असार हो र पानी वर्षि रहन्छ बर्षिनु सामान्य नै हो । यस्तै बिहान सिमसिम पानी छिचोल्दै म बेनिघाट यात्रामा थिएँ । बाटो चिप्लो थियो र मलाई बेनीघाट रोराङ गाउँपालिका पुग्नुपर्ने हार्नै नमिल्ने शिक्षा शाखाको निमन्त्रणा थियो । म अलि अनुभवि चालक होइन तर सरकारले सक्छस् भनेर थमाएको स्कुटरको अनुमतिपत्र भने थियो ।
बिहान ९ बजे खाना खाए पछि बर्षादी भिरेर निस्केको थिएँ । राजमार्गमा चलाएको अनुभव भने अलि कमै थियो । सलाङ्घाट कटेपछि सस्यानो दुर्घटना भयो र हल्का घाइतेको अनुभव सायद पहिलो पटक । यो भाग्यमा दुर्घटनाको अनुभव गर्न पनि लेखेको रहेछ । घाइते छु र बसेर मित्र बोधराज पाठकलाई सम्मानका लागि पनि केही शब्दहरु लेख्न मन लागेर घोत्लि रहेको छु ।
म त्यही व्यक्ति हुँ शिक्षा सेवाको २९ वर्ष २६ दिन कार्यरत रहँदा तालिममा सहभागिताको १ दिनको पनि प्रमाण पत्र छैन र २९ वर्ष २६ दिनको सेवा कार्यकालमा बढुवा भएको र पुरस्कार लिन हात थापेको पल पनि सम्झनामा छैन । मलाई यी पक्षहरु पनि सुखद संयोग नै लाग्छ किनकि देशको शैक्षिक पद्दति अनुसार एक शिक्षकले विद्यावारिधि गरिसकेको छ कुरा त्यहाँका कार्यालयहरुलाई चेतको उज्यालो पनि छैन र त्यहाँबाट के फाइदा लिनुपर्छ शिक्षा क्षेत्रले भन्ने विवेकको तिनले ढोका खोल्न सक्दैनन् । मैले जहाँबाट जागिरे जीवनको यात्रा आरम्भ गरें त्यहीबाट आफूलाई पन्साएको छु । त्यसैले त ढुक्कले लेख्न सक्छु त्यहाँका विकार र विसङ्गतिका डङ्गुर विरुध्द । यसको आरम्भ बिस्तारै गर्ने नै छु ।
यसो भन्दै गर्दा तँ भन्दा योग्य अरुहरु नै थिए भन्नपनि त सक्नुहुन्छ । हो म भन्दा योग्य श्रेणीका अरु थिए होला म तल्लो श्रेणी हुन सक्छु तर कक्षा कोठाहरुमा आफू पस्दा र उत्साहित हुने, निस्कँदा नरमाइलो मान्ने भाइबहिनीहरुको अनुहार पढेर निस्कन्थे । आफूलाई योभन्दा योग्य केहीले पनि बनाएन । मेरा पुरस्कार र सम्मानहरु नै पैले पढेका नानी बाबुका आँखाहरु हुन् ।
प्रधानाध्यापकहरु र प्रशासकहरुको मूल्याङ्कन प्रणाली त के कुरामा आधारित हुन्छ भन्नै पर्दैन । कोठा चोटा र भान्साहरु हेरेपछि पुग्छ । नर्सरीदेखि विद्यावारिधि सम्मका मेरा विद्यार्थीहरु हिजो पनि थिए र आजपनि छँदैछन् । क्षमताको प्रश्नका लागि सायद यो जवाफ हुनसक्छ । यसका सन्दर्भमा पछि लेख्ने नै छु । अँ म दुर्घटनाबाट बचेर बेनिघाट पुगें । पालिका शिक्षा कार्यालयको निम्ता थियो र शिक्षा अधिकारी बोधराज जीको आग्रह थियो र कार्यक्रम पालिका भित्रका शिक्षकहरुको कविता प्रतियोगिता थियो ।
