प्रचण्ड प्रधानमन्त्री रहुन्जेल माओवादी केन्द्रको महाधिवेशन नहुने

Avatar photo
Dhadingpost
भदौ ३, २०७३

धादिङ भदौ ३-

timthumb (1)

ने.क.पा. (माओवादी केन्द्र) ले आगामी पुस २८ गतेदेखि गर्ने भनिएको पार्टीको राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ।शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लाजिम्पाटमा बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।

बैठकका निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भनिन्, ‘अध्यक्ष कमरेडको नेतृत्वमा बनेको सरकारका कामलाई प्रभावकारी बनाउनु हाम्रो अहिलेको प्राथमिकता हो। सरकारकै काममा मूख्य ध्यान दिनुपर्ने र पार्टीका काममा अध्यक्षले पर्याप्त समय दिन नसक्ने वस्तुगत परिस्थितिका कारण महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको छ।’

प्रवक्ता भुसालका अनुसार महाधिवेशन स्थगितसँगै भदौं ११ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक पनि स्थगित गरिएको छ।

‘भदौं ११ गते काठमाडौंमा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक स्थगित गरिएको छ । त्यसको बिकल्पमा सात वटै प्रदेशमा केन्द्रीय कार्यालयको उपस्थितिमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुको सहभागितामा प्रदेशस्तरीय बैठक सम्पन्न गरिनेछ’, प्रवक्ता भुसालले भनिन्।