पोर्चुगलमा सोनाम ल्होछार विशेष कार्यक्रम, उर्गेन दोङ र रमला पाख्रिनको लाइभ प्रस्तुति

पोर्चुगल । पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायका लागि यस वर्षको सोनाम ल्होछार विशेष उत्सवमय बन्ने भएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा हुने बृहत् सांस्कृतिक कार्यक्रममा चर्चित गायक तथा संगीतकार उर्गेन दोङ र लोकप्रिय गायिका रमला पाख्रिन तामाङले विशेष सांगीतिक प्रस्तुति दिनेछन् ।

तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत् २८६२ ता–ल्हो (घोडा वर्ग) को अवसरमा आयोजना हुने कार्यक्रममा नेपालबाट आमन्त्रित यी कलाकारहरूको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ । मौलिक तामाङ गीत तथा सेलो संगीतमार्फत उर्गेन र रमलाले दर्शक–श्रोतालाई मनोरञ्जन दिनेछन् ।

कार्यक्रम सन् २०२६ फेब्रुअरी ८ मा लिस्बनस्थित ‘रिपब्लिका द म्योजिका’ हलमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा स्थानीय कलाकारहरूको सांस्कृतिक नृत्य र गीत प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ । प्रवासमा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमप्रति पोर्चुगलस्थित नेपाली समुदायमा उत्साह देखिएको छ ।