धादिङ नीगालपानीमा १५ लाखमा बनेको हरित बालपार्क

Avatar photo
नारायण सिलवाल
साउन ३१, २०७७

धादिङ साउन ३१ । धादिङको नीलकण्ठ नगरपालिका ९ स्थित नीगालपानी सल्लाघारी लहरेपाखा सामुदायीक वन क्षेत्रमा डिभिजन वन कार्यालय धादिङले हरित बालपार्क बनाएको छ ।

१५ लाख खर्च गरि हरित बालपार्क बनाउँदा आर्थिक अनियमिता भएको हुन सक्ने स्थानीयबाट गुनासो आएपछि हामीले उक्त पार्क निमार्णबारे चासो राखेका छौं ।

पार्क बनेको स्थान भन्दा माथिल्लो गरामा खेल मैदान बनाईएको छ । उक्त खेल मैदान बनाउने क्रममा खेल मैदान उपभोक्ता समितिले उसैको पैसाले बालपार्कको जग्गा समेत सम्याई दिएको थियो ।

बालर्पाक उपभोक्ता समिति अध्यक्ष दुर्गा दुवाडी र डिभिजन वन कार्यालय धादिङले स्टमेट अनुसार नै काम भएको बताए पनि बालपार्क निमार्णमा स्टमेट अनुसार काम भएको देखिएको छैन ।

खेलकुद सामाग्रीका लागि मात्र ४ लाख ४१ हजार उक्त बजेटमा विनियाजन गरेको देखिए पनि दुईवटा खेल उपकरण मात्र त्यहाँ देख्न सकिन्छ । जसको मुल्य नेपालमा ४ लाख ४१ हजार पर्दै पर्दैन । यस विषमा हाम्रो प्रश्नमा वनका सूचना अधिकारी टेन्डरबाटै उक्त दुईबटा खेल सामाग्री किनेको बताउँनु हुन्छ ।

यस्तै पार्कमा १ हजार विरुवा लगाईने जसमा २० भन्दा बढी किसिमका विरुवाहरु वृक्षारोपण गरिने स्टमेटमा उल्लेख भएपनि विरुवा भने अहिले सयवटाको हाराहारीमा देखिन्छ भने उल्लेख गरिएका सबै किसिमका पनि छैनन् ।

उक्त पार्क बनाउन वन कार्यालयको तर्फबाट १३ लाख ८० हजार र उपभोक्ता समिति मार्फत जन श्रमदान ५४ हजार २३२ खर्च भएको बताईए पनि उक्त रकम बमोजिमको कार्य भएको देखिँदैन ।

काममा अनियमित भए जस्तो लाग्दैन नीलकण्ठ नगरपालिकाको प्राविधिक सहयोगमा उक्त काम भएको हो, प्राविधिक स्टमेट अनुसार कार्य सम्पन्न भएको प्राविधिकले भुक्तानीका लागि सिफरिस गरेपछि उपभोक्ता समितिलाई उक्त रकम भुक्तानी गरिएको वन कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलले धादिङपोष्टलाई बताउनु भयो ।