जेन जेडको आन्दोलनले ल्याएको राजनीतिक तरङ्ग

Avatar photo
हरि नेपाली
भदौ २२, २०८२

हरि नेपाली
नेपालको वर्तमान राजनैतिक र सामाजिक परिदृश्यमा एउटा नयाँ आन्दोलनको जन्म भएको छ, जसको केन्द्रमा रहेको पुस्ता हो—जेन जेड वा जनरेशन जेड। यो पुस्ता डिजिटल युगमै हुर्किएको, मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालसँगै जीवन बिताएको पुस्ता हो । नेपालमा अहिले भइरहेको आन्दोलन केवल सडकमा नाराबाजी वा सरकारविरुद्धको असन्तोष मात्रै होइन, यो पुस्ताको पीडा, क्रोध र असमानताप्रतिको आक्रोशको प्रत्यक्ष परिणाम हा । भदौ २३ गते माइतीघर मण्डलामा हुने भनिएको विशाल भेला त्यसकै अभिव्यक्ति हो, जहाँ हजारौं युवाहरू आफ्नो आवाजलाई सडकसम्म पुर्याउने तयारीमा छन् ।
जेन–जी आन्दोलनको मुख्य कारण मध्ये पहिलो कुरा सामाजिक सञ्जालमाथिको नियन्त्रण र बन्द हो । नेपाल सरकारले फेसबुक लगायत लोकप्रिय प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि हजारौं युवाहरू आक्रोशित बने । उनीहरूका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको साधन मात्र होइन, अभिव्यक्ति गर्ने, आफ्ना विचार र आवाजलाई साझा गर्ने र अन्यायविरुद्ध प्रतिरोध गर्ने एउटा शक्तिशाली माध्यम हो । जब त्यो माध्यम बन्द गरियो, तब उनीहरूले आफ्नो आवाज दबाउन खोजिएको महसुस गरे । यसैलाई “डिजिटल स्वतन्त्रता” माथिको प्रहारका रूपमा लिइयो । यसरी डिजिटल स्वतन्त्रता हरण गरिनु नै आन्दोलनको पहिलो कारण बन्यो ।
दोस्रो कारण भनेको देशमा व्याप्त कुशासन, बेरोजगारी, असमानता, मुल्यबृद्धि, छाडातन्त्र, शासकहरुको स्वेच्छाचारिता र भ्रष्टाचार हो । नेताहरूका छोराछोरीहरूले देखाएको विलासी जीवनशैली, महँगा ब्रान्डेड कपडादेखि विदेशी घुमफिर र गाडीहरूका तस्बिरहरूले सामान्य युवाहरूलाई झस्काए । यो ट्रेन्डलाई सामाजिक सञ्जालमा “नेपो बेबी” भनेर व्यंग्य भाइरल भएको छ । जसरी जनप्रतिनिधिहरूका परिवारहरू अत्यन्तै सम्पन्न र भव्य जीवन बिताइरहेका छन्, त्यसको ठ्याक्कै विपरीत सामान्य युवाहरू बेरोजगारी, महँगी, श्रम शोषण र अवसरको अभावमा जीवन धान्न संघर्षरत छन् । यो फरक केवल जीवनशैलीमा मात्र होइन, मुलुकमा गहिरो रूपमा रहेको कुशासन, असमानता र भ्रष्टाचारको प्रत्यक्ष प्रमाण पनि हो । युवाहरूले प्रश्न गर्न थाले—यदि नेताहरूले जनताको पैसा प्रयोग गरेर आफ्ना सन्तानलाई यति विलासी जीवन दिइरहेका छन् भने, हामी किन यो अन्याय सहने ? यसरी “नेपो बेबी” ट्रेन्डले नै आन्दोलनलाई थप उर्जा र दिशा दिने काम गरेको छ ।
