काठमाडौं । देशभरका आँखा अस्पतालहरूमा आँखा पाकेर आउने बिरामीको भिड बढ्न थालेको छ । पश्चिम तराईका जिल्ला कैलाली र कञ्चनपुरमा साउन लागेसँगै सुरु भएर अहिले भयावह बनिरहेको आँखा पाक्ने रोग संघीय राजधानी काठमाडौंसँगै देशभर फैलिरहेको छ । संक्रमण नियन्त्रणका लागि कतिपय जिल्लामा स्कुलहरू नै बन्द गरिएका छन् ।
धनगढीको गेटा आँखा अस्पतालमा दैनिक ६ देखि सात सय आँखासम्बन्धी बिरामी आउने गरेकामा ७० प्रतिशत अर्थात् चार सयभन्दा धेरैमा आँखा पाक्ने समस्या देखिएको उक्त अस्पतालका बाह्य व्यवस्थापक रमेशचन्द्र भट्टले बताए । त्यस्तै, महेन्द्रनगर आँखा अस्पतालमा दैनिक सयदेखि डेढ सयसम्म आँखा पाक्ने समस्या भएका बिरामी आउने गरेको अस्पताल प्रमुख डा. खगेन्द्र उप्रेतीले बताए । सुदूरपश्चिमका अन्य जिल्लामा पनि समस्या फैलिरहेको छ ।
त्यस्तै, काठमाडौं उपत्यकामा आँखा पाक्ने समस्याले व्यापकता लिन थालेको छ । दैनिक तथ्यांक बुझ्दा यो समस्या भएका बिरामी त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा ९०, तिलगंगा आँखा अस्पतालमा ८० र कीर्तिपुर आँखा अस्पतालमा ६० जनाभन्दा बढी पुग्ने गरेका सम्बन्धित अस्पतालले जानकारी दिए ।
त्यस्तै, नेपाल नेत्रज्योति संघअन्तर्गत रहेका देशभरका २७ आँखा अस्पताल र एक सय ५० आँखा उपचार केन्द्रमा दैनिक चार हजार तीन सयभन्दा धेरै बिरामी आँखा पाकेको समस्या लिएर पुग्ने गरेका छन् । त्रिपुरेश्वरको नेपाल आँखा अस्पताल, तिलगंगा आँखा अस्पताल र निजी अस्पतालहरू संघअन्तर्गत छैनन् ।
‘आँखा पाक्ने रोगका बिरामी रेशैभर बढेका छन्, यसबारे हामीले सचेत हुन र आँखाको हेरचाहमा ध्यान दिन जरुरी छ,’ नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले भने, ‘तराईका जिल्ला र उपत्यकामा यो भयावह बन्दै छ ।’ उनका अनुसार संघअन्तर्गत रहेका अस्पताल र केन्द्रले आँखासम्बन्धी ८० प्रतिशत बिरामीको उपचार गर्दै आइरहेका छन् । बाँकी २० प्रतिशतको नेपाल आँखा अस्पताल, तिलगंगा आँखा प्रतिष्ठान र अन्य निजी अस्पतालले गर्छन् ।
आँखा पाक्ने रोग फैलिएपछि धमाधम बन्द गरिँदै विद्यालय
आँखा पाक्ने रोग फैलिन थालेपछि विद्यालयको पठनपाठन धमाधम बन्द गरिन थालिएको छ । बाँके, रुपन्देही, पोखरा, चितवन, तनहुँ र धनकुटा क्षेत्रमा कैयौँ पालिकाले पठनपाठन बन्द गरेका छन् ।
आँखा पाक्ने रोगको समस्या बढेपछि नेपालगन्जका निजी तथा संस्थागत विद्यालय बन्द भएका छन् । आँखा पाक्ने रोगका कारण विद्यार्थी अनुपस्थित हुन थालेपछि शुक्रबारसम्मका लागि विद्यालय बन्द गरिएको वेस्टजोन माध्यमिक विद्यालयका प्रिन्सिपल आरके गौतमले बताए । प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले आँखा पाक्ने समस्या देखिएका विद्यालयलाई