नेपाली टेनिस टोली सिंगापुर प्रस्थान

Avatar photo
Dhadingpost
कार्तिक २, २०७३

धादिङ कात्तिक २-

tenis

डब्लुटीए रोड टु सिंगापुरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली लनटेनिस टोली सोमबार सिंगापुर प्रस्थान गरेको छ।
अक्टोबर १७ देखि २४ सम्म हुने प्रतियोगितामा मायांका राणाले यु–१६ तथा इरा रावतले यु–१४ उमेरसमूहको महिला सिंगल्समा प्रतिस्पर्धा गर्नेछन्। गत मे १ र २ तारिखमा भएको छनोट प्रतियोगिताबाट मायांका र इरा पहिलो स्थानमा रहँदै रोड टु सिंगापुरका लागि छनोट भएका हुन्। टिम प्रशिक्षकमा कृष्णराज घले छन्।

प्रतियोगितामा नेपालसहित सिंगापुर, अस्ट्रेलिया, चीन, चाइनिज ताइपेईं, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, न्युजिल्यान्ड, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड, उज्वेकिस्तान, भियतनाम र प्यासिफिक ओसिएना क्षेत्रका खेलाडीको सहभागिता रहने बताइएको छ।

मायांका र इराको स्पर्धामा उनीहरुसहित समान २०–२० खेलाडी सहभागी हुने प्रशिक्षक घलेले जानकारी गराए। २० खेलाडीलाई विभिन्न चार समूहमा विभाजन गरी खेल खेलाइने छ। समूहको शीर्ष स्थानमा रहने खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन्।

टाोलीलाई अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटोमा सोमबारै बिदाइ गरिन्।