नेपालका युवाहरूमा यस किसिमको आन्दोलन केवल देशभित्रको अनुभवले मात्र होइन, अन्तर्राष्ट्रिय घटनाले पनि प्रेरित गरेको छ । फिलिपिन्स र इन्डोनेसियामा यस्तै अभियान चलेको थियो, जहाँ युवाहरूले नेताहरूका छोराछोरीहरूको विलासी जीवनशैलीलाई उजागर गर्दै सडकमा उत्रिएका थिए। त्यहाँ चलेको “लाइफस्टाइल चेक” नामक अभियानले सरकारका उच्च तहमा रहेका मानिसहरूको असली अनुहार उजागर गर्यो । नेपालका युवाहरूले पनि त्यसैको झल्को देशको शाषकहरुमा देखे र आफूहरूको पीडासँग त्यसलाई जोड्न थाले । यसरी अन्तर्राष्ट्रिय घटनाले पनि नेपालका युवाहरुमा जागरण पैदा गर्यो ।
भदौ २३ गतेको आन्दोलनलाई विशेष बनाउन सामाजिक सञ्जालको भूमिका अतुलनीय छ । हजारौं युवाहरूले फेसबुक, टिकटक, रेड्डिट, इन्स्टाग्राम र युट्युबमार्फत यसको प्रचार गरिरहेका छन् । ‘#WakeUpGenZÚ, ‘#NoMoreCorruptionÚ, ‘#NepobabyExposedÚ, ‘Enough is Enough’, ‘We are punching up!’ जस्ता ह्यासट्यागहरूले अभियानलाई देशभर मात्र होइन, प्रवाससम्म फैलाएका छन् । युवाहरूले भनिरहेका छन अव केवल भर्चुअल स्पेसमा मात्र कुरा गरेर पुग्दैन, भौतिक रूपमा पनि सडकमा उत्रिनै पर्छ । त्यसैले माइतीघरमा हुने भेला केवल नाराबाजी मात्र होइन, डिजिटल क्रान्तिको भौतिक अभिव्यक्ति पनि हुनेछ ।
यस आन्दोलनलाई समर्थन गर्नेहरू प्रशस्त छन् । काठमाडौँका मेयर बालेन शाहले खुलेर समर्थन जनाएका छन् । स्टार्टअप उद्यमी, कलाकार, सामाजिक अभियन्ता र शिक्षित युवाहरूले यसमा आफ्नो आवाज थपिरहेका छन् । सामाजिक सञ्जालमा असिममान सिंह जस्ता उद्यमीले ‘अब २०८४ सम्म कुर्नु हुँदैन, अहिले नै परिवर्तनका लागि उठ्नु पर्छ’ भन्दै भिडियो सन्देश दिएका छन्। लेखिका सरिता तिवारीले समेत यो आन्दोलन राजनीतिलाई कमाउने धन्दा बनाउने संस्कृतिलाई चुनौती दिन सक्षम बनोस् भन्ने आशा व्यक्त गरेकी छन् । समाजशास्त्री र राजनीतिक विश्लेषकहरूले यस आन्दोलनलाई नेपालमा नयाँ पुस्ताको चेतना जागरणको सूचकका रूपमा व्याख्या गरेका छन् ।

तर अर्को पाटोमा, यस आन्दोलनलाई लिएर चिन्ता र विवाद पनि छन् । कुनै स्पष्ट नेतृत्व नभएकाले आन्दोलन हाइज्याक हुने सम्भावनाबारे पनि चिन्तित देखिएको छ। राजनीतिक दलहरूले यसलाई आफ्ना स्वार्थअनुसार मोड्न खोज्न सक्ने डर छ । राजावादी आन्दोलन असफल भएपनि लामो समय जेल बसेर आएका दुर्गा प्रसाईले आन्दोलनमा सहभागी हुन आव्हान गरिरहेको छ । कतिपय नेताहरूले आन्दोलनलाई समर्थन गरे पनि युवाहरूले भने राजनीतिक दलको झण्डा वा नेताको अनुहारमुनि आन्दोलन नगर्ने अडान लिएका छन् । उनीहरू भन्छन् यो हाम्रो