
धादिङ असार १० । बेनीघाट गाउँपालिकाले आयोजना गरेको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा खेलकुद तथा मनोरञ्जन शिर्षक दिएर प्राथमिकताका साथ तीन बुँदा समेटीएको छ ।
गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) द्वारा प्रस्तुत गरिएको उक्त नीति तथा कार्यक्रमको बुँदा नम्बर २१मा “स्वास्थयका लागि खेलकुद, खेलकुदका लागि स्वास्थ्य” भन्ने मुल सन्देशलाई साकार गर्न युवाहरुलाई लक्षित गरी वडा स्तरमा भैरहेका युवा तथा खेलकूद विकास समितिलाई थप सक्रिय बनाउदै गाउँपालिकास्तरीय खेलकुद विकास समिति गठन गरि कार्यान्वयन गर्न पहल गरिनेछ । विद्यार्थीहरुमा स्वस्थ्य प्रतिस्पर्धी खेलकुदका साथै उनीहरुमा भएको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ भनिएको छ ।
यस्तै बुँदा नम्बर २२ मा स्वस्थ, अनुशासन र राष्ट्रिय गरिमाका लागि खेलकुद र खेलाडीको प्रवर्द्धन गर्न कम्तिमा एक वडा एक खेलकुद मैदान निर्माण गर्ने नीति अवलम्बन गरिनेछ भने सामुदायिक विद्यालयका खेलकुद मैदानको स्तरोन्नति गर्ने नीति लिइनेछ । साथै वडा नं. ५ मा निर्माणाधीन क्रिकेट रंगशालाको निर्माण कार्यलाई तदारुकताका साथ अघि वढाईने छ ।
खेलकुद शिर्षकको अन्तिम बुँदा २३ विद्यालय तहमा राष्ट्रपति रनिङशील्ड, क्रिकेट कप, मजदुर सहीद स्मृति खेलकुद कप, मदन भण्डारी फुटवल कप प्रतियोगिता लगायतका विविध विधामा पालिका स्तरीय खेलकुद कार्यक्रम सञ्चालन गरी खेलाडीको पहिचान र क्षमता विकासको अवसर प्रदान गरिनेछ भने गाउँपालिकाको केन्द्रमा एक कवर्डहल निर्माणको लागि सम्भाव्यता अध्ययन गरिनेछ उल्लेख गरिएको छ ।

