जुनसुकै समाज जाति र सभ्यताको स्रोत बनेर विषेश किसिमको अलिखित साहित्य प्रचलनमा रहेको हुन्छ । त्यस साहित्यलाई लोकसाहित्य भनिन्छ । यसर्थमा पहिचानको मुख्य तथा महत्त्वपूर्ण स्रोत नै लोक साहित्य हो भन्दा अत्युक्ति नहोला । तामाङ जाति नेपालको एक प्राचिन आदिवासी जनजाति हो । यस जातिसँग आफ्नै प्रकारका लोकगीत, लोककथा, लोकनाटक, लोकगाथा, उखानटुक्का, गाउँखाने कथा आदि प्रचलनमा रहेको पाइन्छ । लोकगाथा र लोकनाटकको मिश्रणको रुपमा गणेशहिमाल आसपासका ल्हाप्साङकर्पो क्षेत्रमा प्रचलित घोडचढी नाच तामाङ लोकसाहित्यको एक गतिलो मौलिक र ऐतिहासिक उदाहरण हो । अभिनय मार्फत विगतको स्मरण यस नाचमा पाइन्छ ।
घोडचढी नाच तामाङ शब्द तपुस्यपको नेपाली अनुवाद हो । त भनेको घोडा पु यानेकी पुम्पलको अर्थ चढेको स्यप भनेको नाच हो । यसर्थ घोडचढी लडाकुको अभिनय गरेर नाचिने वीर रसमा आधारित युद्ध नृत्यलाई घोडचढी नाच भनिन्छ ।
नेपाल तामाङ घेदुङको आयोजनामा हुन लागेको तपुस्यप अन्तर्कृया तथा प्रशिक्षणको लागि यो कार्य पत्र तयार पारेको हो । केही सन्दर्भहरु यसमा राख्ने प्रयास गरिएको छ ।
क) घोडचढी नाचको ऐतिहासिकता
मानिसको कम्मरमा दुइतर्फबाट काठहरु बाँधेर अगाडि पट्टि सानो डोका काठमा उनेर टाउको बनाई त्यसमा नाक, मुख र कान बनाइन्छ । पछाडिपट्टि पनि सानो डोकोमा पुच्छर बनाई गोइले छोपेपछि रातो घोडचढी ल्हसइदेव र सोही प्रक्रियाबाट जामाले छोपेपछि सेतो घोडचढी गोर्खइग्यल्बो बन्दछ । प्रत्येक घोडचढीसँग दाँया हातमा तरवार र बाँया हातमा ढाल, टाउकोमा क्र्याकी र अनुहारमा रातो रङ्ग पोतिन्छ । अन्य सहायक सैनिकहरु आ आफ्नै समूह मुताविकको क्र्याकी काँधदेखि कम्मरसम्म बाँधी हातमा भाला वा धनुष लिन्छ । सङ्ख्याको निर्धारण नाच प्रस्तुत गर्ने स्थान, परिवेश र अवस्थामा आधारित हुन्छ । तर कम्तीमा एक एक मुख्य घोडचढी र एक एक सहायक सैनिक हुनु अनिवार्य छ ।
वीररसमा आधारित नृत्य भएको हुदा युद्ध, लखेटालखेट, काटमार र लुकीछिपीको अभिनय गरिन्छ । गोर्खइग्यल्पोहरु डसङमा प्रवेश गर्नासाथ ल्हसइदेवहरु पनि युद्धमा होमिन्छन् । केही समयको युद्धपश्चात मध्यस्थकर्ता मार्फत युद्धविराम घोषणा गरिन्छ तर एक अर्काप्रति आरोप प्रत्यारोप गर्छन् र वार्ता भङ्ग हुन्छ । फेरि युद्ध हुन्छ । दोस्रो पटकको वार्ता क्षतिपूर्तिको विषयमा सहमती हुन नसक्दा पुनः युद्ध गर्छन् । कहिल्यै जीतहार नहुने युद्धबाट आजित भइ तेस्रो पटकको वार्ता गर्छन् । यस पटक भने कसैले पनि नहारेको बराबर भन्ने निष्कर्षमा सहमति हुन्छ । गोर्खइ ग्यल्पोहरुको चामलसँग ल्हसइदेवहरुको नुन साटेर मित्रवत ब्यबहार गर्दै संयुक्त विजयउत्सव मनाएर युद्ध नृत्य सकिन्छ ।
