हरिहरसिंह राठौर,
सेर्तुङ (धादिङ) । सेर्तुङका युवा, अधबैंसे सबैलाई एउटै काममा हानथाप छ । यो गाउँमा वितरण हुने ३७ मेट्रिक टन चामल छिमेकी जिल्ला नुवाकोटको भाल्चेको गोदाममा थन्किएको छ । सेर्तुङबाट २ दिनको बाटो चामल बोकेर सेर्तुङ ल्याउनका लागि यो हानाथाप चलेको हो ।
३० केजी चामल बोकेबापत ५ हजार नगद पनि पाईने र सोही चामल राहतका रुपमा पनि पाएर दुवै हातमा लड्डु हुने भएपछि यतिखेर सबैलाई चामल ढुवानी गर्न हतार भएको हो ।
सेर्तुङबासीले भाल्चेबाट चामल आफ्नो गाउँ ढुवानी गरेवापत ४ दिनको अवधिमा ४७ लाख नगद हात पारेका छन् । नातीले चामल ढुवानी गरेको पनि नगद र आफुले चामल पाएपछि गोम्वोकी ९६ वर्षीय वृद्धा फे गेल्मो घले औधी खुशी भएकी छिन् ।
चामल बोक्ने पनि आचारसंहिता बनाईएको छ । सकभर एक घरको एकजनाले बोक्ने, ३० केजीदेखि बढी बोक्न नपाईने १६ वर्ष नपुगेका र ६५ वर्ष उमेर काटेकाले चामल बोक्न नपाईने नियम छन् ।
चामलको भारी एउटै तौलको भएपछि अधबैंसेहरु पनि युवायुवतीसँगै एकै गतिमा हिँड्छन् । चामल बोक्नेहरुको बास बस्ने ठाउँमा खाने राशनपानी घरबाटै ल्याउने गर्छन् । कसैले घरबाटै मह हालेका भुङ्ग्रे रोटी हालेर ल्याउँछन् त कसैले पिठो ल्याएर बास बस्न स्थान रुपचेतमै छोडेका छन् ।
आफैं गएर एक खेप चामल ल्याईसकेका सेर्तुङ–५, गोम्बोका शुकबहादुर घलेले भाई पदमलाई चामल बोक्न आईतबार नै साथीहरुसँग भाल्चे पठाएका छन् । आफू वितरण केन्द्रमा लाईन लागेका छन् । विश्व खाद्यको सहयोगमा नेपाल रेडक्रसले सेर्तुङका ११ सय घरधुरीलाई चामललगायत दाल लिटोसहित करिब ४३ केजी खाद्य सामाग्री सोमबार वितरण गरेको हो ।
छिमेकी जिल्लाले विकट बस्ती भाल्चेमा बाह्रै महिना सञ्चालन हुने ग्रामीण सडक सुचारु गर्दा पनि धादिङ सदरमुकामदेखि तिप्लिङसम्मको सडक निर्माण योजना बीचैमा अलपत्र छ । राजनैतिक खिचातानी र ठेकेदार, उपभोक्ता समूहको लापरबाहीले योजना सुरु भएको १२ वर्षसम्म पनि आधा बाटो सञ्चालनमा आएको छैन । उक्त सडक निर्माण गर्ने उपभोक्ता समूह बनाउँदा सदरमुकाम, पोखरा र काठमाडौं बसेका व्यक्तिहरु अग्रसर हुने गरेका छन् तिप्लिङका बासिन्दाहरुलाई उक्त सडक फेला पार्न पुरै २ दिन हिडनु पर्छ ।
विकट वस्तीमा हेलिकप्टरबाट ढुवानी गर्नुभन्दा पीडित समुदायको श्रम नै उपयोग गरी नगद र खाद्यान्न राहत बाँड्ने योजना बनाईएको हो । साभार कान्तिपूर दैनिक