उहाँको निम्तामा नै कार्यक्रमको सकारात्मकताले पुलकित भएको थिएँ । शिक्षकमा कुनै पनि प्रकृतिको सिर्जनात्मकतान हुने हो भने कक्षा मृत्युमय सन्नाटा र उराठ विरक्तिले छाउँछ । विद्यार्थीले शिक्षकलाई बेकारको प्रलापकर्ता वा बोझ ठान्दछन् । त्यसैले शिक्षकमा सिर्जनशीलता उत्प्रेरित गर्ने यस्ता कार्यक्रमको आयोजना प्रति आधि खुशीले चिच्याएको थिएँ र रमाएको थिएँ । त्यहाँको उत्साहपूर्ण सहभागिता, चेतनाको धार र मिठो व्यवस्थापनले अरु सकारात्मक बनायो । धन्यवाद बोधराज जी । यहाँको सफल र सकारात्मक काम प्रति सम्मान छ दिलदेखि नै भन्न मन लाग्यो । अब रह्यो शिक्षकहरुको कविता प्रतियोगिता सँग जोडिएका शैक्षिक पद्दतिको नव प्रवर्तनका कुरा ।
दुर्घटनाका दुखाइ र कविताका मल्हम
दुर्घटना सानो सानो नै थियो त्यो भन्दा भय त बेसी जोखिम थियो कसरी बच्नुभयो ? भन्ने प्रश्नहरु र बितेर गैसकेका बेहद जोखिमका काल्पनिक परिदृष्यले मन काम्न खोज्दै थियो दिनभर नै । बेलुका स्नातकोत्तर तहको कक्षालिनु नै थियो । मन कविताका भावमय त्रिशुलीमा डुबुल्की मार्दै थियो । कतै चम्पुमय लोक सुसेलीबाट फुत्किएका कविताहरु र कतै छन्दो भङ्ग भएका लय तानेर मिलाइएका काव्य बान्कीका रुप रङ्गहरुको बाटिकामा थिएँ ।
दिनभर बस्दाका काव्यरसको महक मेरो शारीरिक चोटका लागि वास्तविक मल्हम बनेको रहेछ । बेलुका सहज आफ्नै बाहन लिएर फर्किएँ । घर आइपुग्दा कुनै दर्द महशुस थिएन । यस्तो लाग्यो कि कविता आफैं ओखति पनि हुन सक्ने रहेछ भाव प्रवीणहरुका लागि । मैले कुनै बाहिरी मल्हम पनि लगाइन र कुनै औषधि खाइन पनि । धन्य काव्यामृत । कवितालाई शिक्षा पद्दतिसँग जोड्न र असजिला सिकाइ उपलब्धीहरुलाई कवितात्मक ढाँचाबाट प्रस्तुत गर्न सक्ने सामथ्र्य आर्जन गर्न गराउन पनि शिक्षक कविमन भएको हुनै पर्ने हो । त्यसैका लागि यो कार्यक्रम पूर्वाधार बनोस् । यसका अनेक अन्य महत्व र उपलब्धी त छँदैछ । त्यसका बारेमा अर्कै प्रसङ्गमा चर्चा गरौंला ।
सदा वहार पुनरावृत्ति र हाम्रो शिक्षा प्रणाली
पुर्खाहरु जसरी चलेका थिए हामी त्यसरी नै चल्दै आएका छौं । हामी जसरी चलिरहेका छौं हाम्रा पछिल्लो पुस्ता उसरी नै चलिरहने छन् । यो सनातन अलिखित प्रणालीबाट जब हामी निस्कन सक्दैनौं तब सम्म हामी कहिल्यै शिक्षामा अभिनव शुभारम्भको कल्पना पनि नगरौं । जब पुराना दृष्टिदोष र त्यही पट्यार लाग्दा कक्षा कोठा, उत्प्रेरण विहीन बकबक, पाठ्यपुस्तक भ्याउने र समय कटाउने दैनिकीमा शिक्षकलाई निर्देशित गरिन्छ तब सम्म हाम्रो शिक्षाले बोक्रा र गुदीदुबै फेर्छ भन्ने विश्वासको भ्रममा पर्नु बेकार हुनेछ । जेनतेन बोक्रा फेरिएला गुदी फेर्न कठिन छ ।