पठनपाठन बन्द गर्न सुझाव दिएको बताए । नेपालगन्जका विद्यालयमा अध्ययनरत २५–३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको उनको भनाइ छ । ‘उपमहानगरसँग समन्वय र छलफल गरि धेरै समस्या देखिएका विद्यालयलाई मंगलबारदेखि बन्द गर्न भनेका छौँ । बुधबारदेखि सम्पूर्ण विद्यालय बन्द गर्न प्याब्सनले मंगलबार आधिकारिक सूचना निकाल्ने योजना छ,’ उनले भने ।
नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले नगरका सम्पूर्ण विद्यालय बुधबारदेखि बन्द गर्ने तयारी भएको बताए । उनले विद्यालय बन्दका लागि प्याब्सन, एनप्याब्सनलगायतसँग छलफल भइरहेको बताए । एउटै विद्यालयमा सय–दुई सय विद्यार्थीको आँखा पाक्ने समस्या देखिएको उनले जनाए । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि चितवनको भरतपुर महानगरपालिकाले पाँच दिन (२२ साउनदेखि २६) सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालका अनुसार भरतपुर महानगरका सामुदायिक तथा संस्थागत विद्यालय, बालविकास केन्द्र तथा मन्टेस्वरी, किन्डर गार्डेन बन्द गर्न भनिएको छ । पछिल्लो केही दिन यता भरतपुर आँखा अस्पतालमा बिरामीको भिड पनि बढेको छ ।
त्यस्तै, आँखा पाक्ने रोग फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेका पञ्चमुनीदेव मावि, खैरेनी मावि, सरस्वती नमुना मावि, जनकल्याण मावि, हंसवाहिनी मावि र गाउँफर्कोदय माध्यमिक विद्यालयको पठनपाठन बन्द गरिएको छ । यी विद्यालय दुईदेखि पाँच दिनका लागि बन्द गरिएको छ । अहिले गरिएको बिदा भने हिउँदे बिदाबाट कट्टी गरिने जनाइएको छ । सरस्वती नमुना माविमा अध्ययनरत दुई सय ७० विद्यार्थीमध्ये एक सय ५० मा आँखाको संक्रमण भएको प्रधानाध्यापक नारायण पौडेलले बताए । ‘सोमबार मात्रै एक सयभन्दा बढी विद्यार्थी अनुपस्थित भए । संक्रमण फैलिनबाट रोक्न विद्यालय बन्द गर्यौँ,’ उनले भने । तर, शुक्लागण्डकी नगरपालिकाबाहेकका स्थानीय तहले भने विद्यालय बन्द गराएका छैनन् । यसैगरी, आँखा पाक्ने रोगको संक्रमण बढेपछि धनकुटा बजारमा सञ्चालित संस्थागत विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । विद्यालयमा अध्ययनरत करिब ५० प्रतिशतभन्दा बढी विद्यार्थीमा आँखा पाक्ने रोगको समस्या देखिएपछि पाँच दिनका लागि विद्यालयको पठन पाठन पूर्ण रूपमा बन्द गरिएको धनकुटा नगरपालिका–७ श्रीवानीस्थित तमोरभ्याली बोर्डिङ स्कुलका प्रिन्सिपल दुर्गा लुइँटेलले बताए ।
कैलाली–कञ्चनपुरमा व्यापक फैलियो आँखा पाक्ने रोग
