हरिहरसिंह राठौर, धादिङ, असार १३ । असार पोखरा र पश्चिम नेपालबाट सवारी साधन आउने चोक हो, मुग्लिन । यात्रुहरुले खाना र नास्ता खाने ठाउँको रुपमा पनि चिनिन्छ यो । यात्रुको चापका कारण यहाँका होटलमा व्यापार पनि राम्रै हुन्छ ।
यतिखेर मुग्लिन बजारमा जामले रोकिएको सवारी साधन र आलपत्र परेका यात्रुहरु खचाखच छन् । कसैले सुत्ने कोठा खोज्छन् त कसैले खाना । यहीकारण मुग्लिनका होटल व्यापारीलाई अहिले भ्याइनभ्याइ छ ।
फेरि, मुग्लिन प्रहरीलाई भने अहिले अर्को चटारो छ । ‘पहिरो खुल्यो कि छैन भनेर दैनिक एक हजार फोन आउँछ’, मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमाल भन्छन्,‘एकछिनमा खुल्यो भन्यो एकैछिनमा पहिरो आएर सडक बन्द हुन्छ ।’
नारायणगढ–मुग्लिन सडकखण्डलाई चार लेन बनाउन सुरु गरिएको सडक सुधार योजनाले राजधानी आउने यात्रीलाई सास्ती दिएकोछ । सडक फराकिलो बनाउने काममा पहाड फोड्न ठूला उपकरण प्रयोग गरेकाले पनि पहिरो गएको अनुमान छ ।
आईतबार बिहान उक्त सडकअन्तर्गत पाँचकिलो, सेती दोभान, गौंडेलगायत स्थानमा पहिरो खसे पछि राजमार्ग अवरुद्ध भएको थियो भने सोमवार बिहान चण्डीभन्ज्याङ्गको ५ किलो कालीखोलामा पहिरोले अवरुद्ध छ ।
अहिले डोजरको सहायतामा पहिरो पन्छाउने क्रम जारी रहेको मुग्लिनस्थित ईलाका प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रातिदेखि सडक अवरुद्ध भएपछि सवारी साधनको ठूलो लाइन लागेको थियो । पश्चिम नेपालबाट चितवनहुँदै काठमाडौ र पोखरालगायत विभिन्न स्थानमा आवतजावत गर्ने सयौं सवारीसाधन र ढुवानी साधनहरु बीचबाटोमै रोकिएका थिए भने यात्रुहरु ५ किलोमिटर सम्म हिंडेर कुरिनटार, मुग्लिन लगायतका बजारमा खानाकै लागि पुगेका छन् ।
सवारी जामले भोक प्यासले अत्तालिएका यात्रुहरु थप महंगीको मारमा परेका छन् । ४ किमी परको मुग्लिन र कुरनिटारबाट पानी र चाउचाउलगायत फास्ट फुड बेच्न ल्याउनेहरुले मनपरी रुपले मूल्य तोकेर यात्रु ठगी रहेका छन् ।
एक प्याकेट चाउचाउको ६० रुपैयाँ, आलुचिप्स १ सय, एक बोत्तल पानीको ५० रुपैंयाँसम्म मूल्य तोकिएको छ । घरायसी कामले चितवन जान हिंडेका जोगीमारास्थित त्रिशुली बीच रिभर साईड रिसोर्टका सञ्चालक सुरेश मल्लले जामको मौका पारेर व्यापारीले अचाक्ली मूल्य बढाएको बताए । ‘अनुगमन गर्ने कोही छैन’, उनले भने,‘यात्रु लुटिएका छन् ।’ इकान्तिपुर

