
पोर्चुगल। तामाङ समाज पोर्चुगलको आठौँ अधिवेशन अध्यक्ष गोपाल योन्जनको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा संघ–संस्था, जातीय संगठन र जिल्ला समाजका प्रतिनिधिहरू सहभागी भए। प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका प्रतिनिधि थिए।
नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष राजकुमार थापाले भाषाः कला, भेषभूषा, लिपि, संस्कार र संस्कृतिको संरक्षणमा जोड दिनुभयो। उहाँले समुदायको मौलिक पहिचान जोगाउन सबैलाई सक्रिय हुन आग्रह गर्नुभयो।
जनसम्पर्क समितिका सभापति युवराज पन्थीले संस्थापक अध्यक्ष सोम तामाङको योगदान सम्झिँदै, तामाङ समाजले संघ–संस्थासँग मिलेर काम गरिरहेकोमा प्रशंसा गर्नुभयो। उहाँले नेपाली दूतावास पोर्चुगलसँग सहकार्य गरेर शुल्क कम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाको सांगठनिक प्रतिवेदन प्रस्तुत गरियो। स्थापना कालदेखि योगदान पुर्याउने महानुभावहरूलाई सम्मान दिइयो।
प्रधान अतिथि चोक कुमार मगरले जातीय कला, भाषा र संस्कृति जगेर्ना गर्नु आवश्यक भएको र युवापुस्तामा त्यसको पुस्तान्तरण गरिनु पर्नेमा जोड दिनुभयो।
सभामा तामाङ संस्कृति झल्किने सांगीतिक प्रस्तुति र नृत्यसमेत प्रस्तुत गरियो।
अन्त्यमा नवनिर्वाचित कार्यसमितिलाई लामा गुरुले ‘टासी’ खादा लगाएर बधाई दिनुभयो।
नवनिर्वाचित अध्यक्ष कुमार सिंह बलले आगामी दुई वर्ष समाजसेवा र सांस्कृतिक संरक्षणमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
