सोह्रश्राद्धको वैज्ञानिक महत्व

Avatar photo
Dhadingpost
शनिबार, अशोज ८, २०७३

– ठीक मध्यान्हकालमा सूर्य जब टाउको माथि आउँछ तब त्यो पितृलोकको बाटो खुल्दै जान्छ त्यसकारण श्राद्ध कर्म दिउँसो गर्नुपर्छ भनिएको छ ।

– हरेक स्वजन आफ्नो ममत्वको कारणले आफ्नो तिथीको दिनमा आफ्नो परिवारको घरमा, ढोकामा आएर बसिराख्ने हुन्छन् ।

शिव पाेखरेल

shiva-pokhrel

नेपाल धर्म, संस्कृति, परम्परा, रीति–रिवाज, सामाजिक, भौगोलिक, ऐतिहासिक, वैज्ञानिक आदि सबै परिवेशले युक्त भएको सार्वभौम सक्ता सम्पन्न देश हो । यहाँ काठमाडौं जस्तो सबै सुविधा युक्त सहर पनि छ, डोल्पा, हुम्ला, जुम्ला, मुगु, मनाङ जस्तो विकट गाउँ पनि छ । धार्मिक मूल्य र मान्यताले व्याप्त यो देशमा जति धार्मिक हिसाबमा धर्महरू मनाइन्छन् त्यति नै जानी नजानीकन वैज्ञानिक प्रविधिसँग गाँसिएर काम गरेको पनि उल्लेख्य मात्रामा भेटिन्छ ।

सुन्दा, बुझ्दा, जान्दा, पढ्दा, देख्दा हरेक हिसाबमा धर्मसँग जोडिएको यस सोह्रश्राद्ध धार्मिक पक्षसँग मात्र हैन ज्योतिषीय, प्रामाणिक प्रविधिसँग पनि गाँसिएको छ । सर्वप्रथम हिन्दु धर्म अनुसार भाद्रशुक्ल पूर्णिमादेखि असोज कृष्ण औंसीको दिनसम्म मनाइने यो पितृ पक्षमा आफ्नो पितृको देहावसानको तिथीमा आफ्ना सम्पूर्ण पितृहरूलाई पिण्ड, पानी, सिधा, व्राह्मण भोजन, अतिथी सत्कार आदि कार्यहरू गर्ने गर्दछौं ।

जसमा आफन्त डाकी विभिन्न तरिकाबाट आतिथ्य दिने प्रचलन छ । शुद्धता, पवित्रता, चोखो–नीतोका दृष्टिकोणले पितृहरूलाई भगवान भन्दा माथिको दर्जा दिइन्छ । उदाहरणको लागि हामी लिन सक्छौं श्राद्ध गर्ने अघिल्लो दिन नै कपाल खौरिने, नुहाउने, एक छाक मात्र खाने, शुद्ध वस्त्र लगाउने, दिनभर शुद्ध खाने आदि ।

त्यसैले हाम्रो गाउँ–समाजमा रहेको ‘भगवान भन्दा पितृहरू ठूला’ भन्ने जुन किम्बदन्ती छ त्यो पनि सही हुन आउँछ ।
तुलसीकृत रामचरित मानसमा उल्लेख छ कि– भगवान् रामले आफ्ना पिता दशरथको महालय श्राद्ध गरे पछि सीताजीलाई स्वप्नमा सम्पूर्ण पितृहरूको दर्शन भएको थियो । त्यस्तै, स्कन्दपुराणको ब्राह्मखण्ड अन्तर्गतको सेतु माहात्म्यमा पितृपक्षको बारेमा यस्तो लेखिएको छ– ‘पितृपक्ष आएपछि देवस्वरूप पितृहरू हर्षले नाच्न थाल्छन् कि हाम्रा छोरा–नाति हाम्रो तृप्तिका लागि सत्पात्र र ब्राह्मणहरूलाई भोजन गराउँछन् ।

