धादिङमा एमसीसीले १४१ टावर बनाउँदै, के हुँदैछ काम ?

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३०, २०८०

धादिङ । नेपाल सरकार र अमेरिकी सरकारको एमसीसी बीच भएको सम्झौता अनुसार एमसीसी परियोजना अन्तरगत धादिङको ६ वटा स्थानीय तहको १७ वटा वडाहरुमा प्रशारण लाइनको १४१ टावर बन्ने भएको छ ।

एमसीसीले धादिङका कुन पालिकाका कति टावर बनाउँदै छ ?

  • थाक्रेमा (वडा नं १, २ र ३) २० वटा
  • गल्छीमा (वडा नं २, ३ र ८) २५ वटा
  • सिद्धलेकमा (वडा नं ६ र ७) २१ वटा
  • गजुरीमा (वडा नं २) १० वटा
  • बेनिघाट रोराङमा (वडा नं ३, ४, ५, ६, ७, ८, ९ र १०) ५८ वटा
  • नीलकण्ठमा (वडा नं ५) ७ वटा

धादिङमा भई रहेको पछिल्लो कामको अपडेट बारे एमसीसी परियोजनाका प्रतिनिधि सँग गरिएको कुराकानी ।

१. धादिङमा यस परियोजनाले अहिले के काम गर्दैछ ?
एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत् प्रसारण आयोजना कार्यान्वयनलाई सहज रूपमा सम्पन्न गर्नका लागि पूर्वतयारी चरण अन्तर्गत जग्गा अधिग्रहणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुका साथै रुख गणनाको काम हुँदैछ । यसका अतिरिक्त, आयोजनाको पूर्वतयारीका सन्दर्भमा विभिन्न सरकारी कार्यालय, स्थानीय सरकार एवं आयोजना प्रभावित स्थानीय जनतासँग सहकार्य गरिँदै छ ।

२. धादिङमा मुआब्जाको काम कहाँ पुग्यो ?
एमसिए-नेपाल हाल प्रसारण लाइनको टावरहरूको निर्माणका लागि आवश्यक जग्गा प्राप्तिका लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ अनुसारको सूचना निकाल्ने प्रक्रियामा छ । यो प्रक्रिया सम्पन्न भई जग्गा प्राप्त गर्ने चरणमा पुगेपछि मात्रै मुआब्जा वितरणको कार्य अगाडि बढाइने भएकोले हाल मुआब्जा वितरण सुरु भइसकेको छैन ।

३. धादिङमा मुआब्जा वितरणमा कुनै ठाउँमा समस्या आएको छ कि ?
हाल मुआब्जा वितरण कार्य सुरू भई नसकेकोले त्यस्तो कुनै समस्या आएको छैन र उक्त प्रक्रिया सुरु भएपछि पनि कुनै समस्या नआउने अपेक्षा गरिएको छ ।

४. धादिङमा हुँदै गरेको कामका विषयमा छिटो र सहज ढङ्गले बुझ्न कुनै फोकल पर्सन तोकिएको छ कि छैन ?
छ । धादिङ जिल्लामा एमसिए – नेपालको जिल्ला सम्पर्क कार्यालय जिल्ला समन्वय समितिको कार्यालयभित्र अवस्थित छ र सम्पर्क अधिकारीका रूपमा मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिको कर्मचारी श्री सरोज तिवारी हुनुहुन्छ ।

५. धादिङमा कुन पालिका र ठाउँमा कति वटा टावर बन्न लागेको हो ?
विद्युत् प्रसारण आयोजना अन्तर्गत धादिङ जिल्लाको गल्छी गापा (वडा नं २, ३ र ८) मा २५ वटा, थाक्रे गापा (वडा नं १, २ र ३) मा २० वटा, नीलकण्ठ नपा (वडा नं ५) ७ वटा टावर, सिद्धलेक गापा (वडा नं ६ र ७) मा २१ वटा, गजुरी (वडा नं २) मा १० वटा र बेनिघाट रोराङ गापा (वडा नं ३, ४, ५, ६, ७, ८, ९ र १०) मा ५८ वटा निर्माण गर्ने योजना छ । यसरी धादिङ जिल्लामा जम्मा १४१ वटा टावर निर्माण गरिनेछ । आयोजना कार्यान्वयन चरणमा प्रवेश गर्दासम्ममा यस सङ्ख्या केही तलमाथि भने हुन सक्नेछ ।

६. धादिङमा काम गर्न स्थानीयको साथ छ ?
विद्युत् प्रसारण आयोजना राष्ट्रिय गौरवको आयोजना भएको र यसले नेपालमा विद्युत् वितरण कार्यलाई सहज बनाउने भएकोले स्थानीय सरकार, स्थानीय जनप्रतिनिधि तथा स्थानीय जनताबाट निकै राम्रो साथ र सहयोग पाइरहेका छौं ।