स्वतन्त्र आवाज हो, कुनै दलको कठपुतली होइन । यसले आन्दोलनलाई अझ विश्वसनीय बनाएको छ, तर अर्को पाटोमा नेतृत्वविहीन आन्दोलन लामो समयसम्म कति टिक्छ भन्ने प्रश्न पनि उठेको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भने यस आन्दोलनबारे आलोचनात्मक प्रतिक्रिया दिएका छन् । उहाँले यसलाई “प्रोभोक” अर्थात् उक्साहटको रूपकमा प्रस्तुत गर्दै, यो आन्दोलन देशमा अशान्ति मच्चाउने उद्देश्यका साथ सञ्चालन भइरहेको दाबी गरेका छन । उनले भनेका छन् कि राष्ट्रको स्वतन्त्रता थोरै व्यक्तिहरूको रोजगारीभन्दा ठूलो हो, कानुन उल्लंघन, संविधानको अवहेलना र राष्ट्रिय मर्यादा, स्वतन्त्रता र संप्रभुतामा आघात पुर्याउने गतिविधि स्वीकार्य हुन सक्दैन। ओलीका अनुसार सामाजिक सञ्जाल नियमन र नियन्त्रण गर्नु भनेको राष्ट्रिय स्वाधीनता जोगाउने उपाय हो, तर यसलाई आन्दोलनको नारा बनाएर युवा पुस्तालाई सडकमा ल्याउनु देशलाई अस्थिर बनाउने षड्यन्त्रको हिस्सा हो। यसरी प्रधानमन्त्रीको आवाजमा यो आन्दोलनप्रति अस्वीकृति मात्र होइन, आलोचना र चेतावनी पनि प्रस्ट देखिन्छ । साथै एमालेका नेता गोकुल बाँस्कोटाहरुले आन्दोलनलाई खुलेर समर्थन गरेपनि एमालेको एउटा समुहले यो आन्दोलन भारतको सहयोगमा हुन लागेको भन्दै प्रचार सुरु गरेको छ ।

प्रधानमन्त्रीको यस्तो भनाइपछि आन्दोलनकारी युवाहरू अझ क्रोधित भएका छन्। उनीहरू भन्छन् हामी कुनै विदेशीको इसारामा होइन, आफ्नै पीडा र अन्यायको विरुद्धमा सडकमा उत्रिएका हौं। हाम्रो आवाजलाई ‘उक्साहट’ भनेर खारेज गर्न खोज्नु देश र जनताप्रतिको ठूलो अपमान हो । उनीहरूका लागि ओलीको भाषणले आन्दोलनलाई कमजोर बनाउने होइन, अझै आगोमा घिउ थप्ने काम गरेको छ ।
नेपालमा युवाहरू लामो समयदेखि असन्तुष्ट छन् । बेरोजगारी, विदेश पलायन, शिक्षा र रोजगारीबीचको असमानता, स्वास्थ्य सेवाको अभाव, नेताहरूको भ्रष्टाचार, ठेकदार राजनीति—यी सबै कुराले युवाहरूलाई निराश बनाएका छन् । तर यसपटक उनीहरूले सामाजिक सञ्जाललाई हतियार बनाएका छन् । जेन जेड पुस्ताले यतिबेला सिर्जनशील रूपमा प्रतिरोध गर्ने र असमानतालाई प्रस्टै देखाउने जमर्को गरिरहेका छ् । सामाजिक सञ्जालमा बनेका मीम, भिडियो, व्यंग्य र ह्यासट्यागहरूले आन्दोलनलाई मजाक मात्रै होइन, गम्भीर प्रश्नका रूपमा उठाएका छन् ।
