प्रदान गर्ने सेवाको गुणस्तरमा भने कुनै कमी नराखेको डाक्टर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अन्य देशमा एकसय मिर्गौला प्रत्यारोपण गर्दा ४ देखि ५ वटा प्रत्यारोपण असफल हुन्छ । तर, केन्द्रमा १ सय मा २ वटा मात्रै फेल हुने गरेको छ । केन्द्रको मिर्गौला प्रत्यारोपण सफलता दर उच्च छ । यसैले यो केन्द्रमा उपचारका लागि भारतदेखि बिरामी आउने गरेका छन् ।

सहज बन्दै अङ्गदान

गएको वर्ष अस्पतालले मस्तिष्क मृत्यु भएका बिरामीको मिर्गौला दुईजनामा प्रत्यारोपण गरेको थियो । मस्तिष्क मृत्यु भएका बिरामीको अङ्ग प्रत्यारोपण गरिएको यो पहिलो घटना थियो ।

अहिले अङ्गदान प्रक्रिया पनि सहज बन्दैछ । संशोधित ‘मानव अङ्गदान ऐन २०७२’ र ‘नियमावली २०७३’ अनुसार अङ्गदान गर्ने प्रक्रिया सहज भएको डा.श्रेष्ठले बताउनुभयो । ‘पहिले परिवार भित्रका सदस्यले मात्रै अङ्गदान गर्न पाउने व्यवस्था थियो । तर, अहिले टाढाको नातेदारले पनि अङ्गदान गर्न पाउँछन् ।’ यस्तो व्यवस्थाले अङ्ग प्रत्यारोपणमा सहज भएको उहाँ बताउनुहुन्छ ।