
पोर्चुगल । “ओपन कराते द तोरेस वेद्रास” अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालका रोजन खड्काले काश्य पदक हासिल गरेका छन्। क्लब द कराते सोथाईद्वारा आयोजना गरिएको यो प्रतियोगिता पोर्चुगलमा सम्पन्न भएको हो।
सुनसरी जिल्ला, इटहरी–१७ स्थायी घर भई हाल पोर्चुगलको आदोस कुन्ह्या दुसमा बसोबास गर्दै आएका खड्काले ७५ किलोमाथि (75+ kg) तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै उनले पोडियम फिनिस सुनिश्चित गरे।
रोजन खड्का नेपालका पूर्व राष्ट्रिय कराते खेलाडी हुन्। उनी आन्तरिक तथा बाह्य दुवै प्रतियोगितामा सक्रिय हुँदै आएका छन्।
सन् 2022 अप्रिलमा सम्पन्न प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा उनले प्रदेश–१ को तर्फबाट ८४ केजी मुनि तौल समूहमा स्वर्ण पदक जितेका थिए। सोही प्रतियोगितामा उनी सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।
खड्काले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा काश्य पदक प्राप्त गरेका छन्। साथै, प्रदेश–१ बाट सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुदमा लगातार छनोट हुने पहिलो कराते खेलाडीका रूपमा उनी चिनिन्छन्।
उनी अन्तर्राष्ट्रिय अनुभवसम्पन्न खेलाडी हुन्। उनले मलेसिया, भारत, बङ्गलादेश, थाइल्याण्ड, सिङ्गापुर, फ्रान्स, जर्मनीलगायतका देशमा आयोजना भएका विभिन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका छन्।
हाल पोर्चुगलमा बसोबास गर्दै आएका खड्का निरन्तर कराते अभ्यास र प्रतियोगितामा सक्रिय छन्। “ओपन कराते द तोरेस वेद्रास” मा सहभागितामार्फत उनले पुनः अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर गरेका छन्।