ऐतिहासिकता
घोडचढी नाचको इतिहासलाई केलाउदा नेपाल र भोटविचको सन् १७८८—१७८९, सन् १७९१—१७९२ र सन् १८५५—१८५६ मा भएको मुद्रा तथा व्यापार सम्बन्धी युद्ध र वार्ताहरुको प्रतिनिधित्व गरेको छ । त्यसबेलाको युद्धमा तामाङहरुको पनि सहभागिता रहेकोले शाहदत प्राप्त साथीहरुको सम्झना र सम्मानका साथै परिवारजनलाई सान्त्वाना दिन यो नृत्य शुरु गरिएको जनविश्वास पाइन्छ । नामकरण गोर्खाइ ग्यल्पो र ल्हासाइ देव भएकोले पनि घोडचढी नाच गोर्खाली र ल्हासालीसँग सम्बन्धित भएकोे पुष्टि गर्दछ ।
त्यसबेलाको युद्धमा सहभागी हुन गएका कतिपय हताहत भएका थिए । आफ्नो आफन्त नफर्केकोे सोधीखोजी गर्दा मर्यो भन्न सकेन । तर लगातार सोधीखोजी भएपछि बताउन बाध्य भयो । मौखिक रुपमा मरणको शन्देश दिन अफ्ट्यरो भएकोले आफुहरुले युद्धबाट जितेर ल्याएको रगत लतपतिएको ढाल र तरवार प्रदर्शन गर्दै हामी यसरी लडेका थियौ, अन्य साथीहरू यसमा शाहदत प्राप्त गरे भन्ने अभिनय गर्न र आफन्तजनको चित्त बुझाउन भनि नृत्य सुरु भएको भन्ने मत ताम्बा गाम्बाहरुको रहेको छ । वीरगति प्राप्त गरेका सहयोद्धाहरूको स्मृतिमा प्रत्यक वर्ष माघ महिनाको दशमीदेखि पूर्णिमा सम्म विशेष उत्सव छेची÷छेज्यू÷छेजी÷छेस्युग आयोजना गरी यसलाई थप व्यवस्थित बनाएका थिए । यस नाचमा वीर पूर्खाहरूको देश भक्तिपूर्ण वलिदान, युद्ध कौशलता, चातुर्यता र वीरता अनुभुत गर्न सकिन्छ ।
साथै तामाङ भुरे टाकुरे राज्यहरुको रक्षार्थ शाह राजाहरुसँग गरेको लडाई तथा सङ्घर्षको इतिहाससँग जोड्ने प्रयास समेत गरिएको छ तर नामकरण, तयारी, वार्तामा प्रयोग गरिने चलन, भाषा र गीतले यो तर्क असुहाउदो बनेको छ ।
ऐतिहासिक पुष्टि
नेपालको इतिहास अनुसार नेपाल र तिब्बतबीचको सम्बन्ध गोर्खाली राजा पृथ्वीनारायण शाहले एकिकरण गर्नुभन्दा पहिले प्रताप मल्लको शासनकालदेखि नै थियो । तिब्बतसँग भारतको स्वार्थवस दौत्य सम्बन्ध स्थापित गरेको भए पनि कुटनीतिक र वाणिज्य सम्बन्धको लागि महत्वपूर्ण कुति केरुङ मार्ग बन्यो । त्यसले गर्दा मल्ल राजाहरु सो मार्गमा आफ्नो आधिपत्य जनाउन झगडा गरिरहेको बेला नुवाकोट विजय पश्चात गोर्खाली राजाले पनि त्यसमा भाग पाए । व्यापारमा खटपट उत्पन्न भएकोले सन् १७७५मा खासा सन्धि गरियो । मुद्रा, व्यापार र समर्पा लामालाई सुपुर्दगीको कारण बहादुर शाहाको नायवी काल सन् १७८८ मा नेपाल तिब्बतबीच युद्ध भएको थियो । नेपाली सेनाले कुती र केरुङ दुई तर्फबाट आक्रमण गरेका थिए । तामाङहरुको सहभागिता बढाउनकै लागि परवल लामालाई सर्दार बनाई युद्धमा पठाएका थिए । तिब्बतका धेरै स्थान नेपाली सेनाले कब्जा जमाएर आत्तिएको बेला चीनको सुझावमा केरुङ सन्धि गर्यो । यो