
धादिङ कार्तिक १८ । धादिङ पर्यटन र कृषिको उर्वर भूमि हो । आज काठमाडौंबाट नजिक आन्तरिक तथा वाह्य पर्यटकिय गन्तव्य भुमिचुलीको बारे जानकारी गराउन चाहान्छौं ।
पर्यटन क्षेत्रको रुपमा विकास हुँदै गरेको भूमिचुली थाक्रे गाउँपालिका वडा नम्बर ३ मा पर्दछ ।
अरू पहाडहरू भन्दा अग्ला दुईवटा पहाडहरू रहेका छन् जहाँ हरेक वर्ष भूमिचुलीको जात्रा लाग्ने गर्दछ । पृथ्वी राजमार्गमा पर्ने महादेवबेँसी बजारबाट करिब एक घण्टा मोटरसाइकल वा अन्य सवारी साधनबाट यात्रा गरेर सजिलै पुग्न सकिने यस क्षेत्र ज्यादै शान्त र सुन्दर भएकोले पनि आन्तरिक तथा वाह्य पर्यटकहरु भूमिचुली पुग्ने गर्दछन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्र पहाडको उच्च भागमा पर्ने भएकोले वरपरका धेरै हिमश्रृङखलाहरू सजिलै देख्न सकिन्छ । हरिया वन जङ्गलहरूको दृश्य अवलोकन गर्न सकिने यस क्षेत्रमा फागुन महिनामा पाखा नै रातो देखिने गरी लालीगुराँस फुल्छन् । त्यसैले यो क्षेत्र पर्यटकहरूका लागि एउटा राम्रो गन्तव्य बन्न सुरुगरेको छ । यहाँको सम्भावनालाई मध्यनजर गरी पर्यटन क्षेत्र घोषणा गरिएको हो ।
बि.स.२०६४ साल ताका पर्यटन क्षेत्र घोषणा भए पश्चात त्यहाँसम्म पुग्नका लागि सडक बिस्तार र स्तरीकरणको क्रममा पानी ढुङ्गासम्मको सडकको डीपीआर तयार भइसकेको भैरवी सामुदायिक विकास समाजका पुर्व अध्यक्ष तथा नेकपा थाक्रेका गाउँपालिका कमिटि सदस्य निकेश तामाङ बताउनु हुन्छ ।
उहाँका अनुसार भूमिचुली क्षेत्रको उत्थानका लागि विभिन्न कार्यक्रमहरू समेत आयोजना हुने गरेको छ । जस अन्तर्गत हरेक वर्ष बैशाख १ गते चुलीमा नेपालको राष्ट्रिय झण्डा राख्ने तथा फेर्ने कार्यक्रम आयोजना गरिँदै आएको छ ।

यस भूमिचुली पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्टकहरूको आवागमनलाई सहज बनाउन गाउँपालिकाको पहलमा चुलीसम्म नै सडक बिस्तार भइसकेको छ । त्यसैगरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत पैदलयात्रीहरूका लागि माथि चुलीसम्म जान सिँढीहरूको निर्माण गरिएको छ ।
यस क्षेत्रमा पर्यटन प्रवर्तनका निमित्त एउटा समिति बनाई विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ । जसमा हाल स्थानीय मेहेरमान तामाङ अध्यक्ष हुनुहुन्छ ।,
उक्त क्षेत्रका लागि २०६५ सालदेखि नै तत्कालीन गाउँ विकास समितिबाट वार्षिक ५० हजार रुपैयाँका दरले छुट्याइन्थ्यो । त्यसै क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरी सो रकमको सदुपयोग गरिन्थ्यो ।
पर्यटन क्षेत्रको प्रचारप्रसारका लागि गरिने ती साँस्कृतिक कार्यक्रमहरूमा योजना आयोगका पदाधिकारीहरू, राजनीतिक दलका नेताहरू तथा मन्त्रीहरूलाई समेत आमन्त्रित गरिन्थ्यो ।
अथाह पर्यटकीय सम्भावना बोकेको यो महत्वपूर्ण क्षेत्रको प्रवर्तनमा धेरै समस्याहरू पनि छन् ।
एकातर्फ स्थानीय बासिन्दाहरू पर्यटन क्षेत्रको विकासका लागि पहल गर्न सकि रहेका छैनन्, भने अर्कातर्फ स्थानीय सरकार तथा सरोकारवाला निकायहरू पनि पर्यटन क्षेत्रको विकासका लागि योजनाबद्ध ढङ्गले अघि बढिरहेको देखिँदैन । यसकारण प्रचुर सम्भावना रहेता पनि यस क्षेत्रमा भएको विकास सन्तोषजनक देखिँदैन ।
अहिले पछिल्लो समय भने धादिङका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनीधिले समेत भुमिचुलीको पर्यटकिय प्रवद्र्धनका लागि एकतावद्ध भएर लागेको बताउने गरेका छन् ।
