चैते दशैंको महत्व

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ४, २०८१

काठमाडौं । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइँदैछ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । नेपाली चाडपर्वमा चैते दशैंको पनि महत्त्वपूर्ण स्थान रहेको छ ।असोजमा मनाईंने दशैंलाई बडादशैको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं ।

पुराना कथनहरुका अनुसार पहिले–पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछी दशैंलाई वर्षको मध्यमा सारिएको मान्यता छ । यो चैते दशैं शरद ऋतुमा मनाइने बडा दशैंमा जस्तो बाहिरी उल्लास र चहल पहल नभए पनि समग्रमा उल्लासमय हुने गर्दछ । यस दिन दुर्गा भवानीको पूजाआजा गर्ने र खास गरेर अष्टमी तिथिको दिन आफन्तजनसँग बसेर सँगै खानपिन गर्ने र भगवान राम जन्मेको तिथि रामनवमी विशेष उल्लासकासाथ धार्मिक अनुष्ठानमा संलग्न भई यो पर्व मनाउने गरिन्छ । चैते दशैंलाई कतिपय ठाँउमा सानो दशैं भन्ने चलन पनि छ ।

चैत दशैंको दिन अशोकको फूल खानाले रोग आदि नाश हुन्छ भन्ने जनविश्वास रहीआएको छ । आजकै दिन मर्यादा पुरूषोत्तम श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिरेको मानिन्छ । आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको वध गरेका थिए । यसरी रावणको वध गर्नका लागि देवी दुर्गाले रामलाई मद्दत गरेकी थिइन् ।

आज राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ । चैते दशैंका दिन उनीहरुको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथी सत्यको जितको रुपमा चैते दशैं मनाएका हुन् भन्ने सामाजिक मान्यता छ । आजका दिन छोरी चेली लगायत दिदी बहिनीहरुलाई बोलाएर खुवाउने चलन पनि गाउँघरमा रहेको छ । पछिल्लो समयमा चाडपर्वको रौनकता र महिमा घट्दै गए पनि गाउँघर तिर भने उत्तिकै महत्व रहेको छ ।