धादिङबाट फर्किए खेलकुद मन्त्री, खेलकुद शब्द समेत उच्चारण गरेनन्

धादिङ । धादिङका चर्चहरुको संयुक्त आयोजनामा भएको ख्रीस्टमस चार्ड विशेष शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि बनेर आएका बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री तथा माओवादी केन्द्र बागमती प्रदेशका नेता रत्न प्रसाद ढकालले कार्यक्रममा खेलकुद शब्द समेत उच्चारण नगरि धादिङबाट फर्किएका छन् ।

कार्यक्रम जे भएपनि भाषणको शिलशिलामा खेलकुदको विषयमा केहि कुरा राख्लान भनेर कार्यक्रम हलमा पुगेका खेलप्रेमीहरु खेलकुद मन्त्रीले खेलकुदको नाम समेत उच्चारण नगरेपछि खिन्न बनेका थिए । प्रदेश स्तरीय खेलकुद प्रतियोगिता हुँदैछ, जिल्लामा खेलकुद विकासका बारेमा केहि न के बोल्लान कि भन्ने प्रतिक्षामा रहेका खेल प्रेमीहरुलाई मन्त्रीको भाषणले चित्त बुझाएको थिएन ।

मन्त्रि ढकालले खेलकुदको विषयमा केहि नबोले पनि माओवादी जनयुद्ध र जनआन्दोलनको उपलब्धी मध्य धर्म निरपेक्षता पनि एक रहेको र आज सबै धर्मले आ आफ्नो गतिविधि गर्न पाएको बताएका थिए । आफु भौतिक वादी भएपनि धर्म विश्वास हो सबैलाई समान रुपले हेर्ने गरेको बताएका थिए ।

उनले ख्रीस्टमसको शुभकामना दिने क्रममा धादिङले प्रदेश चुनाव भएदेखि आज सम्म मन्त्री पाउने गरेको र अहिले त मुख्यमन्त्री र अर्थ मन्त्री नै पाएकोले धादिङ भाग्यमानी जिल्ला रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल ख्रीस्टियन महासङ्घ केन्द्रका केन्द्रिय अध्यक्ष सिपि गहतराज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेता रामबहादुर भण्डारी, एकीकृत नेकपा समाजवादीका जिल्ला अध्यक्ष गुरु प्रसाद बुर्लाकोटी, एमाले धादिङका सचिव अर्जुन गोर्खाली नीलकण्ठ नगरपालिका उपमेयर मनराज भण्डरी विभिन्न राजनीतिक दलका नेताहरुको आतिथ्यता रहेको थियो ।