जेन–जेडको आन्दोलनले नेपालमा दुई किसिमको स्पष्ट संकेत गरेको छ । पहिलो, अब युवाहरूको राजनीतिक चेतना बदलिएको छ । उनीहरू केवल दलहरूको प्रचार वा चुनावी नारा सुन्ने मात्र होइन, आफ्नै जीवनअनुभवका आधारमा राजनीतिक प्रश्न उठाउने भएका छन् भने दोस्रो, डिजिटल शक्ति र सडक शक्ति जोडेर मात्र देशमा केह ीगर्न सकिन्छ भन्ने निश्कर्षमा पुगेका छन् । यसअघि युवाहरू सामाजिक सञ्जालमै सीमित हुन्छन् भन्ने मान्यता थियो, तर यो आन्दोलनले देखायो—जब उनीहरूको डिजिटल स्वतन्त्रता हरण गरिन्छ, उनीहरू सडकमा आउन सक्छन् । यसले आगामी वर्षहरूमा राजनीतिक नेतृत्वलाई ठूलो चुनौती दिनेवाला छ ।

युवाहरूले यस आन्दोलनमा केवल नाराबाजी मात्र गर्ने होइन, भ्रष्टाचारविरुद्ध, असमानताविरुद्ध र डिजिटल स्वतन्त्रताका पक्षमा स्पष्ट माग प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। उनीहरूले नेताहरूलाई सम्झाउनेछन्, अब २०८४ को निर्वाचनसम्म कुर्न सकिँदैन । परिवर्तन अहिले चाहिन्छ । यदि नेताहरूले यसलाई गम्भीरतापूर्वक लिएनन् भने, यो आन्दोलन अझ ठूलो आन्दोलनमा परिणत हुन सक्छ।
नेपालको राजनीतिक इतिहासमा युवाहरूले निर्णायक भूमिका खेलेका धेरै उदाहरणहरु छन् । २०४६ को आन्दोलनदेखि २०६२/६३ को जनआन्दोलनसम्म युवाहरू अग्रपंक्तिमा थिए । तर त्यो बेला नेतृत्व राजनैतिक दलसँग थियो । तर यसपटक भने फरक छ—यो आन्दोलन नेतृत्वविहीन छ र सामाजिक सञ्जालबाट उत्पन्न भएको छ । यसैले यसको स्वरूप अनौठो र शक्तिशाली दुवै हुने देखिन्छ ।
यदि यो आन्दोलन शान्तिपूर्ण, संगठित र प्रभावकारी हुन्छ भने यसले नेपालको भविष्यमा गहिरो छाप छोड्नेछ । यसले नेताहरूलाई आफ्ना सन्तानहरूको विलासी जीवनशैली मात्र होइन, आफ्ना भ्रष्ट अभ्यास र जनताप्रतिको जिम्मेवारीबोधबारे सोच्न बाध्य बनाउनेछ । युवाहरूले देखाएको यो आक्रोश केवल केही घण्टाको प्रदर्शन मात्र होइन, दीर्घकालीन राजनीतिक चेतनाको जग पनि हो ।
नेपालका जेन जेड युवाहरूले अहिले दिएको संदेश अत्यन्तै स्पष्ट छ—अब मौन बसिदैन, अब अन्याय सहिदैन, अब भ्रष्टाचार सहन सकिदैन। डिजिटल दुनियाँमै सीमित नभई सडकमा आवाज बुलन्द गर्दै उनीहरूले देखाएका छन् कि युवा पुस्ता अब नेतृत्व खोज्ने मात्र होइन, आफू नेतृत्व गर्ने अवस्थामा पुगेको छ । आशा गरै माइतीघर मण्डलामा हुने विशाल उपस्थितिले यसलाई पुष्टि गर्नेछ ।
यसरी हेर्दा, जेन जेड पुस्ताको आन्दोलन केवल एउटा दिनको कार्यक्रम होइन, यो नेपालको राजनीतिक भविष्यको नयाँ दिशा हो । असमानताविरुद्धको लडाइँ, डिजिटल स्वतन्त्रताको पक्षमा उठेको स्वर, र भ्रष्टाचारविरुद्धको प्रतिरोध—यी सबैले नेपालमा नयाँ पुस्ताको युगको सुरुवात भएको देखाउँछ । यदि नेताहरूले यसलाई सुन्ने हिम्मत गरेनन् भने, अब आउने दिनमा अझ ठूलो र अझ सशक्त आन्दोलनहरूको सामना गर्न तयार रहनुपर्नेछ ।