आश्विन २६ । केपी ओली नेतृत्व सरकारको पहिलो बैठकले कार्यसूची जारी गर्दा तुइन विस्थापन १ नम्बरमा परेको छ । तुइन हटाएर झोलुङ्गे पुल हाल्ने अभियान गोरखा, धादिङ र तनहुँमा सुरु नगरिएका भने होइन । तर, कामको सुस्तताले स्थानीयलाई तुइनबाहेक नदी तर्ने विकल्प नपाएका धेरै ठाउँ छन् ।
गोरखा भुम्लीचोक ८ का २६ वर्षीय सन्तराम चेपाङ भदौ अन्तिम साता धादिङ जोगीमारास्थित तुइनबाट त्रिशूली तर्ने क्रममा लडेर गम्भीर घाइते भए ।
तुइनबाट चिप्लिएर बगरमा पछारिँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । साउन पहिलो साता घ्याल्चोक–८ का धमल गुरुङ तुइनबाटै लडेर अपांग भए । घ्याल्चोक– ९ र धादिङको धूषास्थित चरौंदी बजार जोड्ने तुइनले उनलाई अपांग बनायो । पृथ्वी राजमार्गको मुग्लिनदेखि नौबिसेसम्म गोरखा, चितवन, धादिङ जोड्ने करिब दुई दर्जन तुइन छन् ।
‘यी सबै तुइन जीर्ण छन्,’ जोगीमाराका शिक्षक तिलक चेपाङले भने । धादिङ र गोरखा जिविसले दुई वर्षअघि तुइन विस्थापित गर्ने निर्णय गरेको थियो । ‘दुइटा विस्थापित गर्ने भनेको दुई वर्ष भइसक्यो,’ उनले भने, ‘हामी अझै तुइनमै झुन्डिएर हिँड्न बाध्य छौं ।’
दुई वर्षअघिको जिल्ला परिषद्मा तुइन हटाउने निर्णय भएको गोरखाका स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बताए । दुई वर्ष बित्दा पनि हटेका छैनन् । हटाउने भनेर बर्सेनि जिल्लाको विकास निर्माण कार्ययोजनामा समेटिएको हुन्छ । तुइनमा यात्रा गर्दा ज्यान गुमाउने, अंगभंग हुनेको सूची भने थपिएर लामो बन्दै गएको छ । ‘पहिले पनि तुइन हटाउने घोषणा भएकै हो,’ तिलकले भने, ‘तुइन मर्मत पनि हुन नसक्दा ज्यान गुमाउन र घाइते हुनुपर्ने अवस्था छ ।’
तुइन नभएकै कारण खोला नदी तर्दा ज्यान गुमाउनुपरेको उनले गुनासो गरे । राजमार्ग आसपासका तुइन अधिकांश नदी किनारमा बसोबास गर्ने चेपाङ र माझी समुदायले प्रयोग गर्छन् । ‘आजैबाट तुइन हटाएर पुल बनाउने टेन्डर गरे पनि झोलुङ्गे पुल बनाउन दुई वर्ष लाग्छ,’ उनले भने, ‘त्यति बेलासम्मका लागि मर्मत गर्नुपर्छ ।’
अधिकांश लठ्ठामा काँडा निस्केपछि वारपार गर्न समस्या हुने गरेको छ । लठ्ठा तानेर तुइन तान्दा हात रगतपिच्छे हुने घ्याल्चोकका तीर्थ रेग्मीले बताए । बेनीघाट र सलाङ गाविस जोड्ने तुइनमा खम्बा नहुँदा रूखमा लठ्ठा बाँधिएको छ । एकातिर रूखमा अर्कोतर्फ खम्बामा बाँधेर तुइन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावना बढेको स्थानीय शान्ता सिलवालले बताइन् ।
