धादिङका माओवादी नेताहरु अम्बिका, जितमान र शान्तिको आजैका दिन हत्या भएको थियो

Avatar photo
शुसिला रिजाल
चैत्र १६, २०७८

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका स्थित मुरलीभञ्ज्याङमा आजैका दिन अर्थात २०५८ साल चैत्र १६ गते तात्कालिन शाही सेनाले धादिङका ३ जना माओवादी नेताहरुलाई हत्या गरेको थियो ।

नेपाल बन्दको प्रचारको पोष्टर टाँस्न जाँदै गर्दा माओवादी धादिङका यी ३ जना नेताहरु अम्बिका बस्नेत सरला नीलकण्ठ नगरपालिका, जितमान श्रेष्ठ आगिञ्चोक, शान्ति पाण्डे आगिञ्चोकलाई शाही सेनाले मुरली भञ्ज्याङ्गको ज्यामिरमा घेराहाली गिरफ्तार पछि ज्यामिरे तल जंगलको मन्दिरमा लगी चरम यातना दिएर गोली हानेर हत्या गरेको थियो ।

माओवादी केन्द्र धादिङको त्यतिबेलाको दस्तावेजमा अम्बिका बस्नेतलाई ज्यामिरे तल जंगलको मन्दिरमा लगी बलत्कार पछि शाही सेनाले गोली हानी हत्या गरेको उल्लेख छ ।
अम्बिका बस्नेतले सहादत हुनुपूर्व परिवारलाई लेखेको पत्र यस्तो छ ।
आदरणीय दाजु भाउजू
युद्ध मैदानबाट न्यानो सलाम
साथै सानो भाइमा न्यानो माया छ ।

समयको भेलसँगै बगिरहेको जीन्दगीमा म आफ्नो दुःख कष्टहरुलाई सुखमा परिणत गरिरहेको छु । मैले सोचेकी छु, त्यहाँ तपाईंहरु पनि आफ्ना संघर्षशील जीन्दगीमा आरामै हुनुहुन्छ होला । दाइ मान्छे भएर जन्म लिइसकेपछि उसले यस धर्तीमा बाँच्नको लागि अर्थात गाँस, बास र कपासको लागि विभिन्न संघर्ष गर्न पर्दो रहेछ ।

त्यसैले मैले पनि म र मेरो शब्दबाट हामी र हाम्रो बनाउनको लागि विभिन्न बस्ती–बस्ती र गाउँघर उकाली–ओराली, भीर–पाखा दिन रात आदिमा छिप्दै अनेकौँ कठिनाईहरुसँग जुध्दै र वर्र्ग वैरी दुस्मनको घेरा तोड्दै कतै छिप्दै तमाम सर्वहारावर्गहरुको मुक्तिको लागि संघर्ष गरिरहेछु र मैले सोचेकी छु तपाईं पनि आफ्नो वर्गको वर्ग विश्लेषण गर्दै आफूलाई कुन वर्ग भित्र परिन्छ त्यही वर्गको पक्षमा वकालत तथा कार्य गरिरहनु भएको होला भन्ने सोचेको छु ।

दाइ, ब्रमाण्डमा जति पनि जीवहरु छन् ती मध्ये उच्च चेतनशील प्राणी मानिस नै हो र मानवसमुदायमा सर्वश्रेष्ठ जाति भनेको कम्युनिष्ट नै हो । कम्युनिष्टले नै सर्वहारा र श्रमीकको पक्षमा अर्थात हीतमा राज्यसत्ता चलाउँदछ । जसमा सम्पूर्ण जनताले गाँस, बास र कपासको ग्यारेण्टी पाउँछन् । त्यसैले म जहाँ जान्छु त्यहाँ कम्युनिष्ट बनाउँछु । हुन त कम्युनिष्ट बन्नु त्यति सजिलो कुरो होइन किनभने अझै नेपालीहरुमा पेटी बुर्जुवा चिन्तन छ र स्वार्थ छ जुन माक्र्सवाद, लेनिनवाद र माओवादको वर्ग दुश्मनको रुपमा चिनिन्छ । किनभने क्रान्तिका कुरा गर्छन् ।

सर्वहारावर्गको अधिनायकत्वमा श्रमीक वर्गको शासन हुनुपर्दछ भन्छन् तर क्रान्तिमा हिँड्न डराउँछन् । उनीहरु चाहन्छन्, हाम्रा कुनै सन्तान थुनिन, जेलमा पर्न, रगत बगाउन हुँदैन र त्यसदेखि डराउँछन् । उनीहरु केवल मौखिक क्रान्तिकारी हुन्छन् अर्थात घरमा बसेर आफूलाई क्रान्तिकारी सोच्दछन् । त्यसैले उनीहरु माक्र्सवाद विरोधी हुन् किनभने माक्र्सवाद भनेको विज्ञान हो । विज्ञानले प्रयोग खोज्दछ । हो, मानवमा पनि दुई वर्ग छ । एउटा शोषक र अर्को शोषित वर्ग जसमा राज्यसत्ता प्राप्ति गर्न निर्मम क्रान्ति गर्नुपर्दछ भनेर माक्र्सले बताउनुभएको छ ।

