पत्रकार महासंघले सदस्यता शुद्धीकरण मापदण्ड २०७९ लागु गर्ने सवालमा जिल्ला शाखाहरुमा परिपत्र जारी गरेपछि धादिङ पत्रकार महासंघ पनि पछिल्ला हप्ताहरुमा निक्कै सक्रिय भयो । पत्रकारिता पेशामा सक्रिय रहे नरहेको जानकारी दिन र नरहेको भए सदस्यता त्यागको स्वघोषणा गर्न आव्हान पनि गर्यो । त्यसै मेसोमा कयौ व्यक्तिहरुले आफु पत्रकारिता पेशामा सक्रिय नरहेकोले सदस्य नविकरण नगर्न भन्दै विभिन्न सामाजिक सञ्जालहरु मार्फत स्वघोषण पनि गरे ।
त्यसबाहेका स्वघोषण नगरेकाको हकमा महासंघ आफैले केन्द्रको मापदण्ड भन्दा पनि फरक खालको मापदण्ड बनाएर छानविन गरी नयाँ सदस्यता वितरण र अधिकांश व्यक्तिहरुको नाम छाँटकाँट गरेर ४९ जनाको नाम सिफारिस गरे पछि भने जिल्ला शाखाको निर्णय विभिन्न खालका टिकाटिप्पणीहरु शुरु भएको देखिन्छ । १५० जना सदस्य रहेको महासंघ अहिले ४९ सदस्यमा खुम्चिदै गर्दा यस भित्रका विभिन्न पाटोहरुको खोजविन गर्न जरुरी देखिन्छ ।
केन्द्रले दिएको मापदण्डमा लचकताका नाममा केही अनुहारहरुको सदस्यता जोगाउन लागिएको भन्ने आरोपहरु बजारमा आएको सन्र्दभमा जिल्लाले नै तय गरेको मापदण्ड भित्र पनि कोही चोखिएको कोही नाम काटिएको भन्ने कुरा बाहिर आएकोले पक्कै पनि जिल्लाको नेतृत्वले यस्ता बजार हल्लाको सत्यता माथी आफ्नो धारण सार्वजनिक गर्ला । पत्रकारिता भन्दा फरक सरकारी पेशामा रहेका, विभिन्न राजनैतिक दलहरुको सदस्यता लिएका वा पदहरुको नियुक्ति लिएका वा राजनैतिक जिम्मेवारी लिएकाहरुको हकमा, लामो समय सक्रिय पत्रकारितामा नरहेको वा विदेशमा रोजगारी अथवा अध्ययनमा गएकाहरुको, क्याम्पस तथा शिक्षण पेशामा रहेर सरकारी तलब बुझ्नेहरुको सदस्यता नविकरण सिफारिस भएका लगायत विभिन्न खालका प्रश्न जिल्ला महासंघको नेतृत्व माथी उठेको देखिन्छ ।
विशुद्ध पत्रकारिता गर्नेहरु मात्र सिफारिस भएकामा भन्दा पनि व्यक्तिका अनुहार र उनीहरुको राज्यसँग भएको निकटताका आधारमा केही सिफारिस हुनु नपर्ने व्यक्तिहरुको सिफारिस भएको भन्ने आरोपको सत्यता त आरोप लगाउनेहरुसँग होला तर पनि बजारमा आएका हल्लाहरुमा सत्यता छ की छैन भन्ने कुरा ख्याल गरिएन र महासंघले आफ्नो मर्यादालाई सिमित लाभहानीका लागी साटफेर गर्यो भने अन्नत त्यसले विशुद्ध पत्रकारहरुको अहित हुने निश्चित छ ।
पत्रकारिता राज्यको चौथो अंग हो भन्दै गर्दा महासंघले यो चौथो अंगमा काम गर्ने श्रमजिवीहरुको जिविका चलाउने सवालमा भने यथेष्ट ध्यान दिन नसकेको देखिन्छ। पत्रकारिता एउटा उद्योगकै रुपमा बिकसित गर्ने र आम पत्रकारहरुलाई कलम वा क्यामेराचलाएर मात्र घर व्यवहार धन्ने वातावरण श्रृजना गर्न सक्यो भने यो शुद्धिकरण अभियानको सार्थकता बढ्नेछ । नेतृत्वमा पुग्न वा रहि रहनका लागी मापदण्डमा चलखेल गर्ने वा आँखा चिम्लने अनि स्वार्थ सिद्ध भएपछि कैची चलाउने कुराले मात्र महासंघको शुद्धिकरण सम्भव हुन्न ।
यसैगरी पत्रकार महासंघ सदस्यता वितरण र खारेजीका सवालमा पनि पारदर्शी मापदण्ड बनाउन सक्यो भने यस्ता खालको विवादहरु आउने नै थिएन । सदस्यताका लिनका लागी नै स्वच्छ र पारदर्शी मापदण्ड निर्धारण गर्ने र निश्चित आधार भएकाले कुनै पनि शक्ति केन्द्रको आड भरोसा बिना नै सदस्यता प्राप्त गर्न सक्ने तथा तोकिएको मापदण्ड नभएकाहरुलाई विना कुनै हिच्किचाहट खारेज गर्न सक्ने थिति बसाल्यो भने विशुद्ध पत्रकारिता गर्नेहरु मात्र महासंघ भित्र रहन सक्छन ।
