चेतना स्तर उठेको रुबीभ्याली

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १९, २०७३

जहाँ निर्वाचन पैसा र भौतिक शक्ति बाट मात्र हात पार्न सकिन्छ भन्ने भ्रमबाट मुक्त हुन नसकेका स्वघोषित उम्मेदवारहरुको लाम छ ।

यस्तो भन्दै गर्दा, वास्तविकता पनि यो भन्दा खासै फरक छैन किन भने रुबिभ्याली गाउँपालिका भित्रको एकजना सचेत युवा र नेपाली नागरिकको हैसियतले त्यस ठाउँमा भएगरेका गतिविधिको बारेमा इमानदारीता पुर्वक आफ्नो बिचारहरु अभिब्यक्त गर्न सान्दर्भिक ठान्दछु ।

हाल सम्म मैले प्रत्यक्ष अनुभव गरेका निर्वाचन मध्ये त्यहाँका जनताले जम्मा दुइवटा निर्वाचनमा मात्र आफुले इच्छाएको ब्यक्तिलार्इ मतदान गरेका छ्न्, त्यो निर्वाचन धेरै टाढाको होइन २०६४ सालको पहिलो संबिधान सभाको निर्वाचन र २०७० को दोस्रो संविधान सभाको चुनाव त्यस अघिका निर्वाचनहरु निर्वाचन थिएन निर्वाचनको नाममा जनताको मताधिकारको अपहरण थियो किन भने तत्कालिन अवस्थामा पन्चायती सामान्तीहरुको अगाडि शिर उठाउन सक्ने अवस्था थिएन र कसैले पनि त्यो हिम्मत राख्नु उचित ठानेनन् २०६४ र २०७० को निर्वाचन पनि तत्कालिन माओवादी र तत्कालीन राप्रपाले कब्जा गर्न नखोजेको होइन । तर त्यहाँका सचेत र साहसी युवाहरूले त्यो दुस्प्रयासलार्इ सफल हुन दिएन र जनताले आफुले चाहेको उमेदवारलार्इ आ आफ्नो मत दिए, आज परिस्थिति बद्लिएको छ। हामी केहि युवाहरुले साहस गर्नुपर्छ जुन समृद समाज निर्माणको सार्थक प्रयास साबित हुन सक्द्छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारका आकाङ्क्षीहरु बिगतको धरातल बिर्सेर चुनाव हात पार्न आतुर देखिन्छ । सफलताको सपनामा तल्लिन हुदै गर्दा, हामीलार्इ एउटा निर्भीक र क्षमतावान नेतृत्वको आवश्यकता छ जसले कसैको दबाब र प्रभावमा होइन नितान्त त्यहाँको जनताको प्रतिबिम्बित बनेर काम गर्न सकोस।

कुनै पनि उम्मेदवारको सफलता केवल राजनीतिक सत्ता, आर्थिक स्रोतको मुख्य आधार, कुनै राजनीतिक दलप्रतिको बद्लाभाव अथवा आफ्नो गुमेको चारित्रीक छवीलार्इ सुधार गर्ने मात्र हो भने तपाईंहरु ठूलो भ्रममा हुनुहुन्छ, किनभने अहिलेको शिक्षित जमातलाइ झुक्याउन त्यति सजिलो छैन जति बिगतका शासकहरुले झुक्याउथे, त्यसकारण अधिकाश युवा साथीहरुका बीचमा अबको निकास, आर्थिक बिकास जस्ता सस्तो र सापटी लिएका नारा दिएर भ्रम छर्न खोजेको पाइन्छ । प्रष्ट हुन जरुरी छ कि विकास कुनै उम्मेदवारको खल्तीबाट सम्भव हुने जादुको छडी होइन यो त बलियो आर्थिक नीति स्थानीय स्रोत साधन र जनताको प्रत्यक्ष संलग्नताबाट मात्र सभव हुन्छ ।