सन्धि चीनले तिब्बतको साथ दिन गराएकोले सन्धिका बुँदाहरु तिब्बती पक्षले उलङ्घन गर्न थाले । चिनिया सेना तिब्बत आइ बसेकाले नेपाली पक्षसँग विभिन्न विषयमा विवाद निकाल्न थाले । कुटनीतिक प्रयासबाट समाधान नभए पछि अगस्त १७९१मा पुनः तिब्बतमाथि नेपाली सेनाले आक्रमण गरे । कुती, शिकारजोङ कब्जा गर्दै सिगात्सेसम्म धावा बोल्न पुगे । तासिहुन्पो मठ समेत कब्जामा लिएको बखत ७०,००० चिनिया सेनाको सहायताले नेपाली सेनालाई वेत्रावतीसम्म लखाटेर ल्याए । सन् १७९२मा वेत्रावती सन्धि गर्यो । नेपाल र अङ्ग्रेजको युद्ध र आन्तरिक अस्थिरताले धेरै समयसम्म नेपाल र तिब्बतको युद्ध बल्झेन । जङ्गबहादुर राणाको पालामा वेत्रावती सन्धिमा गुमाएको अधिकार लिन पुनः युद्ध गर्ने तयारी गर्यो । तयारी मुताविक लडाई जित्दै गए अन्तमा सन् १८९२मा थापाथली सन्धि भएर लडाई सकियो ।
यसरी हेर्दा तीन पटक नै नेपाली सेनाले नै आक्रमण गर्न गएको छ । घोडचढी नाचमा पनि गोर्खइ ग्यल्बोहरू नै डसङमा अगाडि प्रवेश गर्दछन् । युद्ध र वार्ता पनि तीन पटक नै हुने गर्दछ । लडाईको तयारी र प्रभाव ल्हाप्साङकर्पो क्षेत्रमा परेको छ । त्यसैले यहाँका बासिन्दाहरु आफ्नो देशको रक्षार्थ लडाइमा सहभागी हुनु स्वभाविक थियो । त्यसैले यहाँका तामाङहरुसँग यो नाचको प्रत्यक्ष सम्बन्ध छ । अनि उनीहरुले आफ्नो संस्कार, संस्कृति र परम्पराको रुपमा घोडचढी नाचलाई संरक्षण र संवर्धन गरिएको पाइन्छ । साथै नेपालका वीर पूर्खाहरु आज पर्यन्त विभिन्न देशमा बहादुर सैनिकको रुपमा कार्य गरिरहेका छन् । विभिन्न युद्धका अग्रमोर्चा सम्हालेका छन् । ती पूर्खाहरुको सम्मान र सम्झना तथा आज कार्यरत वीर सैनिकहरूको मानार्थ यो नृत्य नाचिएको पाइन्छ ।
त्यसैले नामकरण, प्रभावित क्षेत्र, वार्ता शैली र भाषाको आधारमा पनि घोडचढी नाच नेपाल तिब्बतबीचको ऐतिहासिक लडाइहरूमा आधारित छ भन्ने पुष्टि गर्दछ ।
ख) घोडचढी नाचको लागि आवश्यक सामग्रीहरु
काठ, गोइ, जामा, सियो, धागो, रंग, मोसो, धुप, धुपारो, पोङ, क्र्याकी, भाला, चोया, अम्रिसो, तरवार, थाल, डोको, केराको पात, धनुष आदि
ग) घोडचढी नाचमा लामाको भुमिका र महत्त्व
घोडचढी नाचमा झ्याम्टा लिई प्रमुख निर्देशकको भूमिका लामाले निभाउदछ । बाजा र नाचको ताल मिलाउने काम लामाले गर्दछ । नाच सुरु गर्दा छ्यङछ्योत गर्न र अनत्यमा खोइ खोइ भित्र्याउने काम लामाले नै गर्नु पर्दछ । नाच्दा नाच्दै अरुले केही मन्त्र साधनाद्वारा नाच असफल पार्ला भनि मन्त्रको कवच लगाउने काम पनि लामाले नै गर्दछन् । त्यसैले घोडचढी नाचमा कम्तिमा एक जना लामा आवश्यक पर्दछ ।
घ) घोडचढी नाचका चरणहरु
पहिलो चरण: झ्याम झ्यामको सुस्त तालमा जिउँ तन्काउने दायाँ बाँयाँ अर्ध घुम्ने गरिन्छ ।