शिक्षकलाई सिर्जनशील बनाउने प्रणाली
शिक्षा क्षेत्रमा शिक्षकहरुले सम्भावनाको उज्यालो देख्न थालेपछि मात्रै परिवर्तनका आभार आलोक कक्षा कोठामा छरिन थाल्दछ र त्यसको न्यानो शिक्षार्थीले प्राप्त गर्न आरम्भ गर्नेछन् । त्यसका लागि पालिकाले निर्माण गर्ने शिक्षानीति र योजनाहरु शिक्षा, शिक्षार्थी र शैक्षिक प्राणाली मैत्री हुनु जरुरी छ जसको आलोकको परावर्तन कक्षा कोठामा देखिनु आवश्यक छ । आवश्यक छ एउटा पक्ष हो र देखि रहेको सत्य अर्कै ।
हामीेले नारामा बनाउन खोजेका छौ एकथोक र बनिरहेको छ अर्कैथोक । पालिका स्तरका शिक्षा क्षेत्रमा जस्तो अस्त व्यस्तता अर्को क्षेत्रमा कमै होला । पालिका प्रमुखहरुको पछि लाग्ने प्रधानाध्यापक, शिक्षक र शिक्षक पुच्छरहरुले कुकुरहरुलाई हल्लाइरहेको नग्न वर्तमानले त्यो अस्त व्यस्ततालाई मलजल गरिरहेको छ । हरेक पालिकामा हेर्न सक्छौं प्रमुखहरुको किचन क्याविनेटमा कुन स्तरका व्यक्तिहरु छन् ? र तिनले बनाउने नीतिबाट अपेक्षा पलाउन समाप्त हुनेछ ।
भन्नलाई भन्यौं गाउँ गाउँमा सिंहदरबार । सिंहदरबार त बनायौं प्रजातन्त्रले मासेका बाघदरबार, केशरमहलहरु फेरि टोल टोलमा खडा भएर लोकतन्त्रको उपहास गरिहेका छन् । ती महलहरुमा भीम शमशेर र चन्द्र शमशेरहरु ब्युझिएका छन् । जनताले तिनको एक एक हिसाब किताब राखेका छन् । यसले शिक्षामा भएको नवसामान्तवाद जन्माएको छ । एक दुई विद्यालयहरुलाई सम्पूर्ण रुपले स्याहार गरेर अरुलाई टाक्सिनु पर्ने अवस्थाहरु सिर्जना भएका छन् ।
प्राकृतिक न्यायको नै हो कि छेउमा विशाल महल खडा भएपछि वरपर छायाँ पर्दछ र खाडल बन्दछ । त्यसैले अनावश्यक एकैलाई विशाल महल बनाउन रोक लगाउनु नै बुध्दिमानी हैन र ? सबैले समानुपातिक उन्नयन र स्याहार नपाएसम्म कसरी गणतान्त्रिक आलोकको आभास हुन्छ र ? किनाराकृत विद्यालयहरुलाई पनि समानुपातिक स्याहार तथा अनुगमन भएमात्र सबै क्षेत्रमा गुणस्तरको एकनाश स्तरोन्तति हुन्छ । पालिकाको शैक्षिक गुणस्तर एक दुई विद्यालयबाट मात्र मापन गरे पुग्ने जस्तो पो देखिएको छ । किनकि पालिकाका स्रोतहरु केही पुच्छरहरुमा मात्रै चोबिएका देखिन्छन् ।
अर्थात् वर्तमानमा हाम्रा पालिकाहरुले निर्माण गरेका शिक्षा नीति तथा योजनाहरु व्यक्ति केन्द्रित स्वार्थबाट माथि उठेका छैनन् । प्रजातन्त्रको दुहाइ दिने पालिका नेतृत्वहरु जङ्ग बहादुरीय घृणास्पद दम्भ र आर्थिक लेनदेनका निकृष्ट ¥याल, खकार र पसिना पान गर्न पल्किएकाले धेरैबाट सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिन्न । त्यस धिक्कार जन्य परि घटनाबाट बेनिघाट रोराङ पालिका माथि उठेकाले धन्यवाद दिनै पर्छ ।
