
धादिङबेँसी स्थित निजी विद्यालय एड्भान्स एकेडेमीको प्रि-प्राईमरी फेस्टिबल आज शुक्रबार भव्य कार्यक्रम आयोजना गरी मनाइएको छ ।
हरेक वर्ष मनाउँँदै आएकाे प्रि-प्राईमरी फेस्टिबलमा यस वर्षपनि प्ले ग्रुप देखि यूकेजी सम्मका साना साना नानीबाबुहरूको विविध प्रस्तुतिहरू सहित अभिभावकहरूको उत्साहजनक सहभागितामा सम्पन्न गरिएको हो ।
उक्त प्रि-प्राइमरी फेस्टिबल विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठको अध्यक्षतामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री प्रसाद तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो भने विद्यालयकी शिक्षिका विष्णुमाया श्रेष्ठले उद्घोषण गर्नुभएको थियो ।
विद्यालयले माथिल्ला कक्षाका विद्यार्थीहरूका लागि अनेक गतिविधिहरू नियमित रूपमा सञ्चालन गरिरहेको परिप्रेक्षमा प्रिस्कुलका विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूलाई लक्षित गरी हरेक वर्ष एक दिन भव्य कार्यक्रमबिच प्रि-प्राइमरी फेस्टिबल मनाउने गरेको विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठले धादिङपोष्टलाई बताउनुभयो ।

यस एड्भान्स प्रि-प्राइमरी फेस्टिबल विशेषत: स-साना विद्यार्थीहरूलाई ज्ञान, सिप र व्यवहार सिकाउनका लागि आयोजना गरिन्छ । कार्यक्रममा प्रि-स्कुलका हरेक विद्यार्थीहरूले आफ्ना अभिभावकहरूको उपस्थितिमा नृत्यकला, वक्तृत्वकला, कथा वाचन, नाटक मञ्चन लगायतका विविध प्रस्तुति दिएका थिए ।
जिल्लामा खेलकुद र अतिरिक्त क्रियाकलाप र गतिविधिमा आधारित सिकाइको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल एड्भान्स एकेडेमीले हरेक वर्ष प्रि-प्राइमरी फेस्टिबलमा प्रि-स्कुलका विद्यार्थी र उनीहरूका अभिभावकहरूको पिकनिक कार्यक्रमलाई पनि सँगै जोड्दै आइरहेको छ ।