चर्काे गर्मीका बीच कैलाली–कञ्चनपुरमा आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिस फैलिएको छ । यस क्षेत्रमा साउन पहिलो सातादेखि संक्रमण सुरु भएकामा अत्तरियास्थित गेटा आँखा अस्पताल र महेन्द्रनगरमा रहेको महेन्द्रनगर आँखा अस्पतालमा बिरामीको भिड बढेको छ । त्यसबाहेकका अन्य अस्पतालमा पनि आँखा पाक्ने समस्या लिएर बिरामी पुग्ने गरेका छन् । हाल सुदूरपश्चिमका पहाडी जिल्लामा पनि संक्रमण सुरु भएको छ ।
महेन्द्रनगर आँखा अस्पतालका प्रमुख डा. खगेन्द्र उप्रेतीले चार सातादेखि आँखाका बिरामीको संख्या बढिरहेको बताए । उनका अनुसार आँखा पाक्ने समस्या अघि दैनिक एक सयदेखि दुई सय बिरामी आउने गरेकामा हाल दुई सयदेखि तीन सय बिरामी अस्पतालमा आउने गरेका छन् । पहिलो चरणमा इन्टिबायोटिक र दोस्रो चरणमा अवस्था हेरेर उपचार भइरहेको उनले बताए । आँखामा समस्या देखिएपछि ग्रामीण क्षेत्रका बासिन्दा सुरुमा मेडिकल पुग्ने गरेका छन् । निको नभएपछि मात्र आँखा अस्पताल आउने गरेका छन् । डा. उप्रेतीका अनुसार आँखा पाक्ने रोग आँखाको सेतो भागलाई छोपेको पातलो झिल्ली वा परेलीभित्री भाग हो, जसलाई कंगजक्टिभा भन्छिन् । त्यसमा हुने एक प्रकारको संक्रमण वा भाइरल हो ।
गेटा आँखा अस्पतालका बाह्य व्यवस्थापक रमेशचन्द्र भट्टले पनि कैलालीमा तीन सातादेखि आँखा पाक्ने रोगका बिरामी बढिरहेको बताए । उनका अनुसार गेटा आँखा अस्पतालमा दैनिक ६ देखि ७ सय आँखासम्बन्धीका बिरामीमध्ये ७० प्रतिशत बिरामी आँखा पाक्ने समस्या भएर आउने गरेका छन् ।
रण आँखा अस्पतालमा छुट्टै क्लिनिक
लुम्बिनीका रुपन्देही, कपिलवस्तु, नवलपरासीमा आँखा पाक्ने रोग फैलिएको छ । त्यसबाहेकमा जिल्लामा पनि संक्रमण सुरु भएको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, रण अम्बिका आँखा अस्पताल भैरहवाका सूचना अधिकारी प्रतीक पाण्डेका अनुसार पछिल्लो एक सातादेखि आँखा पाक्ने रोगका बिरामी ह्वात्तै बढेका हुन् । त्यसअघि तीन–चार जना आउने गरेकामा अहिले दुई सय ५० देखि तीन सय बिरामी दैनिक आउने गरेका छन् । अस्पतालले आँखा पाक्ने समस्याका बिरामीका लागि छुट्टै क्लिनिक सञ्चालन गरेको छ भने मर्चवारी, तिलोत्तमा, सिनपालगायतका पालिकामा टोली खटाएर आँखा जाँच गरिरहेको छ ।
तिलगंगा आँखा प्रतिष्ठानकी आँखारोग विशेषज्ञ अनु मानन्धरलाई प्रश्न- के कारण फैलिँदै छ आँखा पाक्ने रोग, कसरी जोगिने ?
आँखा पाकेको व्यक्तिको चिप्रा वा थुकको माध्यमबाट एडिनो भाइरसले अन्य व्यक्तिमा संक्रमण फैलाउँछ । कुनै वस्तु छोइसकेपछि हात धुनुपर्छ । आँखालाई हातले छोइराख्नु हुँदैन । संक्रमित व्यक्तिले रुमालको प्रयोग गर्ने, सामाजिक दूरी कायम राख्ने गर्नुपर्छ । चिकित्सकको सुझावअनुसार औषधोपचार गर्नुपर्छ । तर, कतिपयले जथाभावी एन्टिबायोटिक प्रयोग गर्ने भेटिएको छ । यसो गर्दा झन् ठूलो क्षति निम्तिन सक्छ । बरु, आँखा शीतल पार्ने ड्रप (कृत्रिम आँसु) भने प्रयोग गर्न सकिन्छ ।
नयाँ पत्रिकाबाट