पालिकाहरुले शैक्षिक सुधारका लागि धेरै बाटाहरु अवलम्बन गर्न सक्छ । यसका लागि शिक्षकहरुलाई आफ्ना विषयका निमित्त पूर्ण स्वायत्त बनाइने प्रणाली अवलम्बन गरिनु पर्दछ । प्रशिक्षण पूर्ण सनातन र वाहियात छ । अबको शिक्षक प्रशिक्षण लागि कुनै पेशागत प्रशिक्षकहरुबाट व्याख्यान शैलीमा होइन । ठसठसी कनेर विद्यार्थीहरुलाई पढाए जस्तो र कक्षा कोठामा प्रयोग नहुने प्रशिक्षण अर्थहीन छ । पालिकाले नव प्रवर्तनको शैलीमा कक्षा लिनेहरुको कक्षालाई भिजुअजाइज गर्नु पर्दछ ।
त्यस्ता शिक्षकहरुलाई प्रशिक्षक शिक्षकको रुपमा स्तरीकरण गर्नु पर्दछ र नवप्रवर्तन भत्ता दिनु पर्दछ । उनीहरुलाई नवप्रवर्तन शैली कति ओटासम्म गर्न सक्छन् त्यस अनुसार नवप्रवर्तन शैली पुरस्कार घोषणा गरिनु राम्रो हुन्छ र त्यही विद्यालयमा लगेर प्रशिक्षकहरु कै कक्षा कोठामा राखेर अवलोकन प्रशिक्षण शैली अपनाउन सकिन्छ । प्रशिक्षार्थीहरुलाई तदनुरुप कक्षालिन उत्प्रेरित नगरेसम्म कक्षा कोठामा अभिनव प्रकाश छिर्ने छैन । त्यसरी सिर्जना गरिएको अभिप्रेरणा नै वास्तवमा अन्तस्करणबाट हुने उत्प्रेरणा हुनेछ । वर्ष दिनसम्ममा कतिओटा कक्षाहरु नूतन नवप्रवर्तनीय कक्षाबन्न सक्छ ? र त्यसलाई भिजुअलाइज गर्न के के सहयोग आवश्यक पर्दछ ? त्यसका पद्दति र सामग्रीहरु के के आवश्यक पर्दछ ? त्यसका लागि पालिकाले प्रस्ताव आव्हान गरोस् र तिनै नवप्रवर्तनीय पद्दति र प्रयोगका आधारमा शिक्षक प्रोत्साहन र पुरस्कारको व्यवस्था गर्न सकेमा पालिकाका शैक्षिक कार्यक्रमहरु जीवित र जागरणमय बन्नेछन् । त्यसको मूल कडी शिक्षक नै भएकाले तिनका समस्या, गुुनासा र गथा साहरुलाई पहिलो प्राथमिकतामा नराख्ने पालिकाको शैक्षिक अवस्था भद्रगोल र गन्तब्यहीन हुनेछ जुन अहिलेको आम समस्या र आम चित्र हो ।
पालिका स्तरमा बन्ने र बन्नुपर्ने शिक्षा नीतिभित्र सम्बोधन हुनुपर्ने अनेक सिर्जनशीलताहरु छन् र त्यसलाई आत्मसात नगरेसम्म जनताले अनुभव गर्नमिल्ने परिवर्तनको जग पनितयार हुँदैन । त्यसका लागि सघन विमर्श आरम्भ हुनै पर्दछ । त्यो विमर्शको आरम्भ कहाँबाट गर्ने ? प्रश्न यहाँनेर छ । खैर बहसका अनेक पाटाहरु छन् । यहाँ एउटा पाटोको चञ्चु प्रवेशःमात्रै भएको छ । अर्का विचारका तरङ्गहरुमा फेरि निस्कौंला । यति बेला बोधराज जी र उहाँको शिक्षा शाखाले शिक्षक सिर्जनशीलताको एक पूर्वाधारमा गरेको चञ्चु प्रवेश प्रति हार्दिक बधाइ दिंदै आजलाई मेलो मैजारो गरें ।
डा.नवीनबन्धु पहाडी
अक्षर आवास धादिङ
nabindahal1000@gmail.com