
धादिङ । धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशिका तामाङलाई उम्मेदवार बनाएसँगै चुनावी राजनीतिमा नयाँ तरंग पैदा भएको छ। चार जना आकांक्षीलाई छाड्दै पार्टी केन्द्रले आशिकालाई टिकट दिएपछि रास्वपाभित्र असन्तुष्टि भन्दा पनि झनै एकताबद्ध र उत्साही माहौल देखिएको छ।
मंगलबार क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेकी आशिकाको समर्थनमा रास्वपाका स्थानीय नेता–कार्यकर्तासँगै सर्वसाधारणको समेत उल्लेख्य उपस्थिति थियो। यो उपस्थिति मात्र होइन, धादिङ–१ मा वैकल्पिक राजनीतिक शक्तिप्रति बढ्दो जनआकर्षणको संकेतका रूपमा पनि हेरिएको छ।
कम्युनिष्ट बाहुल्य क्षेत्रमा चुनौतीपूर्ण भिडन्त
धादिङ–१ परम्परागत रूपमा कम्युनिष्ट प्रभावशाली क्षेत्र मानिन्छ। यसपटक नेकपाले पूर्व मुख्यमन्त्री तथा वरिष्ठ नेता राजेन्द्र पाण्डेलाई र एमालेले भूमि त्रिपाठीलाई उम्मेदवार बनाएको छ। दुई ठूला र अनुभवी नेताबीचको भिडन्तमा आशिकाको प्रवेशले त्रिकोणात्मक प्रतिस्पर्धा सिर्जना भएको छ।
यद्यपि, पुराना दलप्रति बढ्दो निराशा, ‘घण्टी’ चुनाव चिन्हप्रतिको आकर्षण र आशिकाको सामाजिक क्षेत्रमा देखिएको सक्रियताले उनको उम्मेदवारीलाई केवल प्रतीकात्मक नभई प्रतिस्पर्धी बनाइदिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
बेल्जियममा रहेका धादिङबासी रमेश कँडेल भन्छन्,
“राति–राति त्रिशूली धमिल्याउने भूतहरू लखेट्न देवी धादिङ आएकी छिन्। यो पटक दक्षिणी धादिङका जनताले दुई ठूला दललाई गम्भीर धक्का दिन सक्छन्।”
यो अभिव्यक्ति सामाजिक सञ्जालमा समेत व्यापक रूपमा फैलिएको छ।
को हुन् आशिका तामाङ?
आशिका तामाङ सामाजिक अभियन्ता तथा महिला अधिकार र न्यायका मुद्दामा सक्रिय नाम हुन्। लामो समयदेखि मानव अधिकार, महिला हिंसा, दलित तथा सीमान्तकृत समुदायको आवाज उठाउँदै आएकी उनी सामाजिक सञ्जाल र अभियानमार्फत युवामाझ लोकप्रिय छन्।
उनी राजनीतिमा परम्परागत ‘नेतृत्व’ भन्दा फरक, न्याय, पारदर्शिता र नागरिक अधिकारको पक्षधर नयाँ पुस्ताको प्रतिनिधि को रूपमा हेरिँदैछिन्। यही छविले धादिङ–१ मा आशिकाको उम्मेदवारीलाई केवल पार्टीको टिकटभन्दा पनि एउटा ‘आन्दोलन’ जस्तो बनाएको छ।
निर्वाचन समीकरण बदलिन सक्छ?
राजेन्द्र पाण्डे र भूमि त्रिपाठी जस्ता स्थापित नेताबीच आशिकाको उपस्थिति नै चुनावी समीकरण बदल्ने कारक बन्न सक्ने आँकलन गरिएको छ। यदि युवाहरु, महिला र वैकल्पिक राजनीतिप्रति आकर्षित मतदाताको समर्थन आशिकातर्फ केन्द्रित भयो भने, धादिङ–१ मा यसपटक अप्रत्याशित परिणाम आउने सम्भावना समेत देखिएको छ।
धादिङ–१ अब केवल दुई ठूला दलको भिडन्त मात्र होइन, पुरानो राजनीति र नयाँ विकल्पबीचको प्रत्यक्ष संघर्ष को मैदान बन्दै गएको छ।