दोस्रो चरण: खुइ खुइ दोङ दोङ को तालमा अगाडि झुक्दै पछाडि फर्कदै गर्ने गरिन्छ ।
तेस्रो चरण: झ्याम झ्यामको छिटो तालमा शक्ति प्रदर्शनहेतु गोलाकारमा दायाँ बाँया घुम्दछन् ।
चौथो चरण: त्यसपछि लडाइको शैलीमा दौडन्छन् । र दोस्रो चरण दोहोर्याउछन् ।
पाँचौं चरण: दोस्रो चरणकै बाजाको तालमा दायाँ बायाँ झुक्दछन् ।
छैटौं चरण: छिटो बाजाको तालमा दुईथरी घोडचढीहरु तरवार जुधाउने तथा पछाडिको भाग जुधाउने गर्दछन् ।
सातौं चरण: दोस्रो चरणकै तालमा एक तर्फले अर्को तर्फकालाई पेल्दै जान्छन् फेरी अर्को तर्फकाले पेल्दै आउछन् ।
आठौं चरण: दोस्रो चरणकै तालमा लुकामारीको अभिनय झै बसिबसि समेत युद्ध गरेको अभिनय गर्छन् ।
नवौ चरण: सुस्त तर जोशिलो बाजाको तालमा सबै घोडचढी लस्करै बसेर दुबै हातले काखी ठीक ठीकको तालमा बजाउदै नाच्दछन् ।
दशौं चरण: खोइ खोइ खोय खोय को तालमा अर्धाकारमा घुम्दै नाच्दछन् ।
ङ) घोडचढी नाचमा प्रयोग गरिने गीत र यसको महत्त्व
घोडचढी नाच उत्कर्षमा पुगिरहेको अवस्थामा दुबै पक्षका वार्ताटोलीको आग्रहमा हातहतियार माझमा राखी युद्धविराम गरिन्छ । र घोडचढीहरुसँगै बसेर बैदिक तामाङ भाषामा वार्ता गरिन्छ । पहिलो पटक मिल्दैन, दोस्रो पटक मिल्दैन अन्त्यमा तेस्रो पटकमा मिल्दछ ।
यही गीत नै महत्त्वपूर्ण प्रमाण हो कि लडाइ र कारणबारे बुझ्ने । त्यसैले यसमा प्रयोग गरिएको गीत महत्त्वपूर्ण छ ।
च) घोडचढी नाचको महत्त्व
तामाङ लोकसंस्कृति भित्र विकसित घोडचढी नाचको एकदम महत्त्व रहेको छ । जातीय, सामाजिक, सांस्कृतिक, ऐतिहासिक,साहित्यिक र धार्मिकरुपमा यसको महत्व रहेको छ । तामाङ जातिमा प्रचलित यो नाच तामाङ जातिसँग सम्बन्धित छ । युद्ध तथा अन्य कारणले मृत्यु हुनगइ दाहसंस्कार नपाएर भड्कीरहेका मृतात्माले चीर शान्ति पाउने र देवीदेउता खुशी भइ समाजमा सुख शान्ति छाउछ भन्ने जनविश्वास रहेकोले घोडचढी नाच सामाजिक र धार्मिक महत्व भेटिन्छ । नेपाल एकिकरण र एकिकरण पश्चातका विभिन्न युद्धहरुमा तामाङहरु सम्लग्न थिए । ती युद्धहरुका बेनामी शहिदहरु, प्रजातन्त्र प्राप्तिका अनेक संघर्षका शहिदहरु र जनयुद्धका शहिदहरुको समेत सम्मान दर्शाउन यो उचित अवसर र मौका हुनेछ । साथै नेपालका वीर पूर्खाहरु आज पर्यन्त विभिन्न देशमा बहादुर सैनिकको रुपमा कार्य गरिरहेका छन् । विभिन्न युद्धका अग्रमोर्चा सम्हालेका छन् । ती पूर्खाहरुको सम्मान र सम्झना तथा आज कार्यरत वीर सैनिकहरुको मानार्थ यो नृत्य नाचिएको पाइन्छ ।
