युवराज चौंलागाईंको सम्झनामा कृष्ण सेन

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ १४, २०७४

कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस, कसरी सम्झनु भयो इच्छुकलाई ?

कृष्ण सेना ‘इच्छुक’ साधना कर्म र उद्देश्यपूर्ण बलिदानको एक उच्च प्रतिक हो । आजको दिनमा उहाँलाई सम्झिँदै जनताको पक्षमा अझ प्रतिवद्धतापूर्वक लाग्ने प्रतिज्ञा गरेँ ।

तपाईं कहिलेदेखि चिन्नु हुन्थ्यो इच्छुकलाई ?

कलेजका दिनहरुमा कविता लेख्थेँ । ती मध्ये केही जनादेशमा पनि छापिएका थिए । कविता दिन कार्यालय म आफैं जान्थेँ । त्यही बेला भेट भयो उहाँसँग । सायद ५२ सालमा पहिलो पटक भेटें ।

पहिलो पटक भेट्दा इच्छुकप्रति तपाईंको धारणा कस्तो बनेको थियो ?

उहाँले मोटो चश्मा लगाउनु भएको थियो । खैरो सर्ट लगाउनु भएको थियो । मिठो बोली बोल्नु हुन्थ्यो । उहाँका कविताहरु मलाई पहिल्यै मन पथ्र्यो । व्यक्तित्व त त्यस्तो खास लागेको थिएन । पछि पिकनिक र स–साना जमघटहरुमा नजिकबाट संगत गर्ने मौका पाएँ । त्यसपछि उहाँका व्यवहारहरु राम्रो लाग्यो । तर मैंले वहाँलाई खास चिनेको चाहिँ पछि जेलमा सँगै बस्दा हो ।

एउटै मञ्चमा सँगै कविता पनि भन्नु भयो कि ?

सार्वजनिक मञ्चमा त्यो संयोग जुरेन । जेलमा रहँदा त पचासौं पटक सँगै कविता वाचन गरियो ।

तपाई कहिले जेल पर्नु भयो र कसरी भेट भयो इच्छुकसँग ?

मलाई २०५५ सालमा काभ्रेबाट झुठा मुद्दा लगाएर धुलिखेल जेल हुँदै काठमाडौंको भद्रगोल बन्दी गृहमा ल्याइयो । त्यही भेट भयो उहाँसँग । त्यसपछि हामी करिब डेढ वर्ष सँगै बस्यांै ।

जेलमा साहित्यिक कार्यक्रमहरु हुन्थ्यो ?

साहित्यिक कार्यक्रम हरेक हप्ता हुन्थ्यो । हामी माओवादी वन्दीहरु मिलेर साहित्यिक कार्यक्रम चलाउँथ्यौं । २०५६ सालको जेठमा सेन दाइले चलाउनु भएको कार्यक्रममा म पहिलो पटक सहभागी भएको थिएँ । हामी करिब ४० जना माओवादी आस्थाका बन्दीहरु थियौं । मैले ‘आमा म आएँ’ शीर्षकको कथा पढेर सुनाएको थिएँ । त्यस क्रममा सहभागी हामी सबै भावुक भएर रोएका थियौं । पछि धेरै पटक हामीले सँगसँगै कविता लेख्यौं वाचन गर्यौं । जेल बाहिर भने त्यो अवसर जुरेन ।

जेलमा रहँदा उहाँका व्यवहारहरु कस्तो हुन्थ्यो ?

उहाँ विहान सबभन्दा पहिला उठ्नु हुन्थ्यो । दैनिक योगा र जगिङ गर्नु हुन्थ्यो । पायल्सको रोगी भएकोले खानेकुरा बार्नु हुन्थ्यो । त्यसबेला उहाँ नेपाली साहित्यमा स्नातकोत्तर गरिरहनु भएको थियो । नेपाली साहित्यका मोटामोटा किताबहरु वरिपरि हुन्थे । धेरै पढ्ने, थोरै लेख्ने व्यक्ति हो जस्तो लाग्थ्यो । लेखेका सामग्रीहरु परिस्कार गरिरहनुहुन्थ्यो । साना अक्षरमा लेख्ने र शव्द मिलाउँदा मिलाउँदा पचासौं पटक केरमेट गर्ने बानी उहाँको थियो । उहाँलाई आफ्ना प्रायः रचनाहरु कन्ठस्थ थिए ।

४० जनाको हाम्रो संयुक्त भान्सा थियो । खाना पकाउन उहाँ एकदमै सिपालु र अग्रसर हुनुहुन्थ्यो । बाख्राको टाँड जस्तो भुँइमाथि ओच्छ्याइएका फलेकमाथि हामी ४० जना लहरै सुत्थ्यौं । सेन दाइ भित्तामा सुत्नुहुन्थ्यो ।

अरु को को हुनुहुन्थ्यो तपाईंहरु ?

कृष्ण सेन, म लगायत झलकपाणि तिवारी, गंगा श्रेष्ठ, लेखनाथ न्यौपाने, पवनमान श्रेष्ठ लगायतका हामीसँगै थियौं ।

उहाँसँग जेलमा बस्दाको कुनै अविस्मरणीय क्षण ?

