४ नयाँ तत्वले पायो पेरियोडिक टेबलमा स्थायी ठाउँ

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १७, २०७२

कुशल श्रेष्ठ
रसायनिक तत्वहरूलाई त्यसको आणविक नम्बरअनुसार क्रमबद्ध गरेर राखिएको तालिका नै पेरियोडिक तालिका (Periodic Table) हो। आणविक नम्बरले कुनै पनि तत्वको न्युक्लियसभित्र रहेका प्रोटोनहरूको सङ्ख्यालाई जनाउँदछ। यसरी आणविक नम्बरअनुसार पङ्क्तिमा राख्दा समान आणविक संरचना र रसायनिक विशेषता भएका तत्वहरू उक्त तालिकाको ठाडो स्तम्भमा पर्न जान्छ।
सन् १८६९ मा ‘डिमिट्री मेन्डिलिभ’ले पहिलोचोटी पेरियोडिक टेबल प्रकाशित गरेका थिए। त्यसपछि, थुप्रै वैज्ञानिकहरूले नयाँ-नयाँ रसायनिक तत्वहरू पत्ता लगाए र त्यसलाई आणविक नम्बरअनुसार सोहि तालिकामा समावेश गरिएको थियो।
अहिलेको नयाँ खोजमा वैज्ञानिकहरूले अर्को ४ वटा नयाँ तत्व फेला पारेका छन्, जसले पेरियोडिक टेबलमा स्थायी ठाउँ पाउन सफल भएको छ। यसले गर्दा अहिलेको पेरियोडिक टेबलको सातौँ पङ्क्ति पूर्ण भइसकेको छ।
new-periodic-table
सन् २०१५ डिसेम्बर ३० को दिन, रुसी-अमेरिकीको सहकार्यबाट ११५, ११७ र ११८ आणविक नम्बर भएको तत्वहरूको आविष्कारको पुष्टि गर्नको लागि पर्याप्त प्रमाण फेला पारेको ‘इन्टरनेशनल युनियन अफ प्योर एण्ड अप्लाइड केमेस्ट्री’ (IUPAC)ले गरेका थिए। यसै संस्थाले सन् २०१२ मा ११३ आणविक नम्बर भएको तत्वको आविष्कारको लागि जापानका वैज्ञानिकलाई पुरष्कृत पनि गरेका थिए। दुवै समूहले, हलुका न्युक्लियसहरूलाई एक-आपसमा ठोक्क्याएर त्यसबाट निस्केको रेडियोधर्मी र अतिभारी तत्वको क्षयलाई पछ्याउँदै यी नयाँ तत्वहरू पत्ता लगाएका थिए। उनीहरूले अझसम्म त्यी तत्वहरूको नामाङ्करण भने गरेका छैनन्, र केही समयको लागि अस्थायी नाम राखेका छन्।
रसियाको ‘जोइन्ट इन्स्टिच्युट फर न्युक्लियर रिसर्च’ र क्यालिफोर्नियाको ‘लरेन्स लिभरमोर नेशनल ल्याबोरेटरी’का अनुसन्धानकर्ताहरूले ११५, ११७ र ११८ आणविक नम्बर भएका तत्वहरूको खोज गरेका थिए। ११३ आणविक नम्बर भएको तत्वको खोज पनि उनीहरूले नै सन् २००४ मा गरेको दाबी गरेका थिए, तर उक्त ३ वटा तत्वहरूको खोजको श्रेय उनीहरूले पाइसकेको कारणले गर्दा ११३ को खोजको श्रेय भने जापानकै वैज्ञानिकलाई दिइएको थियो। लिभरमोरमा आणविक र रेडियोरसायन सम्बन्धि खोजगर्ने समूहका प्रमुख ‘डन शफनेस्सी’ (Dawn Shaughnessy) ले भने, “आइ.यू.पि.ए.सी को घोषणाबाट म व्यक्तिगत रूपमा खुसी छु!”
आइ.यू.पि.ए.सी.का कार्यकारी निर्देशक ‘लिन सबी’ले भने, “नयाँ खोजबाट पत्ता लगाइएका तत्वहरूको रिपोर्ट २०१६ को पूर्वी महिनाहरूमा प्रकाशन हुनेछ। आधिकारीक रूपमा मान्य गराउनको लागि त्यी तत्वहरूका आविष्कारकले त्यसको नाम र सङ्केतको सुझाब दिनुपर्ने हुन्छ। ११३ नम्बरको तत्वलाई एसियाका वैज्ञानिकहरूले आविष्कार गरेको पहिलो तत्व मानिनेछ।”