तुइनको फलाम कोक्रे खियाले खाएपछि काठको बनाएको छ । पहिले रूखमा चढेर कोक्रोमा बस्नु पर्दा बालबालिका, महिला, वृद्धावृद्धा र बिरामीलाई अप्ठ्यारो हुने गरेको छ । ‘मध्यरातमा सुत्केरी बिरामी तार्ने तुइनबाटै हो,’ उनले भनिन्, ‘निकै कष्ट गरेर बाँच्नु परेको छ ।’
तुइन विस्थापित भएनन्
धादिङ– आफू प्रधानमन्त्री भएपछि २०६७ भदौमा त्रिशूलीमा झोलुङ्गे पुल निर्माण गरेर जोखिम तुइनहरू मुक्त गर्ने वाचा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पछि वाचा भुले । बरु उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विद्यार्थीलाई त्रिशूली नदीको जोखिमयुक्त तुइन तर्ने झन्झटबाट मुक्त गर्न जोगिमारा ९ मझिमटारस्थित शंखादेवी उच्च माध्यमिक विद्यालयमा करिब पौने ३ लाख खर्चेर छात्रावास निर्माण गरिदिए ।
हाल विद्यालयमा भुम्लीचोक ८ थुम्का, हिप्लुङलगायत पल्लो गाउँका २६ चेपाङ विद्यार्थीहरू छात्रावासमा बसेर अध्ययन गर्छन् । छात्रावासको छतबाट त्रिशूलीपारिको आफ्नो बस्ती सबैले देख्न पाउँछन् । तर सहजै आफ्नो घरपरिवार भेट्न पाउँदैनन् । जिल्ला विकास समिति गोरखाले डेढ वर्षको समय दिएर झोलुङ्गे पुल निर्माण गर्न टेन्डर प्रकाशित गरेलगत्तै निर्माण जिम्मा लिएका ठेकेदार कम्पनीले भूकम्पकै कारण देखाई कामै सुरु गरेको छैन ।
गोरखाबाट त्रिशूली नदीमा पृथ्वी राजमार्गसम्म तरकारी पुर्याउन, विद्यालय आवतजावत गर्न र अन्य व्यापार गर्न ४ वटा तुइन छन् । सरकारले तुइन भएको स्थानमा पुल बनाउने भन्ने घोषणा गरेको लामो समय बितिसक्दा पनि त्रिशूली नदी तर्नका लागि तुइन भएको स्थानमा भने अझै पुल बन्न सकेको छैन ।
हालसम्म वेनीघाट ९ र सलाङ ४ गजुरी २ र कुम्पुर जोड्ने बिहानी पम्प, घाटबेंसी, पिंडा र कल्लेरी जोड्ने समेत ७ वटा तुइनबाट गोरखा र धादिङका बासिन्दाहरू पुल नभएका कारण नदी तर्नका लागि मानिसहरू अझै जोखिम मोलेरै भए पनि जीर्ण तुइनको प्रयोग गर्न बाध्य बनेका छन् ।
त्रिशूली नदी तर्नका लागि सरकारले विभिन्न स्थानमा ५ वर्षअघिदेखि नै पुल बनाउने घोषण गरेको तर पुल भने अझै नबनेकोमा स्थानीयहरू आक्रोशित समेत बनेका छन् । पुल नभएका कारण दैनिक उपभोग्य वस्तुहरू तार्न र बालबालिकाहरूलाई विद्यालय आवतजावतमा समेत समस्या परेको कुम्पुर, कल्लेरी र सलाङका स्थानीयहरूको भनाइ रहेको छ ।
त्रिशूली नदीमा मानिसहरू आवतजावत गर्नका लागि हाल प्रयोगमा आइरहेका अधिकांश तुइनको कोर्के भाँचिन लागेको लटठा खिइँदै गएको र चुँडिनै थालेको छ, जसका कारण सहजै आवतजावत गर्न समेत नसक्ने भएको कुम्पुरका किसान अक्कलबहादुर श्रेष्ठले बताए । तस्वीर सुदिव कैनी सभार कान्तिपरु