सेमजोङको स्वादिष्ट किबी बजारमा, वैदेशिक अनुभव गाउँमै आम्दानीमा रूपान्तरण

Avatar photo
नारायण सिलवाल
कार्तिक २४, २०८२

धादिङ । नेत्रावती डवजोङ गाउँपालिका–सेमजोङमा उत्पादन भएको स्वादिष्ट किबी अहिले बजारमा उपलब्ध भएको छ। स्थानीय किसान र व्यवसायीको सहकार्यमा मण्डली फ्रुट एण्ड भेजिटेबल सप्लायर्सले सेमजोङको किबी बजारमा ल्याएको हो।

मण्डली फ्रुटका सञ्चालक पुरुषोत्तम घिमिरेका अनुसार सेमजोङको किबी स्वाद, आकार र गुणस्तरका कारण बजारमा सहजै बिक्री हुँदै आएको छ।
“हामीले सेमजोङका किसानबाट उत्पादन हुने सम्पूर्ण किबी खरिद गर्ने व्यवस्था मिलाएका छौँ,” घिमिरेले बताए।

सेमजोङका युवा किसान सन्त तामाङले करिब १३ रोपनी क्षेत्रफलमा किबी खेती गरेका छन्। उनका अनुसार यस वर्षदेखि उनका बगैँचामा हेल्वार्ड र गोल्डेन जातका किबी फल्न थालेका हुन्। वैदेशिक रोजगारीको क्रममा न्यूजिल्यान्डमा रहँदा किबी फर्ममा काम गर्ने अवसर पाएपछि त्यहीँ सिकेको सीप र ज्ञान उनले गाउँमा प्रयोग गरेका हुन्।

“व्यवसाय गर्नु अघि ज्ञान र तयारी दुवै आवश्यक रहेछ,” तामाङ भन्छन्, “विदेशमा सिकेको सिप गाउँमै प्रयोग गर्दा आत्मसन्तुष्टि र आम्दानी दुवै पाइन्छ।”

उनको किबी बगैँचासँगै ४ रोपनी क्षेत्रमा जापनिज र मिठान सुन्तला पनि फल्ने गरेको छ। अहिले सुन्तला आफ्नै प्रयासमा बजारमा पठाइरहेका उनले अर्को वर्षदेखि मण्डली फ्रुटमार्फतै बजार विस्तार गर्ने योजना बनाएका छन्।

सञ्चालक घिमिरेले सेमजोङको किबीको स्वाद लिन इच्छुक उपभोक्तालाई मण्डली फ्रुट एण्ड भेजिटेबल सप्लायर्समा 9851043158 सम्पर्क गर्न आग्रह गरेका छन्। साथै, बजार व्यवस्थापनमा समस्या भोगिरहेका अन्य फलफूल किसानलाई पनि सहयोग गर्न तयार रहेको जानकारी दिएका छन्।