डा. अरुणा उप्रेती
२० वर्ष भयो, मैले म्यागी वा कुनै पनि चाउचाउ, कुर्मुरे र सोडा भएको चिसो पेय नखाएको । कतिचोटि मैले चाउचाउ नखाने भन्दा साथीहरूले मेरो हसीमजाक गर्दै उडाएका थिए । म घरमा नहँुदा मेरा सानी छोरीहरूले लुकाएर म्यागी र अन्य चाउचाउ किनेर ल्याई पकाएर खान्थे । र, म बाहिरबाट घरभित्र पस्दा त्यसको गन्ध पाउँथें । उनीहरूलाई चाउचाउले खराबी गर्छ भन्दा ‘तपाईं मात्र भन्नुहुन्छ । हाम्रा साथीहरू त खाजा पनि त्यस्तै मीठो मीठो चाउचाउ, कुर्मुरे ल्याउँछन् । तपाईंले हाम्रो खाजाको बट्टामा रोटी, भुटेको भात, आलु, चिउरा राखिदिंदा हामीलाई लाज हुन्छ । खाजा पनि कुनामा गएर खानुपर्छ ।’ छोरीहरूको रोटी, चिउरा र भुटेको भातलाई लाजको वस्तु मान्ने बानी परिवर्तन गर्न धेरै समय र शक्ति खर्च गर्नुपर्यो तर मेरै छिमेकमा र साथीहरूको बानी परिवर्तन गर्न भने सकिनँ । उनीहरू कलेज जाँदा पनि चाउचाउको प्याकेट चपाउँदै हिंडेको देख्छु तैपनि केही भन्नचाहिँ सक्दिनँ ।
माइक्रोबस, ट्याम्पोमा पनि कलेज र स्कुलबाट फर्केका किशोरकिशोरीहरू प्याकेटमा कुरकुरे, चिजबल, चाउचाउजस्ता विभिन्न किसिमका प्याकेट खाना खाएर आनन्द मानिरहेको दृश्य पनि सबैले देखेकै विषय हो । त्यो हेर्दा त्यस्ता गुणस्तरहीन खाना खाने ती किशोरीको स्वास्थ्यमा कति खराबी होला भनेर झसंग हुन्छु । सबभन्दा दु:खलाग्दो कुरा त आमा र बाबाहरूले बालबालिकालाई स्कुल जाँदा फकाउन होस् वा विभिन्न उत्सव र खुसीका क्षणमा रमाइलो गर्दा यस्तै ‘विषले भरिएको अस्वस्थकर खाना’ दिने गर्छन् । पक्कै पनि ‘म्यागी पनि कतिका घरमा कतिले खाए होलान् ?’ यस्तो कमसल खाना खाएपछि स्वास्थ्यमा नराम्रो असर परेर डाक्टरकहाा गई जाँच गराएको पनि होला ।
अहिले भारतको बजारबाट असुरक्षित खाना बनेकै कारण म्यागी हराएको छ । तर, हामी पुन: ‘बजारमा आउँछौं’ भनेका छन् । किनभने, जनतालाई त्यस्तो अखाद्य पदार्थ खुवाउने कम्पनीहरूलाई थाहा छ कि केही समयपछि आमसञ्चार माध्यमले यसको विषयमा लेख्न र बोल्न छाड्ने छन्, जनताले पनि बिर्सने छन् । र, बिस्तारै जिब्रोको स्वादका लागि पुन: म्यागी र अन्य विभिन्न किसिमका चाउचाउ र चिजबल, कुर्मुरेजस्ता अखाद्य खाना खाने छन् । एक हिसाबले भन्ने हो भने जनताले पैसा तिरेर खराब स्वास्थ्य किन्ने कुरामा यस्ता कम्पनीहरू ढुक्क छन् ।
नेपालमा पनि म्यागी बजारबाट हटाइएको छ तर पक्कै पनि त्यो म्यागी भारत फिर्ता जाने छैन । त्यो सबै विभिन्न साना ठूला होटेलमा जाने छ र जब ती होटेलमा ‘खाजा दिनुस्’ भनेपछि यस्तै म्यागीको प्याकेट पकाएर पसलेले दिने छन् । यस्तो खाना खानेहरूमा स्कुलका शिक्षक, विद्यार्थी मात्र पर्ने छैनन् यस्तो खानेकुराको विषयमा लेख्ने/छाप्ने पत्रकारहरू पनि पर्ने छन् । ‘के गर्ने, काममा निस्कँदा बिहान घरमा नखाएर हिंड्नुपर्छ । अनि पसल गएर खान चाउचाउ नै सजिलो हुन्छ । यसले खराब गर्छ भनेर थाहा पाउँदापाउँदै पनि खानुपर्छ,’ धेरैको भनाइ यस्तै हुने गरेको छ । ‘पसलमा उसिनेको आलु, चिउरा, भटमास पनि त हुन्छ नि । त्यो खाए पनि हुन्छ नि ? भन्ने प्रश्नमा धेरैको जबाफ ‘उसिनेको आलु र चिउराले भोक नै मर्दैन’ भन्ने जबाफ पाउने गरेको छु ।