‘बन्दी र चन्द्रागिरि’ भन्ने उहाँको अन्तिम कविता कृति त्यही जेलमा हाम्रै बीचमा लेख्नु भएको थियो । त्यो पुरै रचना मैले आफ्नो हातले नयाँ कपिमा राम्रो अक्षरले सारेको थिएँ । म जेलबाट उहाँभन्दा पहिला निस्किएँ । त्यतिबेला मैंले आफ्नो सिरानी उधारेर त्यसको कपासको बिचमा त्यो कापी राखेर बाहिर निकालेको थिएँ । पछि कुनै साथी आएर त्यो कापी लानु भयो, र कविता कृति छापियो । सेन दाइका बारेमा निकै सम्झनाहरु उहाँका हरेक सहयात्रीहरुसँग होलान् । मसँग पनि त्यस्ता अनगिन्ति स्मृतिहरु छन् । जुन यहाँ सबै भन्न गाह्रो छ ।

उहाँको स्मृति दिवस आउँदा उहाँसँग सम्बन्धित सम्झना भइरहने कुनै पल छ ?

सेन दाइको हत्या सभ्य समाजमाथिको क्रुर हमला थियो । उहाँ यो देशको सबभन्दा असल मान्छे मध्ये हुनुहुन्थ्यो । हिजो उहाँको गुमनाम अनाहक मृत्यु भयो । आज लाखौंले उहाँलाई सम्झन्छन् । यसमा खÞुशी लाग्छ । उहाँसँग मैले पनि सहकार्य गरेँ भन्ने सम्झदा गर्व लाग्छ । हरेक वर्ष जब इच्छुक स्मृति दिवस आउँछ, मलाई उहाँको ताजा अनुहारको झल्को आउँछ । त्यो सँगसँगै हिजो यहाँलाई दमन गर्ने, उहाँमाथि अत्याचार गर्नेहरुको बढ़ोत्तरी देखेर आक्रोश पनि पैदा हुन्छ ।

उहाँमाथि दमन र अत्याचार गर्नेको बढोत्तरी भन्नाले ?

एक जना चौकीदारले सेनलाई लात्तीले भकुरेका थिए । (ती ब्यक्तिको नाम भने गोप्य राखिएको छ ।) हाम्रो सामूहिक बसाइ छिन्नभिन्न बनाएका थिए । कुनै आपराधिक मुद्दामा जेल परेको ऊ हाम्रा हरेक राजनीतिक गतिविधिविरुद्ध खड़ा हुन्थ्यो । तर विडम्बना, आज ऊ हाम्रो पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको सदस्य भएको छ । यो देख्दा उदेक लाग्छ ।

त्यस्तो ब्यक्तिमाथि पार्टीले छानविन गरेन र ?

मैंले धेरै पटक भनेँ । तर, आजसम्म केही भएको छैन । पार्टीले चुनावी रणनीति अपनाउँदा सबै खाले मान्छे चाहिन्छ भनेर केही नगरेको हुन सक्छ । तर यस्ता गम्भीर मुद्दाहरुमा मोलाहिजा गर्नु हुन्न भन्ने लाग्छ । सायद यसबारे कुनै दिन सकारात्मक कÞदम पार्टीले चाल्नेछ । म आशावादी नै छु ।

समय निकै परिवर्तन भइसक्यो । त्यसबेला इच्छुकलाई अपमान गर्ने व्यक्ति अहिले सुध्रिएको पनि त हुन सक्छ ?

मान्छे बदलिन सक्छ । तर उसले सार्वजनिक रुपमा विश्वास दिलाउनु पर्छ । मेरो भनाई यति हो । ठूल्ठूला गल्ती वा अपराध गर्नेलाई चुपचाप गोप्य रुपमा बढुवा गर्ने होइन, सार्वजनिक शुद्धिकरणको प्रकृयाबाट ल्याउनुपर्छ भन्ने हो ।

इच्छुकबाट आजको पुस्ताले सिक्ने कुरा के हो ?

सिद्धान्त र व्यवहारको मेल । मेरो विचारमा सेन यी दुई कुराको संगम हुनुहुन्थ्यो । हामीले त्यहि सिक्नु पर्छ उहाँबाट ।

इच्छुकको आदर्श पार्टी आज विभाजित अवस्थामा छ । उहाँको वलिदानको सार्थकता अहिले कति देख्नु हुन्छ ?

उहाँको वलिदान खेर गएको छैन । उहाँले स्थापित गर्नु भएको आदर्श आज पनि एक आकर्षक विम्ब बनेर खड़ा छ समाजमा । उहाँले सार्थक जीवन र उच्च मृत्युवरण गर्नुभयो । उहाँप्रति नेपाली समाज युगौं कृतज्ञ रहने अवस्था छ । राजनीति र साहित्यका दुई अलग क्षेत्रमा उहाँ प्रगतिशिलता र उचाइको एक मानक हो । जसलाई नाघ्न प्रायः हम्मे पर्छ । साभारः रातोपाटी