किन पर्यो ? अख्तियारको आँखा रविन्द्र प्रतापमा

Avatar photo
Dhadingpost
बुधबार, पुस १, २०७२

rabindraधादिङका तीन जना सांसद एमालेका राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डे तथा एमाओवादीका रवीन्द्रप्रताप शाह अख्तियारको छानविनको घेरामा परेकाले धादिङ जिल्लाभरी अहिले चर्चाको विषय त्यही भएको छ ।

‘गिरिजाबाबुको नाम भजाएर माननीय रवीन्द्रप्रताप शाहज्यूले आइजीपी भएको बेला टन्नै कमाउनुभएको थियो रे भनेर त सुन्या थियौँ, अख्तियारले कसैलाई बाँकी नराख्ने भो’, मैदीको एक चौतारीमा भेला भएका ‘धमला’ थरका एक गाउँले भन्दैथिए, ‘मैदीकै इज्जत फाले इनले गाँठे ।’ हेर्दा भलादमी, सोझाजस्ता देखिने सांसद शाहलाई अख्तियारले पत्र काटेपछि जिल्लावासी सबै छक्क परेका छन् । सांसद हुन्, उनले भित्र–भित्र गरेको साठगाँठबारे पनि धादिङमा चर्चा पहिलादेखि नै थियो ।
शाह हाल भक्तपुरको बालकोट–४ मा बस्छन् ।

उनको जन्म धादिङको मैदी–२ मा भएको हो, १६ असार ०१४ मा । उनका बाबुको नाम लालजंग शाह र आमाको नाम नन्दकुमारी हो ।उनले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक गरेका छन् । ०३९ भदौ २९ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका शाह ०६५ साल असोज २ गतेको मन्त्रिपरिषद् निर्णयबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भए ।

उनले त्यस अवधिमा प्रहरी प्रधान कार्यालय, कार्यविभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए । ०६८ जेठ १८ गते उनी प्रहरी महानिरीक्षकमा नियुक्त भएका हुन् । उनी ०६९ भदौ २८ गतेसम्म प्रहरी महानिरीक्षक रहे ।

प्रहरी महानिरीक्षक पदमा शाहको नियुक्ति आकस्मिक घटना थियो । किनकि, त्यसबेला सरकारले बहालवाला प्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरीलाई पदबाट बर्खास्त गरेको थियो । सुडान घोटाला प्रकरणमा मुख्य अभियुक्तका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेपछि ठकुरीलाई पदबाट बर्खास्त गरिएको थियो । ठकुरीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा थन्क्याइएपछि नै शाहको भाग्य चम्किएको थियो र उनी महानिरीक्षक बनेका थिए ।

विवादास्पद छवि

शाह आइजिपी नियुक्त भएपछि सुडान घोटालामा मुछिएका थुप्रै प्रहरी अधिकारीमाथि सरकारले कारबाही चलायो । रमेशचन्द्र ठकुरीको बर्खास्तीपछि आफू महानिरीक्षक भएका शाहले ‘प्रहरी संगठनको नेतृत्व परिवर्तन गर्नु सरकारको अधिकार हो’ भन्दै भाषण गरेका थिए ।

उनले नेपाल पुलिस क्लबमा आयोजित एक कार्यक्रममा भ्रष्टाचारीमाथि कारबाही गर्नु उचित भएको तर्क दिँदै भनेका थिए, ‘सरकारको कारबाहीप्रति कुनै पनि किसिमका टीका–टिप्प्णी नगर्नुहोला । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको विकास गरी प्रहरी सेवालाई नागरिकसमक्ष पु¥याई उच्च व्यावसायिकता प्रदर्शन गरौँ ।’

सोही सम्बोधनका क्रममा शाहले ‘वर्तमान अवस्थामा पदीय जिम्मेवारीको नकारात्मक प्रयोग बढिरहेको भन्दै त्यसलाई तत्काल परिवर्तन गरी उच्च मनोबल कायम राख्दै अघि बढ्न प्रहरी अधिकारीहरूलाई निर्देशन पनि दिएका थिए ।

‘भ्रष्टाचारमा शून्य सहनशीलता’ को कुरा गर्ने र ‘पदीय जिम्मेवारीको नकारात्मक प्रयोग हटाउने’ भाषण गर्दै आएका तिनै शाहका नाममा अख्तियारले पत्र काटेपछि यतिबेला ‘भ्रष्टाचारमा शून्य सहनशीलता’ भनेको यस्तो पो रहेछ भन्दै प्रहरी संगठनमै चर्चा हुन थालेको छ ।

