अनुदान मल बेच्न पाउने भन्दै बजार बन्द

Avatar photo
Dhadingpost
भदौ ९, २०७३

धादिङ  भदौ ९

photo bazzar

किसानलाई सरकारले दिएको अनुदानको रसायनिक मल बिक्री गरेको आरोपमा पक्राउ परेका ब्यवसायीलाई छुटाउन उद्योग वाणिज्य संघ गोरखाले आज बजार बन्दको आह्वान गरेको छ। सरकारले बजार अनुगमन गरेर कालोबाजारीलाई तत्काल कानुनी दायरामा ल्याउन निर्देशन गरेकै दिन मंगलबार गोरखामा अनुदानको मल बेच्ने ब्यापारी पक्राउ परेका थिए।

बिना सर्त छाड्नुपर्ने माग गर्दै बिहानैदेखि उद्योग वाणिज्य संघका पदाधिकारीले गोरखा सदरमुकामको मुख्य बजारमा माइकिङ गर्दै ब्यवसायीलाई बन्द गर्न भनेका छन्। अहिले गोरखामा बजार पूर्ण ठप्प छ। अझै यातायात ब्यवसायीलाई समेत बन्दमा सहयोग गर्न उद्योग वाणिज्य संघका पदाधिकारीले अनुनय गरेका छन्। बजार बन्दका कारण आज कृष्णजन्माष्टमीमा किनमेल गर्नेहरुलाई समस्या भएको छ।

जिल्ला अनुगमन समितिले मंगलबार बजार अनुगमनका क्रममा ब्यवसायी रामशरण कोइराला, अनु श्रेष्ठ र ईश्वर श्रेष्ठको पसलबाट किसानका लागि कृषि सहकारीलाई दिइएको अनुदानको मल मिलेमतोमा बिक्री गरेको भेटिएको थियो। सहकारीका पदाधिकारीसँग मिलेर मल बेचेको भेटेपछि प्रशासनले पक्राउ गरी कालोबजारीअर्न्तगत मुद्दा दर्ता गरेर कारबाही गरेको बिरोधमा बजार बन्द गरिएको हो।