
धादिङ चैत्र २५ गते । कोरोना भाईरसको संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनको मारमा परेका मजदुरहरुलाई नीलकण्ठ नगरपलिकाले खाद्यान्न रहात नदिने तर बिहान बेलुका सबै वडामा मेस चलाएर दालभात खुवाईने नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले बताएका छन् ।
आईतबार सम्पन्न कार्यपालिकाको वैठकले नै लकडाउनका कारण खाद्यान्नमा समस्या परेका श्रमिक, असहायहरुलाई १४ वटै वडामा बिहान बेलुका निःशुल्क भोजनको ब्यवस्था गर्ने निर्णय गरे अनुसार बुधबारबाट दालभात तरकारी खुवाईन लागेको प्रमुख ढुङ्गाना बताउँछन् ।
नीलकण्ठको यो अभियानलाई आज धादिङबेसीमा सम्पन्न धादिङ उद्योग वाणिज्य संघको बैठकले समेत सघाउने निर्णय गरेको छ । नीलकण्ठको यस अभियानलाई धादिङ उद्योग वाणिज्य संघले १५ बोरा चामल, १ बोरा दाल र २०० केजे तरकारी दिने निर्णय समेत गरेको वैठकमा सहभागिले बताए ।
लकडाउनमा सामुहिक भोजन गर्ने राहत मापदण्डमा छैन, -मन्त्री शालिकराम जमट्टेल
नीलकण्ठ नगरपालिकाले श्रमिक, असहायहरुलाई सामुहिक भोजन गर्ने कुरा आफुलाई जानकारी नभएको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकाराम जमकट्टेलले बताए ।
मुलुक अहिले लकडाउनमा छ, सबै नागरिकहरुलाई घरभित्र बस्न सरकारले आव्हान गरिरहेको अवस्थामा राहत वितरण मापदण्डमा सामुहिक भोजनको कुरै नआउने भन्दै यस विषयमा थप के हो बुझ्ने धादिङपोष्टलाई बताए ।
हामीलाई जानकारी छैन -प्रमुख जिल्ला अधिकारी
अहिले अकडाउनको अवधी हो, लकडाउनमा के गर्न हुन्छ के गर्न हुँदैन स्थानीय सरकारलाई अवगत नै छ, नागरिकलाई घरबाट बाहिर ननिस्कन आव्हान गरि रहेका छौं । यो अवस्थामा सामुहिक भोजनको लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको कुरा गलत हो ।