साथै घोडचढी नाचमा प्रयोग हुने घरेलु हातहतियार, चोया र काठको सामानहरु, अम्रिसो लगायतले मौलिकताको झलक दिन्छ । घोडचढी तयार गर्न लामाको गोइ र बोन्पोको जामा प्रयोग गरिनुले लामा र झाँक्रीको तामाङ समाजमा समान अस्तित्व रहेको प्रमाणित हुन्छ । चामल र नुन प्रतिक मात्र नभएर त्यसबेलाको बास्तविकता पनि हो । नेपालमा अहिलेसम्म नुन उत्पादन नहुनु यसको प्रमाण हो । अझ तामाङहरुको स्वभाविक बानी व्यहोराको समेत प्रदर्शन गरिएको छ । मिलनसार र सोझा तामाङहरु आवश्यक परे शत्रुसँग लड्न पनि तम्तयार छन् भन्ने जातीय स्वभावको बारेमा प्रष्ट पारिएको पाउछौ । युद्धबाट मात्र समस्या समाधान हुन सक्दैन यसको लागि वार्ता, सम्वाद र मेलमिलाप आवश्यक छ भन्ने महत्वपूर्ण सन्देश पनि घोडचढी नाचले दिएको छ । त्यसैले घोडचढी नाचले जातीय, सामाजिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्त्व बोकेको छ ।
छ) घोडचढी नाच संरक्षणका प्रयासहरु
घोडचढी नाचको अध्ययन, अनुसन्धान र प्रचार प्रसारमा रोडा समूह लागिपरेको छ । २०५७ पश्चात घोडचढी नाच नाच्ने छेची पर्व नै नमान्ने भएपछि आम चासोको विषयलाई उठान गर्न घोडचढी नाचको खोज अभियान थालेको थियो ।
स्थानियरुपमा मात्र नाचिने यो नृत्य प्रथम धादिङ महोत्सव २०६४मा प्रदर्शन पश्चात थप चर्चा र प्रशंशा बटुल्न सफल भयो । अझ २०६५ मा काठमाण्डौको टुडिखेलमा आयोजित लाङ ल्होछार कार्यक्रममा प्रदर्शन गरे पश्चात ब्यापक प्रचार प्रसार र चासोको विषय बनेको छ । नेपाल तामाङ घेदुङ, धादिङ उद्योग वाणिज्य संघ, श्रष्टा अभियान धादिङ, सञ्चार तथा छापा माध्यमहरु, तामाङ संघ संगठन र अन्य विद्धान तथा सहयोगीहरुको पर्याप्त सहयोगको कारण यसले थप चर्चा योग्य बन्न सक्षम भइरहेको छ ।
अभियानको थालनी
बि.सं. १८८९ देखि नियमित रुपमा मान्ने परम्परा रहेपनि बि.स. २०५७ पश्चात दार्खा ब्युर्चेतमा घोडचढी नाच नाच्ने छेची पर्व लामो समयसम्ममा पनि शुचारु हुन सकेन । गाँउको अशान्ति, भोकमरी र दुःखविमारको कारण पनि छेची उत्सव नमानेर भन्ने भनाई रहन गयो । त्यसैले छेची आम चासोको विषय बनेको थियो । साथै अन्य तामाङ बाहुल्य क्षेत्रमा पनि घोडचढी नाच प्रदर्शन गरिने चलन रहेको थियो । ती स्थानहरुमा पनि धार्मिक तथा राजनीतिक कारणले छेची पर्व मनाउन सकिरहेको थिएन । संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाल प्रवेश गरेर सबै आदिवासी जनजातिले आ आफ्नो गुमेको पहिचान खोजिरहेको अवश्थामा रोडा समूहको अगुवाइमा वि.सं. २०६३ मा तामाङ संस्कृति अनुसन्धान विभाग गठन गरी छेचीको खोजलाई उठान गर्ने प्रयास स्वरुप घोडचढी नाचको खोज, अनुसन्धान र प्रचारप्रसार अभियान थालेको थियो । दोस्रो तामाङ साहित्यमा कार्यपत्र प्रस्तुत गरी विद्वानहरु माझ पस्किने प्रयास गरी अहिले थप वहस गराउने र अभियानलाई निरन्तरता दिने प्रयास गरेको थियो । अहिलेको यो लेख पनि सोही अभियानको पूरक मात्र हो ।
