लोकदोहोरी गीत प्रतिष्ठान : सुबाष चन्द्र बने युरोप शाखा अध्यक्ष

Avatar photo
गोविन्द बुढाथोकी
कार्तिक २२, २०८२

बार्सिलोना, स्पेन – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाको चौथो अधिवेशन स्पेनको पर्यटकीय सहर बार्सिलोनामा सम्पन्न भएको छ। तेस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष श्री पूर्ण बहादुर अर्यालको अध्यक्षतामा सम्पन्न अधिवेशनले सुबाष चन्द्र पुन मगरलाई सर्वसम्मत रुपमा चौथो अधिवेशनका अध्यक्षको रूपमा चयन गरेको छ। कार्यसमितिको कार्यावधि दुई वर्षको रहनेछ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपालको पहिलो दोहोरी साँझ ‘पुकार दोहोरी साँझ’ का संस्थापक श्री मुक्त गुरुङ उपस्थित हुनुहुन्थ्यो। सो अवसरमा संस्थापक अध्यक्ष सुमी घिमिरे सापकोटा पनि उपस्थित रहनुभएको थियो।

नवनिर्वाचित अध्यक्ष सुबाष चन्द्र पुन मगर सामाजिक अभियन्ता र अनुभवसंपन्न नेतृत्वका रूपमा परिचित हुनुहुन्छ। पोर्चुगलमा रहँदा जनजाति महासंघको महासचिव, माओवादी केन्द्र पार्टी लाइनको कार्यभाग महासचिव, र मगर संघ पोर्चुगलको सल्लाहकार जस्ता भूमिकाहरू निर्वाह गरिसक्नुभएको छ। हाल उनी पोर्चुगलको पासपोर्ट लिएर नर्वे स्थानान्तरण भइसकेका छन्।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष बिनिता लामिछाने (फिनल्याण्ड), उपाध्यक्ष किरणदीप परियार (डेनमार्क), उपाध्यक्ष दिनेश खड्का (पोर्चुगल), उपाध्यक्ष दीपक बुढाथोकी, महिला उपाध्यक्ष कला पंगेनी (पोर्चुगल), महासचिव पुस्तक रेग्मी (पोर्चुगल), सचिव श्याम क्षेत्री (स्पेन) र सदस्यहरू इरीका शर्मा (फ्रान्स), सीता सुवेदी (बेल्जियम), पार्वती कार्की बस्नेत (पोर्चुगल) रहेका छन्।

कार्यक्रमका वक्ताहरूले युरोपमा रहँदै पनि नेपाली लोक तथा दोहोरी गीतको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानले खेलेको भूमिका सराहना गर्दै, कलाकारहरूको निरन्तर योगदानको लागि धन्यवाद व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष पुनले आगामी दिनमा युरोपभरि नेपाली लोक तथा दोहोरी गीतलाई प्रवर्द्धन गर्न, नयाँ गीत निर्माण गर्न र सांस्कृतिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।