सायद म्यागी बनाउने कम्पनीले यसरी बदमासी गरेको कुरा सञ्चारमाध्यममा आएपछि उपभोक्ताको खाने बानीमा केही परिवर्तन आउला कि ? कतिपय व्यक्तिलाई यस्ता अखाद्य खाना खान हुँदैन भन्ने थाहा छ । तर, भोक लाग्दा नजिकै यही पाइने र सजिलो हुने गरेकाले खाने गरेको उनीहरूको भनाइ छ । आखिर कसैले खान नहुने चिज खाएर आफैं मधुमेह, उच्च रत्तचापसहितको रोग निम्त्याउँछु भन्छ भने कसले नै के गर्न सक्छ र ? एउटा उखान नै छ, ‘भिरबाट खस्ने गोरुलाई रामराम पो भन्न सकिन्छ तर काँध थाप्न सकिन्न ।’ चाउचाउ लगायतका कुरा खान हुँदैन भन्ने थाहा हुँदाहुँदै खानेको सवालमा यो उखान ठ्याक्कै मिल्न जान्छ ।
अहिले भारतीय सञ्चारमाध्यमले म्यागी चाउचाउ खानाले शरीरको रगतमा बोसो बढ्ने, कब्जियत हुने, उच्च रक्तचाप हुने आदि कुरा लेखेका छन् । भारतमा यसका बारेमा प्रत्येक टीभी च्यानलमा बहस पनि भइरहेको छ । तर, केवल म्यागी चाउचाउले मात्र होइन कि विभिन्न किसिमका चाउचाउ र अखाद्य खाना, प्याकेटका खाना, प्याकेटका गुलियो फलफूलको रस सबैले यस्तै समस्या गर्छन् जसका विषयमा चर्चा गर्न आवश्यक छ ।
भारतबाट आउने कुर्मुरे, आलु चिप्स, चिसो पेय आदि पनि त्यस्तै अस्वस्थकर खाना हुन् भनेर आम सञ्चारमाध्यमले भनिसकेको छैन । सायद समय क्रममा यस्ता कुराहरू बाहिर आउलान् । तर अपसोचको कुरा यो छ कि हामी सबै घटनाहरू चाँडै बिर्सन्छौं । बासी मिठाईको प्रसंग होस् वा गुँदपाक प्रकरण दुई/तीन वर्षअघि कति छलफल भएको थियो । मिठाईहरू बासी बेचिएको, चिनीले गर्दा शरीरमा पर्ने नराम्रो असरका बारेमा आमसञ्चारमा आउँदा मानिसहरू सचेत हुन थालेका थिए । तर, जब यो विषय आमसञ्चारमाध्यममा कम हुँदै गयो, उपभोक्ताको मस्तिष्कबाट पनि त्यस्ता स्मृति हराउँदै गए । उही बासी मिठाई वा सडेको र अस्वस्थकर खाना खान थाले ।
यस्तो किसिमका खानेकुराको विज्ञापन प्रसिद्ध कलाकार, खेलाडी आदिले गर्छन् । ती कलाकार र खेलाडीहरू आफ्नो व्यक्तिगत जीवनमा सायद यस्तो अस्वस्थकर खाना र चिसो पेय खाँदैनन् होला । तर, दुनियाँलाई चाहिं खाउँm भन्छन् र यसमा तपार्इं/हामीजस्ता साधारण मानिस फस्छौं । त्यसैले एकछिनको स्वादका लागि आफूले पैसा दिएर बालबालिकालाई खराब स्वास्थ्य दिने काम आमाबुबाले नगरौं । गृहिणीहरूले पनि विचार गर्नुपर्ने विषय के हो भने कतै समय छैन भनेर दुई मिनेट वा पाँच मिनेटमा पकाइने अनेक किसिमका अस्वस्थकर खाना बालबालिकालाई दिन हुँदैन । एकछिन समय बचाउने नाममा स्वास्थ्य नै खतरामा पार्ने काम गर्न हुँदैन । कतै बालबालिकाको हड्डी बिग्रने गरी प्याकेटका खानेकुरा त दिनुभएको छैन ? गर्भवती र सुत्केरी आमाले आफूहरूले यस्तो म्यागी खाएर आफ्नो र आफ्नो शिशुलाई नजन्माउँदै (अ)स्वास्थ्यको उपहार त दिइरहनुभएको त छैन ? यो सोच्नुपर्ने विषय हो ।