वर्तमान अवश्था
माघ शुक्ल पक्षको दशमीदेखि पूर्णिमासम्म छेची पर्वमा मात्र नाचिने घोडचढी नाच हरेक उत्सव, महोत्सव, जात्रा र विषेश अवसरहरुमा समेत प्रदर्शन गरिन्छ । विशेषतः तामाङहरुको सकृयतामा वि.स.२०६३ सालदेखि घोडचढी नाचको प्रचारप्रसार, संरक्षण र संवर्धन भइरहेको छ । वीररसमा आधारित यो ऐतिहासिक नृत्य हाल तामाङहरुको मात्र नभइ सम्पूर्ण नेपालीको हुन गएको छ ।
खोज अनुसन्धान तथा प्रचारप्रसार
अहिलेसम्मको खोजअनुसार वि.सं.२०६३ असारदेखि घोडचढी नाचको विधिवत अनुसन्धानमा रोडा समूहले गठन गरेको तामाङ संस्कृति अनुसन्धान विभाग लागेकोको पाइन्छ । त्यस विभागले बुझाएको प्रतिवेदनको आधारमा सदस्य पृति तामाङले ‘तामाङ संस्कृतिमा घोडचढी नाच र यसको महत्व’ विषयक लेख २०६४ माघ ११ गते शुक्रवार प्रभातकिरण साप्ताहिकमा प्रकाशित भए पश्चात छापा माध्यममा चर्चा शुरु भएको पाइन्छ । त्यसपछि नेत्रावती साप्ताहिक र धादिङ आवाज साप्ताहिकमा गोपाल फ्युवा तामाङ र अन्यले लेखहरु छपाएको पाइन्छ । साथै रोडा समूहले २८४४औं ल्होछारको अवसरमा ‘घोडचढी नाच’ शीर्षकमा १००० प्रति र २८४५औं ल्होछारमा ‘ऐतिहासिक युद्धकला नृत्य घोडचढी नाच’ शीर्षकमा ५०००प्रति पर्चा छपाइ वितरण गरेको पाइन्छ । स्रष्टा अभियानको क्रममा रोडा समूहले २०६४ माघ १६ गते आयोजना गरिएको घोडचढी नाचको सार्वजनिक प्रदर्शनी रेडियो लोकतन्त्र ८९.४ मेघाहर्जबाट प्रत्यक्ष प्रसारण र सगरमाथा टेलिभिजनबाट समाचार तथा अन्तर्वार्ता प्रशारण गरिएको थियो भने सहभागी साहित्यकार तथा पत्रकारहरुले समाचार तथा संस्मरणहरु प्रकाशन गरिएको थियो ।
प्रथम धादिङ महोत्सव २०६४मा प्रदर्शन पश्चात थप चर्चित बनेकोले त्यस वर्षका ल्होछार कार्यक्रमहरुमा प्रदर्शन गरिएको पाइन्छ । लाङ ल्होछारको अवसरमा काठमाण्डौंको टुडिखेलमा आयोजित केन्द्रिय कार्यक्रममा समेत प्रदर्शन गरिए पछि थप चर्चा ग्रहण गरेको पाइन्छ । त्यसको प्रभावरुवरुप लोपोन्मुख घोडचढी नाच हरेक महोत्सव, पर्व, मेला र अवसरमा मात्र नभई संघसंस्था र राजनितिक कार्यक्रममा समेत प्रदर्शन भइरहेको छ । ताक ल्होको तामाङ भित्तेपात्रोमा फोटो समेत प्रकाशन भएको थियो । फुटकर रुपमा भिडियो खिचेर सामान्य सम्पादन गरेर वितरण समेत गरिएको पाइन्छ । यस अवधिमा वृत्तचित्रहरु समेत निर्माण गरिएको छ । गरिवि निवारणका लागि पर्यटन कार्यक्रमको सहयोगमा जि.वि.स.रसुवा र तामाङहरुको सक्रियतामा निर्मित घोडचढी नाचको वृत्तचित्र नेपाल टेलिभिजनमा समेत प्रशारण गरिएको पाइन्छ । अहिले सामाजिक सञ्जालहरुको लोकप्रीयता सँगै फेसबुकमा समेत घोडचढी नाचको परिचय समावेश गरिएको छ । छारगोङ्मा मासिकको २०६९ वैशाख अङ्कमा ‘घोडचढी नाच ः एक चर्चा’ लेख समेत प्रकाशित छ । त्यससँगै अनलाइन तथा स्मारिकाहरुमा समेत लेखहरु प्रकाशित हुदै आएका छन् । अहिले अझ बढी चर्चा, छलफल र वहसको आवश्यकता टड्कारो बनेको छ । यो कार्यपत्र पनि त्यसको एक सिलसिला हो ।
