नेपाली राजदूतावास लिसबनद्वारा फारोमा पहिलोपटक घुम्ती सेवा सञ्चालन, १२० भन्दा बढीले लिए सेवा

Avatar photo
गोविन्द बुढाथोकी
कार्तिक १६, २०८२

लिसबन (पोर्चुगल)। पोर्चुगलस्थित नेपाली राजदूतावास लिसबनले राजधानी लिसबनबाट दूरीका हिसाबले टाढा पर्ने क्षेत्रहरू र सामुद्रिक टापुहरूमा समेत दूतावासका सेवाहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ पहिलोपटक फारो जिल्लामा घुम्ती सेवा सञ्चालन गरेको छ।

यो घुम्ती सेवामार्फत पासपोर्ट नवीकरण, कागजात प्रमाणीकरण लगायतका कामहरू सम्पन्न गरिएका छन्। दूतावासका अनुसार उक्त सेवामा १२० भन्दा बढी नेपाली नागरिकहरूले प्रत्यक्ष रूपमा सेवा लिएका छन्।

कार्यक्रमका क्रममा पासपोर्ट नवीकरणको समय पुगेका, हराएका वा रद्द भएका पासपोर्ट पुनःनिर्माणका साथै अन्य आवश्यक कागजात प्रमाणीकरणका कार्यहरू पनि गरिएको दूतावासले जनाएको छ।

दूतावासले शनिबार र आइतबारजस्ता सामान्यतया बन्द हुने दिनहरूलाई पनि उपयोग गर्दै अत्यावश्यक सेवाको रूपमा घुम्ती शिविर सञ्चालन गरेको हो। यस अभियानमा गैरआवासीय नेपाली सङ्घ क्षेत्रीय समन्वय परिषद् अल्गार्भ तथा अन्य संघ–संस्थाहरूको सहकार्य रहेको बताइएको छ।

गैरआवासीय नेपाली सङ्घ क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अनुसार सेवा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र स्थानीय नेपाली समुदाय अत्यन्तै सन्तुष्ट भएको जनाइएको छ।

दूतावासले निकट भविष्यमा पनि राजधानीबाट टाढा रहेका क्षेत्रहरू तथा सामुद्रिक टापुहरूमा बसोबास गर्ने नेपालीहरूलाई लक्षित गर्दै यस्ता घुम्ती सेवाहरू निरन्तर रूपमा सञ्चालन गर्ने योजना रहेको जनाएको छ।
यसअघि पनि जम्बुजिरा नजिकै आगलागी हुँदा १६ जनाका पासपोर्ट जलेर नष्ट भएपछि, एनआरएनए पोर्चुगलको अनुरोधमा दूतावासले सहुलियतपूर्ण रूपमा पासपोर्ट पुनःनिर्माण गरी सहयोग पुर्‍याएको थियो।

स्थानीय संघसंस्थाहरूले नागरिक सेवामा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेकोमा दूतावासलाई खुलेर प्रशंसा गरेका छन्।