त्यस भोजनले गर्दा हामीले अत्यन्त दारूण नरकको क्लेश भोग्नुपर्दैन र जबसम्म सूर्य चन्द्र रहन्छन् हामी स्वर्गमा बस्न पाउँछौं । जसरी भगवान प्रसन्न हुँदा अनेक वस्तुहरू पाइने विश्वास छ त्यसैगरी पितृहरू प्रसन्न भए आफ्नो सन्ततिलाई इच्छा अनुसारको फल दिने हुन्छन् ।

वैज्ञानिक पक्षतिर जाँदा– समस्त ब्रह्माण्ड बाह्र राशिमा बाँडिएको छ । मेष राशि समस्त विश्वको प्रवेश द्वार हो भने मीन राशि मोक्ष द्वार हो । नैसर्गिक राशि चक्रमा मीन राशि अन्तिम अर्थात बाह्रौं राशिमा पर्दछ जुन ब्रह्मलोक अथवा देवलोकसँग जोडिएको हुन्छ । जब कि, कन्या राशि त्यसको ठीक तल पर्दछ जुन पृथ्वीलोक अथवा चन्द्रलोकसँग जोडिएको हुन्छ । हरेक वर्ष चैत १ गते जब सूर्य मीन राशिमा प्रवेश गर्दछ तब सूर्यको सम्बन्ध ब्रह्मलोकसँग बन्दछ । यो महिनामा सूर्यले ब्रह्मलोकलाई प्रकाशित बनाउँछ भने मुक्त जीव, देवता आदिलाई प्रसन्न पार्दछ ।
यो चैत महिनामा सूर्यलाई मीनारक पनि भनिन्छ । जुन अति पवित्र काल भएको कारण विवाह जस्तो भोगविलासको कर्महरू शास्त्रले वर्जित गरेको छ । मीनमा पवित्र भएको सूर्य नव पल्लवित भएर मेष (वैशाख १ गते) मा उच्चको बनेर बाहिर आउँछ । त्यस्तै, माघ १ गतेदेखि सूर्य मकरमा प्रवेश गर्दछ त्यहाँबाट सूर्यको गति उत्तरायणतर्फ हुन्छ । माघ १ गतेदेखि असार मसान्तसम्मको अवस्थालाई देवलोक भनिन्छ र साउन १ गतेदेखि पुसमसान्तसम्मको अवस्थालाई दानवलोक भनिन्छ ।

जब सूर्य मकर राशि (माघमहिना) मा पुग्छ तब ब्रह्मलोकमा प्रवेश मात्र गरेको हुन्छ र मीन संक्रान्तिमा पुग्दा यसको चरमोत्सर्ष समय हुन्छ । त्यसैगरी, सूर्य कर्कट संक्रान्तिदेखि दानव लोक प्रवेश मात्र गरेको हुन्छ । जब जब सूर्य दक्षिणलोकमा दानवजगत तर्फ अगाडि बढ्दछ तब सूर्य निर्बल बन्दै जान्छ र कन्या राशिमा यमलोक वा प्रेतलोक अथवा दानवलोकमा प्रवेश गर्दछ । असोज महिनाभरि सूर्य परमहीन अवस्थामा दबिएको हुन्छ । त्यसकारण यो महिनामा नवरात्र (दशैं) पर्वमा दानवहरूदेखि रक्षा पाउन जगदम्बाको उपासना गरिन्छ ।

कन्या (असोज महिनाभरि) मा सूर्य दानवलोकमा हुने हुनाले जब तुला (कात्तिक महिना) मा प्रवेश गर्दछ तब त्यो नीच अवस्थाको गनिन्छ । सूर्य जब धन राशिमा प्रवेश गर्दछ तब सूर्यको देवलोकसँग सम्पर्क हुन्छ र मकर संक्रान्तिको पूर्व महिना भएको हुनाले अति पवित्र गनिन्छ र त्यसलाई धनारक (पुस महिना) को रूपमा यो पवित्र मास सांसारिक कर्महरूको लागि निषेध गरिएको छ ।