सहयोग
स्थानीयरुपमा मात्र नाचिने यो नृत्य प्रथम धादिङ महोत्सव २०६४मा प्रदर्शन पश्चात थप चर्चा र प्रशंशा बटुल्न सफल भयो । अझ २०६५ मा काठमाडौको टुडिखेलमा आयोजित लाङ ल्होछार कार्यक्रममा प्रदर्शन गरे पश्चात ब्यापक प्रचार प्रसार र चासोको विषय बनेको छ । घोडचढी नाचलाई यसरी चर्चा योग्य बनाउन सहयोग गर्ने स्थानीय तामाङ ताम्वा, गाम्वा, लामा, व्हाईपोम्पो, रोडा समूह, नेपाल तामाङ घेदुङ, विभिन्न महोत्सव आयोजक समितिहरु, सरकारी निकाय, जि.वि.स. धादिङ र रसुवा, टिआरपिएपि कार्यक्रम, स्थानीय संघसंस्थाहरु, श्रष्टा अभियान धादिङ, सञ्चार तथा छापा माध्यमहरु, तामाङ संघ संगठन, पत्रकार, विद्धान र अनुसन्धानदाताहरुको पर्याप्त सहयोगको कारण यसले थप चर्चा बटुल्न सक्षम भइरहेको छ ।
अबको बाटो
शताब्दीयौ पूरानो घोडचढी नाच अहिले प्रचलित छेची पर्वमा मात्र नभइ विभिन्न जात्रा उत्सवमा समेत देखाइन थालेको छ । विभित संस्थाहरुको सहयोगमा घोडचढी नाच पत्रपत्रिका, टेलिभिजन, बृत्तचित्र र वेवसाइडमा समेत स्थान पाएको छ । विषेशतः ल्हाप्साङकर्पो क्षेत्रमा मात्र नाचिने यो नाच राष्ट्रिय कार्यक्रममा समेत प्रस्तुत गरी प्रशंशा बटुल्न सफल भएको छ ।
घोडचढी नाचमा तत्कालीन लोकजीवनमा प्रचलित लोकविश्वास र लोकसंस्कृति देखाउने प्रयास गरेको छ । त्यसैेले तामाङ जातिको मात्र नभइ सम्पुर्ण नेपालीको महत्वपूर्ण लोकसाहित्य हो । संस्कार, संस्कृति र भाषा छाडेमा पहिचान गुम्न जान्छ । जातीय लोकसाहित्यको विकासले राष्ट्रिय लोकसाहित्यको श्रृबृद्धि हुन्छ । त्यसैले घोडचढी नाचको संवर्धन गरिनु पर्दछ । गाउँघरमा रहेको लोकप्रचलन र लोकविश्वासलाई जिवन्त राख्न पनि घोडचढी नाचको अध्ययन, अनुसन्धान, छलफल, वहस, संरक्षण र प्रचारप्रसार गरिनु पर्दछ । अबका दिनमा समय, परिस्थिति र युग सुहाउदो नाचको ढाँचा बनाइ प्रदर्शन गरिनु पर्दछ । बिभिन्न कार्यक्रममा घोडचढी नाच लगायतका मौलिक लोक संस्कृतिहरुलाई झाँकीको रुपमा मात्र स्विकार गरिएको पाइन्छ । यो झाँकी मात्र नभई संस्कार, पद्धति, प्रचलन र पहिचानको सन्दर्भ पनि हो । त्यसैले यसलाई निश्चित महत्व दिइनु पर्दछ । त्यसको लागि उचित प्राथमिकता दिन प्रयास गरिनु पर्दछ । घोडचढी नाच नाचिने छेची उत्सवको संरक्षण, प्रचार र बिस्तार गरिनु पर्दछ ।
गोपाल फ्युवा तामाङ
घोडचढी नाच (तपुस्यप) संरक्षण समिति, धादिङ