
धादिङ । नेपाली लोक साहित्य, संस्कृति र दोहोरी गीतको प्रवर्द्धन, संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यसहित स्थापना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, युरोप शाखाको चौथो अधिवेशनबाट महासचिव पदमा धादिङका पुस्तक रेग्मी निर्वाचित भएका छन् ।
सञ्चारकर्मी समेत सक्रिय रहँदै आएका रेग्मी गङ्गाजमुना गाउँपालिका–७, बुढाथुम घर भई पोर्चुगललाई कर्मथलो बनाउँदै आएका छन्।
युरोपका ३१ देशका करिब दुई सय प्रतिनिधिहरूको सहभागिता रहेको उक्त अधिवेशनले सुवास चन्द्र पुन मगर नर्वेको अध्यक्षतामा २०२५–२०२७ कार्यकालका लागि ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा विनिता लामिछाने -फिनल्यान्ड, उपाध्यक्षहरूमा किरणदिप परियार-पोर्चुगल, दीपक बुढाथोकी–पोर्चुगल र दिनेश खड्का-पोर्चुगल रहेका छन्। महिला उपाध्यक्षमा कला पंगेनी-पोर्चुगल, सचिवमा श्याम क्षेत्री-स्पेन र कोषाध्यक्षमा विनोद भण्डारी-फिनल्यान्ड चयन भएका छन्।
सदस्यहरूमा एरिका शर्मा-फ्रान्स, सीता सुवेदी-बेल्जियम, गंगा आचार्य-फ्रान्स चयन भएका छन् ।
कार्यक्रममा नेपालकै पहिलो दोहोरी साँझ “पुकार दोहोरी साँझ” का सञ्चालक तथा लोक संस्कृतिका अभियन्ता मुक्त गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, एनआरएन स्पेनका पदाधिकारी, युरोपस्थित नेपाली संघ–संस्थाका प्रतिनिधि, पत्रकार र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।
