डा. केसी फेरि दिए आठ दिने अल्टिमेटम

Avatar photo
Dhadingpost
भदौ २५, २०७३

धादिङ भदौ २५

Dr. Govinda KC
चिकित्सा क्षेत्र सुधारको माग गर्दै आन्दोलनरत त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले सरकारलाई फेरि पनि आठ दिने अल्टिमेटम दिएका छन् ।

आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै डा. केसीले सरकारलाई आगामी असोज २ गतेसम्मको अल्टिमेटम दिएका हुन् ।

उनले आज विज्ञप्ति जारी गर्दै चिकित्सा ऐनमा सुधार र माथेमा आयोगको प्रतिवेदन विपरित नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिनेलगायतका विषयमा चलखेल सुरु भएको भन्दै आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।

डा. केसीको विज्ञप्तिमा विभिन्न षड्यन्त्र र चलखेल रोक्न तथा हालसम्म भएका सबै सम्झौता अविलम्ब कार्यान्वयन गर्न असोज २ गतेसम्मको अल्टिमेटम दिइएको उल्लेख छ ।

उनले हाल भइरहेका चलखेल रोकेर आफ्ना सुझावसहित चिकित्सा ऐन पारित गर्ने तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की तथा आयुक्त राजनारायण पाठकमाथि महाभियोगको प्रक्रिया अघि बढाउनेलगायत सरकार र आफूबीच भएको पछिल्लो सम्झौताका सबै बुँदा कार्यान्वयन नभए असोज ३ गतेदेखि अनसन बस्ने घोषणा गरेका छन् ।