महासंघकै पदाधिकारी तथा सदस्यहरुको नाम काटिने अवस्था आउनुका पछाडी विगतमा सदस्यता वितरणमा त्रुटिपुर्ण कार्य भएको थियो भन्ने कुरा नेतृत्वले स्वीकार गर्नु पर्छ वा महासंघ भित्र रहेकाहरु नै किन यो पेशा त्याग्न बाध्य भए त्यसको पनि समीक्षा हुन जरुरी छ । सदस्यता वितरण गर्ने सवालमा विगतमा राजनीति नभएको भए १५० बाट ४९ मा झर्ने अवस्था नै हुन्नथ्यो ।
प्रश्न किन ४९ भयो भन्ने होइन किन १५० भयो हो किनकी पत्रकारिता पेशा आफैमा सामाजिक प्रतिष्ठाको विषय भएको तर पत्रकारहरुकोगुजारा चलाउन न्यूनतम ज्यालादारीका सवालमा महासंघ गम्भीर नदेखिएको पनि यो पेशाबाट पलायन हुनेहरु बढ्दै गएको हुनसक्छ यद्यपी धादिङ महासंघमा भने जथाभावी सदस्यता वितरण भएको तथ्यलाई चाही अस्वीकार गर्न सकिन्न ।
एउटै मापदण्ड भित्र कोही पर्ने कोही नपर्ने भन्ने प्रश्न पनि यतिखेर तेर्सिएको छ । प्रश्न मुख्य पेशा र सहायक पेशाको पनि हो, अनि दलीय आवद्धता र गैरआवद्धताको पनि हो । तोकिएका मापदण्डहरु स्वीकृत भएका सबै सदस्यहरुका लागीलागु भए की भएन ? भन्ने पनि हो अनि नाम काटिएकाहरुको के सबै अयोग्य नै थिए ? भन्ने पनि हो । यी र यस्ता थुप्रै प्रश्नहरु यतिखेर बजारमा सुनिन थालेको छ । महासंघ नेतृत्व र छानबिन समितिले अहिले सदस्यता सिफारिस भएको सन्र्दभका भएका काम कार्बाही सार्वजनिक गरेर आफु माथी उठेका प्रश्नहरुको जवाफ दिनु उपयुक्त हुनेछ ।
पत्रकारिता पेशा आफै समाजको ऐना भएकोले यसको शुद्धताले समाज र मुलुकलाई नै फाइदा गर्ने कुरामा दुईमत नहोला ।पत्रकारिता पेशामा संलग्न हुनेहरु आर्थिक रुपले सक्षम हुन नसक्ने र यसलाई जिवन भर निरन्तरता दिन नसकिने चुनौती एकातिर छ भने अर्को तिर पत्रकारिताका आडमा विभिन्न खालका गलत क्रियाकलापहरु हुने र एकखालको बार्गेनिङ गर्ने व्यावसाय भएको भन्ने आरोप पनि बेला बखतमा लाग्ने गरेको देखिन्छ। त्यसैगरी प्रेश परिचय पत्रको पनि गलत दुरुपयोग भएको भन्ने बजार हल्ला सुन्ने गरिन्छ ।
पत्रकार महासंघको शुद्धिकरण अभियान पनि सम्भवत यस्ता खालका विकृतिहरुको अन्त्य होस भन्ने मनाशयबाट आएको हो भन्न सकिन्छ । शुद्धिकरण अभियानको निन्तरता कसैलाई सक्ने र कसैलाई काखी च्याप्ने भन्दा पनि वास्तवमै पत्रकारहरुलाई समेट्ने गरी कार्यन्वयन गरिनुपर्दछ । चौतारी, युनियन, सेन्टर वा समाजवादी भन्ने कुरा व्यक्तिका आस्थाका कुरा हुन तर उनीहरु त्यो भन्दा पनि अघि पत्रकार हुन भन्ने कुरा ख्याल गरिनु पर्छ र त्यसै हिसाबले पत्रकारहरुको साझा सवालमा महासंघ केन्द्रित हुनु पर्दछ ।
अहिलेको शुद्धिकरण अभियानमा महासघले आफ्नो गरिमालाई कायम गर्न सक्यो भने मात्र पत्रकार महासंघ धादिङ कालजयी बन्नेछ । यो शुद्धिकरण अभियान महासंघ नेतृत्वका लागी महत्वपुर्ण अबसर पनि हो जस्ले खासमै पत्रकारहरुको साझा संगठनका रुपमा विकास गर्न मद्दत गर्नेछ। व्यक्तिका अनुहार र पहुँच हेरेर कही कतै छेडखानी गर्ने प्रयास भयो भने पछिल्ला समय सम्म पनि त्यसको प्रभाव रही रहनेछ। जस्ले फेरी पनि पत्रकारिता पेशालाई प्रशन गर्ने ठाँउ दिइ रहनेछ ।