आइजिपी भएपछि एसएसपी बढुवादेखि अनेक सन्दर्भमा आइजिपी शाहको नाम मुछिएर समाचार आउन थाले । लागुऔषध कारोबारी पासाङ शेर्पासँग ६० हजार रुपैयाँ घुस लिएर हिरासतबाट भगाएका महानगरीय प्रहरी प्रभाग कमलपोखरीका इन्सपेक्टर किरणजंग कुँवरलाई जोगाउन स्वयं तत्कालीन आइजिपी शाह नै लागेको चर्चा त्यसबेला भएको थियो । एसएसपी बढुवामा व्यापक आर्थिक चलखेल भएको भन्दै त्यसमा शाहको नाम मुछिएको थियो ।

त्यसैगरी नेपाल प्रहरीलाई रबरको गोली र टियरग्यासको आपूर्ति गर्ने ठेक्का पाएको उमेश श्रेष्ठ र हरि श्रेष्ठको डाइनेस्टी ट्रेडर्सले ती सामान दुई वर्षसम्म आपूर्र्ति नगर्दा पनि आइजिपी शाहले कुनै कारबाही नचालेकोप्रति त्यसबेलै उनको आलोचना भएको थियो ।

टेन्डर गरेको ६ महिनाभित्र सामान आपूर्र्ति गर्नुपर्नेमा सन् २०१० मा टेन्डर गरेको सामान दुई वर्षसम्म आपूर्र्ति गरिएन । समयमै सामान आपूर्ति नगर्ने कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई जानकारी गराउनुपर्नेमा तात्कालीन आइजिपी शाहले त्यसो नगरी सोही कम्पनीलाई म्याद थप गरेको त्यस क्रममा ठूलै आर्थिक चलखेल भएको आरोप लागेको थियो ।

सांसद हुँदा झनै आलोचित

शाहले कुनै बेला भनेका थिए, ‘राजनीतिमा झुटो बोल्नुपर्छ, तर म झुटो बोल्न सक्दिनँ ।’ तर कालान्तरमा शाह ‘झुटो बोल्ने’ त्यही राजनीतिमा होमिए । उनलाई ‘क्रेनले तानेर सांसद बनाइएको’ आरोप पनि लाग्यो । दोस्रो संविधानसभामा एमाओवादीको समानुपातिक सांसद भएपछि पनि उनी विवादमा आएका थिए । खासगरी धादिङका त्यागी र इमानदार कार्यकर्तालाई माइनस गरेर शाहलाई समानुपातिक सांसद बनाइएकोमा पार्टीकै कार्यकर्ता रुष्ट बनेका थिए ।

एमाओवादी नेता हेमन्तप्रकाश वलीले त ‘पार्टीले हत्यारालाई सांसद बनाएको’सम्म आरोप लगाएका थिए । उनले जनयुद्धमा आफ्नी छोरीको हत्या भएको र तिनै हत्याराहरूलाई आफ्नो स्थानमा समानुपातिक सांसद बनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए । रिपोटर्स क्लबको साक्षात्कार कार्यक्रममा उनले त्यसबेला भनेका थिए, ‘मैले जनमुक्ति सेनाको कमिसार भएर काम गरेँ । तीन वर्ष जेल बसेँ । छोरी गुमाएँ । तर अहिले मेरो ठाउँमा मेरी छोरीको हत्या गर्नेहरू सांसद भए ।’

धादिङबाट समानुपातिक सांसद बन्नयोग्य सच्चा अनुहारलाई पन्छाइएको गुनासो आमकार्यकर्ताको थियो । पार्टी पंक्तिमा समानुपातिकको बन्द सूचीमा परेका जिल्ला सह–इन्चार्ज रामबहादुर भण्डारीसहित केही इमानदार नेता सांसद हुनुपर्ने माग थियो । तर जनयुद्ध लडेर आएका कार्यकर्तालाई पन्छाएर ‘जनयुद्ध दबाउन सक्रिय भूमिका खेलेका’ शाहलाई सांसद बनाइएपछि चर्को विरोध भएको थियो । कहाँसम्म भने शाहलाई सांसद बनाइएको विरोधमा आक्रोशित कार्यकर्ताले धादिङको पार्टी कार्यालयमै आगजनी गरेका थिए । शाहले चाहिँ आफू ठूलो लगानी गरेर सांसद भएको भन्दै कसैले केही गर्न नसक्ने चेतावनी दिएका थिए ।

रवीन्द्रप्रताप शाह : शंका स्पष्ट पार्छौं

संवैधानिक निकाय र अख्तियारप्राप्त अधिकारीले के विषयमा शंका लागेर पत्र काट्नुभयो । उहाँहरूले जुन विषयमा शंका मान्नुभयो र बोलाउनुभयो । उहाँहरूको शंकालाई स्पष्ट गर्ने काम हाम्रो हो । यो खबर रातोपाटीबाट साभार गरिएको हो ।