जब सूर्य कन्या राशिमा हुन्छ तब प्रेतलोक अथवा चन्द्रलोक (पितृलोक)जागृत हुने हुन्छ र सूर्यबाट निक्लिएको श्रद्धा नामको किरणहरूसँग वायुरूप आत्माहरू चन्द्रलोकबाट तल आउने हुन्छन् । भाद्रशुक्ल पूर्णिमादेखि चन्द्र सूर्यतिर अगाडि बढ्दै जान्छ र चन्द्रको हरेक अंशमाथि रहेको जीव तिथी प्रमाणले आफै तल आउने हुन्छन् । उदाहरणको लागि चन्द्रमालोकको प्रथम कलाको विस्तारमा रहेको सूक्ष्म शरीर पूर्णिमाको दिनमा पृथ्वीमा आउँछ र चन्द्रमाको सोह्र कलाहरूमा सोह्रश्राद्ध भनिएको छ । यो सबै आफसेआफ भइरहेको हुन्छ ।

ठिक मध्यान्हकालमा सूर्य जब टाउको माथि आउँछ तब त्यो पितृलोकको बाटो खुल्दै जान्छ त्यसकारण श्राद्ध कर्म दिउँसो गर्नुपर्छ भनिएको छ । श्राद्धमा दूध र दूधको परिकारको बढी महत्व पाइन्छ ।जस्तै– खीर, दही आदि । कारण यी सब कुराहरूमा चन्द्रमाको अधिपत्य रहने हुन्छ ।

हरेक स्वजन आफ्नो ममत्वको कारणले आफ्नो तिथीको दिनमा आफ्नो परिवारको घरमा, ढोकामा आएर बसिराख्ने हुन्छन् । त्यो दिनमा उसको नामको श्राद्ध भएको रहेनछ भने श्राप दिएर सूक्ष्म देह पछि फर्किएर जान्छन् र यो श्रापले विस्तारै घरको सुख, शान्ति हराउँदै जान्छ । सम्पूर्ण पितृहरू फेरी औंसीको दिनमा चाहिँ बाहिर (पृथ्वी) आउँछन् । त्यस दिन फर्केका पितृहरू फेरी हरेक औंसीको दिन आश लिएर आउने हुन्छन् । सबै पितृको अरू बेला नसक्दा औंसीको दिन श्राद्ध गर्नुपर्छ । धार्मिक पक्षमा यो पक्ष पितृहरूको उद्धारको समय भयो भने वैज्ञानिक पक्षमा सूर्य–चन्द्रलाई परिपोषण गर्ने समय भएकाले यो पितृपक्ष दुवै तरिकाबाट महत्वपूर्ण मानिन्छ ।

यसरी धार्मिक र वैज्ञानिक पक्षबाट अति महत्व बोकेको यो सोह्रश्राद्ध घर हुनेले घरमा गर्नुपर्दछ भने घर नहुनेले तीर्थस्थानमा गएर यो श्राद्ध श्रद्धापूर्वक गर्नुपर्दछ । श्रद्धा छैन भने जति राम्रोसँग गरे पनि त्यो देखावटी श्राद्ध मात्र हुन्छ पितृले पाउन लायकको श्राद्ध हुँदैन । अतः श्रद्धा, प्रेम, विश्वास र स्नेहपूर्वक आफ्नो पितृलाई स्मरण गरेर गरिएको सानो आतिथ्य नै श्राद्ध हो । त्यही श्रद्धा नै पितृहरूका लागि अतियोग्य मानिन्छ ।

जीवनमा कुनै न कुनै अभिशाप अथवा वेदनाहरूबाट घेरिएको व्यक्तिले त सोह्रश्राद्ध गर्नै पर्छ । किनकि, देवताहरूले दिएको कुरालाई पितृहरूले हरण गर्न सक्दछन् तर पितृहरूले दिएको कुरालाई भने कसैले पनि हरण गर्न सक्दैनन् भन्ने भनाइ गाउँ–घरमा अझ पनि प्रचलित रहेको पाइन्छ ।

लेखक वास्तुशास्त्री एवं ज्योतिष हुन् ।

समाधान दैनिकबाट साभार