सबैको जानकारीको विषय हो, उत्तरी धादिङमा १०र१५ बर्ष अगाडी खासगरी जम्मा दुइटा राजनीतिक पार्टी बीच प्रतिस्पर्धा हुने गर्थें, नेपाली काङ्ग्रेस र राप्रपाअधिकाश समय राप्रपा सत्तामा र काङ्ग्रेस सभ्य भाषामा प्रतिपक्ष रहेर बित्यो । त्यती बेलाको स्थानीय र संसदीय निर्वाचनहरुलाइ फर्केर हेर्ने हो भने ती निर्वाचनहरु जनतालाइ मुर्ख बनाउने र सत्ता हात पार्ने कर्मकाण्ड मात्र थिए भन्दा फरक नपार्ला। तसर्थ, निर्वाचन अघि आफ्नो भुमिका र सामाजिक उत्तरदायित्व बारेमा प्रष्ट हुनु आवश्यक छ।

चुनाव यस्तो एउटा महत्त्वपूर्ण माध्यम हो जुन प्रक्रियाबाट हामी आफुलाइ मनपर्ने उम्मेदवारलाइ मत दिएर विकसित र सभ्य समाजको निर्माणमा बिश्वास राख्दछौ तर हाम्रो समुदाय यो अवसर बाट धेरै पटक चुकेको छ, भ्रष्टाचार मुक्त समाजको नाराहरु हाम्रा लागी नौलो होइन तर साचै यो नारालाई यथार्थमा परिणत गर्नको लागी हामीले आफ्नो विवेकको प्रयोग गर्नै पर्छ, त्यसको लागी स्थानीय तह निर्वाचन देखी सम्पुर्ण तहको निर्वाचनमा ध्यान पुर्याउन आवश्यक छ।

सबै भन्दा पहिले उम्मेदवारको आर्थिक स्रोत के हो ? पेशा ब्यबसाय के हो ? कतै भ्रष्टाचार गरी कमाएका त होइनन् ? बुझ्न आवस्यक छ, यदि गलत तरिकाबाट कमाएर चुनावी मैदानमा सोझा र साझा जनताको अभिमतलाइ खरिद गर्ने अभिलाषा बोकेका उम्मेदवारहरु छन भने, यस्ता मानिसले पद प्राप्ति पछि भ्रष्टाचार गर्दैन भन्ने कुरामा बिश्वास गर्न सकिन्छ ? मत दिनु अघि गम्भीर भएर सोच्नुस अनि मात्र आफ्नो मतको सदुपयोग गर्नुहोस् ता कि भ्रष्ट मानिसहरु पदमा पुग्नबाट बन्चित होउन् ।

धादिङ, उत्तरी क्षेत्रको बिकास र त्यहाका नागरिकको चेतनाको स्तर किन अझै तुलनात्मक रूपमा कम छ ?
सवाल र जवाफ जिम्मेवार सबै पार्टीका नेता कार्यकर्ता संग गर्न जरुरी छ । किनभने हामीलार्इ सधै यस्तै अवस्थाको दास बन्नु छैन, यी विषयहरुले महत्त्व पाउनको लागी अब नयाँ सोच, क्षमता र सम्भावना बोकेका युवाहरू बीच बैचारिक बहस र कार्यगत एकताको जरुरी छ।

हामी युवाहरुलाइ यो वा त्यो पार्टीको नाममा फरक-फरक समुहमा बिभाजित भएर भौतिक लडाइँमा धेरै नै बिश्वास गर्ने आद्द्त परिसकेको छ ? तर यो निरन्तरता कहिलेसम्म ? प्रश्न आफैलाइ गर्नु जरुरी छ । यसको अन्त्य कहिले र औचित्य के ? परिणाम हाम्रो समुदायको बदनाम, अधिकाश युवाहरू धादिङ लगायत देशको विभिन्न कारागारहरुमा आफ्नो जिवनको उर्जाशिल समय आकाशको तारा गन्दै बिताउदै छन् भने कोहि साथिहरु अपंगताको जीवन जीउदैछन, यो कसका कारणले भइरहेको छ ?किन भइरहेको छ ? एकपल्ट सोचौं त, के हामी आफ्नो विवेक प्रयोग गर्न काबिल छैनौ ?

बन्द गरौं युवा बीचको लडाइँ र आफ्नो क्षमता र विवेकको माध्यमबाट समृद्ध समाज निर्माणमा कमसेकम एउटा इटा थप्ने अभियानमा सहभागी बनौ ।

डेभिड घले
रुबिभ्याली-२, तिप्लिङ