वास्तविक माक्र्सवादी तिनै हुन् जो संघर्ष गर्दछ । हुन त क्रान्तिमा विभिन्न खालका मान्छे आउँछन् जसमा सिआइडि, गद्दार मान्छे पनि हुन्छन् । जसले क्रान्तिलाई निर्मम आक्रमण गर्दछन् । धोका दिँदै सिद्धान्तमाथि ओभरह्वेल्म गर्दछन् । यस्ता गद्दार र सिआइडिहरुका विरुद्धमा सच्चा क्रान्तिकारीहरु सचेत हुनुपर्दछ र उनीहरुबाट बच्नु पर्दछ । किनभने उनीहरुले क्रान्तिलाई ध्वस्त पार्नको लागि विभिन्न कुटिल चालहरु चाल्दछन् ।

यसैले हामीले त्यस्ता ब्वाँसाहरुबाट सतर्क हुँदै क्रान्ति विजयको टुंगोमा नपुुगेसम्म सतर्क हुनुपर्दछ । पार्टीभित्र र आफूभित्र आत्मसंघर्ष र अन्तरसंघर्ष चलाइरहनु पर्दछ । दाइ तपाईंलाई थाहा छ हामीहरु जनयुद्ध लडिरहेका छौँ । हामीलाई विश्वास छ, यो देशमा शोषकहरुको दमन र खुनि पञ्जा एक दिन खतम पारिने छ र पुरानो ध्वंस र नयाँको निर्माण हुनेछ । रातो लाल किरणले देशै रातो पार्नेछ । जनताको सुदिन आउनेछ र जनतामा हौसला हुनेछ र त्यतिबेला मात्र हाम्रो क्रान्ति रोकिनेछ ।

दाइ, मैले सोचेकी छु, सानो बाबुले जब बोल्न सिक्नेछ त्यतिबेला महान शब्द क्रान्ति र कमरेड भनेर बिस्तारै सिकाउनुहुनेछ र क्रान्तिको गीतको धून सुनाउँदै नवजात शिशुबाटै सच्चा क्रान्तिकारी बनाउनुहुनेछ भन्ने आशा गरेकी छु । अर्को के आशा गरेकी छु भने, दाइ पनि महान सहिदहरुले देखाएको बाटोमा लामबद्ध र गोलबन्द हुँदै क्रान्तिलाई सहयोग गर्नुहुनेछ भन्दै कलम बन्द गर्दछु । हस्त लाल सलाम ।
२०५६ असोज
उही बहिनी
अम्बिका बस्नेत

अम्बिका बस्नेत (क.सरला) को संक्षिप्त जिवनी
धादिङ जिल्ला साविकको निलकण्ठ ६ साँखुमा पदम कुमारी बस्नेत र बुबा तिलक ब. बस्नेत (जनयुद्धको क्रममा सहदत) का दोस्रो सुपुत्रीको रुपमा वि.स. २०४० साल असार २ गते शहिद अम्बिका बस्नेत सरलाको जन्म भएको थियो । उनको एक दिदी, एक बैनी र एक भाई छन् । निकै तिृष्ण दिमागकी अम्बिकाको घर नजिकैको महेन्द्र उ.मा.वि. निलकण्ठ साँखुबाट नौं कक्षा सम्मको अध्ययन पुरा भएको थियो । विद्यार्थी जिवनमा अखिल क्रान्तिकारीको इकाइमा आबद्ध सामान्य किसान परिवारमा जन्मेकी अम्बिकाको बाल्यकाल निकै संघर्ष पुर्ण रहयो ।
घर नजिकै सदरमुकाम भएकोले पार्टीको चिठ्ठीपत्र सरसामान बजारबाट ल्याउने लैजाने गर्ने क्रममा सेना प्रहरीले निग्रानी गर्न थालेपछि अम्बिका बस्नेत २०५६ साल मंसिरमा ९ कक्षामा पढ्दा पढ्दै माओवादी जनयु्द्धमा होमिएकी थिईन । अम्विका २०५७ मा अ.ने.म.संघ (क्रान्तिकारी) धादिङ्गको सचिव बन्दै २०५८ मा एरिया कमिटी सदस्य तथा उप ईलाका सह ईन्चार्जको समेत भुमिका निभएकी थिईन् ।

२०५८ मै स्क्वायड कमिसार बन्न सफल सरला आधारभुत फौजी तालीम देखि विभिन्न राजनैतिक प्रशिक्षण लिए सँगै दार्खा चौकि, तारुका चौकि लगाएत थुप्रै सेवोटेज, फायर जुलुसमा सहभागी हुँदै कुशल नेतृत्वको भुमिका निभाएको माओवादी दस्तावेजमा पढ्न पाइन्छ । नेपाल बन्दको प्रचारको पोष्टर टाँस्न जाँदै गर्दा मुरली भञ्ज्याङ्गको ज्यामिरेमा शाही सेनाले घेरा हालि गिरफ्तार गरि तल जंगलको मन्दिरमा लगी बलत्कार पछि २०५८ साल चैत्र १६ गते उनको हत्या भएको थियो ।