
धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले स्थानीय तहबाट छानिएर आएका खेलाडीहरुलाई असार २० र २१ गते जिल्ला छनोट गर्दै विभिन्न ५ विधा खेलहरुमा ९० जना भन्दा बढी खेलाडीहरु प्रदेशका लागि खेलाडी पठायो । विद्यालय स्तरीय यस प्रतियोगितामा धादिङबाट प्रदेशमा असार २५ र २६ मा उत्कृष्ट खेल प्रदर्शन गर्दै १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता खेल्ने अवसर समेत पाए ।
बागमती प्रदेशबाट केन्द्रीय छात्रा भलिबल प्रतियोगितामा च्याम्पियन बन्दा नीलकण्ठ नगरपालिकाबाट प्रदेश हुँदै बागमती प्रदेशबाट केन्द्रीय प्रतियोगितामा गंगा गुरुङले गोल्ड मेडल जित्न सफल भईन । उनको बहिनी जमुना गुरुङ पोखरा पढ्ने हुँदा उनी गण्डकी प्रदेशको क्याप्टन बन्दै केन्द्रीय प्रतियोगितामा सहभागि बनेकी थिईन् । छात्रावलमा गण्डकी तेस्रो बन्दा क्याप्टेन जमुना कास्य जित्न सफल भईन् ।
यस्तै छात्रा भलिबल मै धादिङ थाक्रे निवासी भावना तामाङले काठमाडौंबाट खेल्दा गोल्ड मेडल जित्न सफल बनिन् उनी काठमाडौंमा पढ्ने हुँदा काठमाडौबाट प्रदेश हुँदै केन्द्र खेलेकी थिईन् । धादिङ घर भएका तर अन्यत्र पढ्ने यी दुई खेलाडीलाई धादिङ भलिबल संघले नोटिसमा राख्नु पर्ने र जिल्ला टिम बन्दा उनीहरुलाई समेट्नु पर्ने धादिङका भलिबल प्रशिक्षक सन्दिप थापा बताउँछन् । प्रशिक्षक थापाका अनुसार धादिङका मिलन घलेले बागमती प्रदेशबाट छात्र भलिबल खेल केन्द्रमा खेल्ने अवसर पाए तर मेडल भने बागमती प्रदेशले गुमायो ।
यस्तै धादिङबाट छनोट भई प्रदेशबाट केन्द्रिय छात्रा कबड्डी प्रतियोगिता खेलेका बेनीघाट रोराङका देवकी दर्लामी र लक्ष्मी आले मगरले बागमती प्रदेश तृतिय हुँदा कास्य पदक जित्न सफल भए । यस्तै बागमती प्रदेशबाट तेक्वान्दोमा केन्द्रिय प्रतियोगितामा भिडेका पावल तामाङले कास्य पदक जित्न सफल भएका छन् ।प्रतियोगिता सकिए सँगै धादिङका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेकोमा आफूलाई गर्व लागेको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बताएका छन् । धादिङका सबै स्थानीय तह खेलकुद विकासमा अझै गम्भीर बने थप नतिजा निकाल्न सकिने उनी बताउँछन् ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा असार २८ गतेबाट काठमाडौंमा सम्पन्न १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कराँते, तेक्वान्दो र उसुमा बागमती प्रदेश टिम च्याम्पियन बने पनि अंक स्कोरको आधारमा लुम्बिनी प्रदेशले च्याम्पियन ट्रफी जितेको थियो ।
प्रतियोगितामा ६ खेल समावेश यस प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य पदक जित्दै प्रथम, वाग्मती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कांस्य सहित बागमती दोस्रो, ८ स्वर्ण, ९ रजत र ८ कांस्य सहित सुदूरपश्चिम प्रदेश तृतिय बनेको थियो ।
